लन्डन । लन्डनस्थित नेपाली दूतावासले अल्डरसट र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै आगामी सन् २०२६ जनवरी १७, शनिबार विशेष कन्सुलर सेवा प्रदान गर्ने ग्रेटर रसमर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ मावोले जानकारी दिएका छन् ।
अल्डरसटस्थित शिव कल्चर एण्ड कम्युनिटी सेन्टरमा आयोजना हुने उक्त घुम्ती सेवा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने दूतावासले जनाएको छ।
सिनियर सिटिजनलाई राहत
ग्रेटर रस्मुर क्षेत्रका नेपाली समुदाय, विशेषगरी आउन-जान कठिनाइ हुने सिनियर सिटिजनहरूलाई ध्यानमा राखेर यो सेवा सञ्चालन गर्न लागिएको हो। ग्रेटर रस्मर नेपाली कम्युनिटीका ट्रष्टी तथा पुर्व अध्यक्ष ओम थापा काउचा थापाका अनुसार, स्थानीय नेपालीहरूलाई सहज रूपमा दूतावासको सेवा उपलब्ध गराउन संस्थाले स्थान उपलब्ध गराई सहयोग गरेको हो।
सेवा लिन पूर्व-सर्तहरू
दूतावासका अनुसार कन्सुलर सेवा लिन चाहने सेवाग्राहीहरूका लागि निम्न कुराहरू अनिवार्य गरिएको छ:
अनलाइन आवेदन: कार्यक्रम स्थलमा जानुअघि नै सेवाग्राहीले सम्बन्धित सेवाका लागि अनलाइन फारम अनिवार्य रूपमा भरिसकेको हुनुपर्नेछ।
प्रमाणपत्र: आवश्यक कागजातहरू साथमा लिएर उपस्थित हुनुपर्नेछ।
फारम भर्न सहयोग उपलब्ध
अनलाइन फारम भर्न समस्या भएका व्यक्तिहरूका लागि ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेले सहजीकरण गरिरहेको छ। संस्थाका महासचिव सुनिल रानाले फारम भर्न गाह्रो हुनेहरूलाई संस्थाले अहिले पनि सहयोग गरिरहेको र सेवा प्रदान गरिने दिन (जनवरी १७) मा समेत विशेष प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिएका छन्।
यो सेवाबाट लन्डन धाउनुपर्ने बाध्यता हट्ने र स्थानीय नेपालीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।






