विचार : नेपाल–कोरिया सम्बन्ध सुदृढ: राजदूत तुम्बाहाम्फेको एक वर्षको कूटनीतिक यात्रा

SHARE:

काठमाडौँ, २४ पुस (रासस): नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो । कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । कोरिया र नेपालको सम्बन्ध गहिरो रहेको छ । कोरियाको लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध रहेको मात्र होइन, दुई देशबीच सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य मान्यताहरुमा केही समानता पनि देखिन्छ । नेपालको प्रतिनिधित्व गर्दै डा शिवमाया तुम्बाहाम्फेले राजदूतको औपचारिक जिम्मेवारी लिएर काम सम्हाल्नु भएको एक वर्ष (७ जनवरी २०२५ देखि ७ जनवरी २०२६) मा पूरा भएको छ । यस अवधिमा भएका केही उल्लेखनीय कार्यहरुलाई तल बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

विभिन्न मुलुकका राजदूतसँगको औपचारिक भेटघाट
कोरियामा रहेका कूटनीतिक नियोगहरुको प्रमुख मोरेक्कोका कोरियाको लागि नेपाली राजदूतसँग शिष्टाचार भेट गरिएको थियो । सो भेटको क्रममा व्यक्तिगत अनुभव, भविष्यमा हुनसक्ने सहकार्य र राम्रो अभ्यासहरुको बारेमा छलफल भएको थियो । कोरियाको लागि भारत, चीन, बङ्गलादेश, जापान, किग्रिज, म्यानमारका राजदूतहरुसँग शिष्टाचार भेट गरी दुई देशको अन्तरसम्बन्धको बारेमा छलफल भएको थियो । त्यस्तै कोरियाको लागि चिनियाँ राजदूतसँग शिष्टाचार भेट गरिएको थियो । ती देशहरुसँग नेपालको लामो समयदेखि राजनीति, सामाजिक, सांस्कृतिक साथै अन्य विभिन्न विषयमा रहँदै आएको अन्तर सम्बन्धको बारेमा छलफल भएको थियो । यसबीचमा गणतन्त्र कोरियाका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग पनि भेटघाट गरिएको र समसामयिक विषयमा छलफल भएको थियो ।

कोरियाको नेशनल एसेम्ब्लीको कोरिया–नेपाल मैत्री समूहका सभापति तथा सदस्यहरुसँग पनि भेटवार्ता गरी दुई देशको मैत्री समूहको बीचमा समन्वय गर्ने काम भएको छ । नेपाल र कोरियाको संसदीय मैत्री समूहबीचमा अनुभव आदानप्रदान कार्यक्रम गर्ने सन्दर्भमा कोरिया–नेपाल मैत्री समूहको नेपालमा भ्रमण हुने कार्ययोजना रहेको छ । यो बैठकमा नेपालमा कोरियाको प्रविधि र विकासको मोडललाई नेपालमा सम्भव भएसम्म कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

नेपाली प्राध्यापक तथा विद्यार्थीसँगको छलफल
लामो समयदेखि कोरियामा अध्यापन गर्दै आउनुभएका नेपाली प्राध्यापकहरुसँग कोरियाको शिक्षण पद्दति, नेपाल र कारियाको शिक्षा क्षेत्रमा रहेका भिन्नता, नेपाली विद्यार्थीहरुको समस्या र अवस्था, प्रभावकारी शिक्षाका लागि कोरियाले अपनाएका विधिहरु, नेपालले अनुसरण गर्नसक्ने र नेपालका लागि आवश्यक सवालमा छलफल गरिएको थियो । उक्त बैठकमा १५ प्राध्यपकहरुको सहभागिता रहेको थियो । छलफलमा प्राध्यापकहरुले नेपालको शिक्षा प्रणालीको स्तरोन्नतिमा सरकारले पहल गर्नुपर्ने, कोरियाको विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीका लागि थप छात्रवृत्ति र अध्ययनपश्चात् रोगजारीको अवसरका लागि ध्यान दिन विश्वविद्यालयहरुसँग समन्वय गर्ने, अध्ययनपछि नेपाल फकिर्ने विद्यार्थीका लागि सरकारले रोजगारी तथा अन्य आवश्यक व्यवस्था गर्ने, गुणस्तरीय कोरियन विश्वविद्यालयको सूचीकरण गरीएको बारेमा नेपाली विद्यार्थीहरु तथा अभिभावकहरु माझ जानकारी प्रवाह गर्नेलगायतका विषयमा जोड दिइएको थियो ।

