काठमाडौं १५ डिसेम्बर २०२५ । गैरआवासीय गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डल र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
भेटघाटमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्षद्वय डा. बद्री के.सी. तथा महेश कुमार श्रेष्ठ र सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो । भेटका क्रममा गैरआवासीय नेपाली संघ र नेपाली सेनाबीच विगतमा महाभूकम्प, विभिन्न प्राकृतिक विपद् तथा कोभिड–१९ महामारीका समयमा गरिएको सहकार्यका विषयमा चर्चा भएको थियो ।
प्रधानसेनापति सिग्देलले गैरआवासीय नेपाली संघले नेपालको आर्थिक समृद्धि तथा राष्ट्रिय हितका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनहरूमा पनि संघ र नेपाली सेनाबीच सहकार्य थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।






