तमु समाज युकेद्वारा सुनिल गुरुङलाई ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान

SHARE:

शिवकुमार गुरुङ
लन्डन १२ नोभेम्बर २०२५ । तमु समाज युकेले नेपालका व्यवसायी तथा समाजसेवी सुनिल गुरुङलाई ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरेको छ ।

लन्डनस्थित सडबरी ग्रिनफोर्डमा ११ नोभेम्बरमा संस्थाकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेको सभापतित्वमा आयोजित समारोहमा सुनिललाई सम्मान गरिएको हो । सम्मानपत्रको वाचन संस्थाका पूर्वमहासचिव धरम बल गुरुङले गरे । अध्यक्ष बिन्दुकुमारी घलेले सम्मानपत्र र खादा अर्पण गरिन् भने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले गुरुङ परम्पराअनुसार फेटा लगाएर सम्मान गरे । आमा समूहकी अध्यक्षले पुष्पगुच्छा अर्पण गर्दै शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा संस्थाका निवर्तमान महासचिव धरम बल गुरुङले स्वागत मन्तव्य दिँदै तमु समाज युकेका गतिविधि र उद्देश्यबारे जानकारी गराए । त्यसपछि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले अतिथिप्रति शुभकामना व्यक्त गर्दै समाजको निरन्तर योगदानमा सहकार्यको प्रतिबद्धता जनाए । त्यसपछि समाजका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले व्यवसायी तथा समाजसेवी गुरुङको संक्षिप्त परिचय प्रस्तुत गरे ।

सुनिल गुरुङ गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका–१०, बुद्धचोकका स्थायी निवासी हुन् । उनी स्वर्गीय जमदार बिलबहादुर गुरुङ र श्रीमती हरशुवा गुरुङका कान्छा सुपुत्र हुन् । गुरुङ परिवार इन्धन तथा पेट्रोलियम व्यवसायमा लामो समयदेखि संलग्न रहँदै आएका छन् । स्व. जमदार बिलबहादुर गुरुङले पेट्रोल पम्प सञ्चालनमार्फत गण्डकी क्षेत्रको ऊर्जा आपूर्तिमा उल्लेखनीय योगदान गरेका थिए । त्यसैलाई निरन्तरता दिँदै सुनिलले इन्धन आपूर्ति र वितरण व्यवसायमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनी नेपाल आयल निगमसँग आबद्ध इन्धन आपूर्तिकर्ता तथा ट्यांकर सेवा सञ्चालक हुनुका साथै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

सुनिल खेलकुद तथा सामाजिक सेवामा पनि सक्रिय रहेका छन् । उनी नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य, कास्की जिल्ला बक्सिङ संघ, रामघाट युवा क्लब, एल.जी. एसोसिएसन, सहारा क्लब पोखराका सल्लाहकार तथा फिट नेपाल स्पोर्ट्स प्लेक्सका संस्थापक हुन् । साथै, आहा–रारा गोल्डकपका आर्थिक संकलन समितिका संयोजकका रूपमा पनि उनको उल्लेखनीय योगदान रहँदै आएको छ ।
त्यसैगरी, उनी बुल्समेन क्लबका संरक्षक, गण्डकी प्रदेश खेलकुद परिषद्का सल्लाहकार तथा विभिन्न सामाजिक संस्थाका सल्लाहकारका रूपमा सक्रिय रहेका छन् । साथै, पोखरास्थित धार्मिक बौद्ध गुम्बाहरूमा पनि उनको सक्रिय सहभागिता रहँदै आएको छ ।

उनले स्वर्गीय बुबा जमदार बिलबहादुर गुरुङको परिकल्पनामा स्थापित रामघाटस्थित बौद्ध सदन गुम्बामा र अन्य धार्मिक स्थलहरूमा समेत निरन्तर योगदान दिँदै आएका छन् ।

सम्मान ग्रहण गर्दै सुनिल गुरुङले तमु समाज युकेको आतिथ्य र सम्मानप्रति आभार व्यक्त गरे । उनले भने, ‘मेरो बेलायत भ्रमणको क्रममा यहाँका नेपाली समुदायका विभिन्न संघ–संस्थाहरू तमु धीं युके, रामघाट समाज युके, सहारा क्लब युके तथा अन्य संस्थाहरूले स्वागत र सम्मान कार्यक्रमहरू आयोजना गर्नुभएको थियो । आज पनि तमु समाज युकेका अध्यक्षज्यूको अनुरोधपछि यहाँ उपस्थिति जनाउने अवसर पाएको छु ।’

‘दिनभरको लन्डन भ्रमणपछि साँझ तपाईंहरू (तमु समाज युके) ले गरेको यस हार्दिक स्वागत र सम्मानले म अत्यन्तै भावुक र ऋणी भएको छु,’ उनले भने, ‘यस अवसरमा मैले तमु समाजका गतिविधि र उद्देश्यबारे नजिकबाट जान्ने र बुझ्ने मौका पनि पाएँ, जसले मलाई तमु समाजप्रति अझ गहिरो सम्मान र सकारात्मक धारणा राख्न प्रेरित गरेको छ ।’ उनले तमु समाज युकेले बेलायत, नेपाल तथा अन्य मुलुकहरूमा गरिरहेको सहयोग, समाजसेवा र आगामी पुस्ताका लागि गरिरहेको सकारात्मक कार्यहरूको प्रशंसासमेत गरे ।

‘म तमु समाज युकेले गरिरहेका प्रशंसनीय कार्यप्रति गर्व महसुस गर्दछु र समाजलाई आवश्यक परेको हरेक अवस्थामा — नेपालबाट वा बेलायतबाट — सहयोग गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले उपस्थित अतिथि, पदाधिकारी, सल्लाहकार, आमा समूहका प्रतिनिधि तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गरिन् । त्यसक्रममा अध्यक्ष घलेले भनिन्, ‘हामी सबैका अतिथि, पोखरा–कास्कीका गौरव, व्यवसायी तथा समाजसेवी सुनिल गुरुङज्यूलाई हाम्रो समाजमा स्वागत गर्न पाउँदा अत्यन्त हर्ष र गर्वको अनुभूति भएको छ । उहाँको व्यfवसायिक सफलता, सामाजिक योगदान र विनम्र स्वभावले सबैलाई गहिरो रूपमा प्रेरणा प्रदान गरेको छ ।’

संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, आमा समूहकी अध्यक्ष बिमला गुरुङ, सल्लाहकारहरु बिजु गुरुङ, धरम बल गुरुङ, कार्यसमिति सदस्यहरू, ज्येष्ठ नागरिक तथा समाजका शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!