कोरियाको विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दूतावासमा निमन्त्रणा गरी विद्यार्थीहरुको अवस्थामा छलफल गरिएको थियो । छलफलमा विद्यार्थीहरुले विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए । विद्यार्थीहरुले भिसा प्राप्त गर्न सहज बनाउनको लागि राजदूतावासले समन्वय गरी कोरियाको परराष्ट्र मन्त्रालय र राजदूतावासबीच दुईपक्षीय बैठक सम्पन्न गरिएको थियो । तत्पश्चात् नेपालमा भिसा सहजीकरण केन्द्रको स्थापना भएको छ ।नेपालबाट कोरियामा अध्ययनको लागि आउने विद्यार्थीको संख्यामा वृद्धि भइरहेको छ । ३० नोभेम्बर २०२५ सम्म कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या १५ हजार ५९९ रहेको छ । विद्यार्थीको हित प्रवर्द्धनको लागि विभिन्न समयमा नेपाली विद्यार्थीहरु अध्ययनरत विश्वविद्यालयमा भ्रमण गरी त्यहाँको वस्तुस्थिति बुझ्ने काम भएको छ । त्यस क्रममा विश्वविद्यालयका अध्यक्ष, डिन, विभागीय प्रमुखहरु, प्राध्यापक, विद्यार्थीका प्रतिनिधिहरुसँग विद्यार्थीका समस्याहरु, विश्वविद्यालयद्वारा विद्यार्थीलाई दिइएका सेवा सुविधा, होस्टलको सुविधा, ट्यूसन फि, विद्यार्थी ल्याउने प्रक्रिया र माध्यमका बारेमा छलफल भएको थियो । नेपाली राजदूवासबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विद्यार्थीको समस्याको विषयमा गरिएको पत्राचारको आधारमा मन्त्रालयले एक समिति गठन गरी प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ ।

विप्रेषण तथा बैंकका प्रतिनिधिसँगको बैठक
विप्रेषण तथा बैंकका प्रतिनिधिहरुसँग नेपाली राजदूतावासमा विभिन्न १४ वटा रेमिटेन्स कम्पनीहरुसँग बैठक सम्पन्न गरिएको थियो । नेपालमा वैधानिक रुपमा विप्रेषण पठाउनको लागि संस्थाहरुले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै अझ प्रभावकारी रुपले काम गर्नको लागि प्रोत्साहित गरिएको थियो । राजदूतावासद्वारा सञ्चालित विभिन्न स्थानमा गरिएको धुम्तिसेवामा समेत रेमिटेन्स कम्पनीहरुको उपस्थिति हुने गरेको छ ।

एनआरएनएसँग छलफल
कोरियामा रहेका गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए) सँग नेपाली राजदूतावासमा भएको बैठकमा एनआरएनएको भूमिका नेपालको विकासको लागि अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । एनआरएनएबाट कोरियामा रहेका नेपाली कामदार र विद्यार्थीहरु समस्या परेको अवस्थामा सहयोग गर्दै आएकामा अझ बढी काम गर्ने तथा लगानी प्रवर्द्धनका क्षेत्रमा काम गर्नुपर्ने विषयमा दूतावासको तर्फबाट जोड दिइएको थियो ।

कोरियाली तथा बहुराष्ट्रिय कम्पनीहरु, सरकारी संस्थाहरुसँग बैठक
नेपालमा लगानी गर्ने इच्छुक कोरियाली कम्पनीहरु, कोरियाका सरकारी सङ्घसंस्थाका प्रतिनिधिहरु तथा अन्य बहुराष्ट्रिय कम्पनीहरुसँग नेपालमा लगानी प्रवर्द्धन गर्नको लागि विभिन्न समयमा बैठकहरु सम्पन्न गरिएका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!