नुवाकोट २१ फेब्रुअरी २०२६ । नेपाली कांग्रेसबाट नुवाकोट-१ का उम्मेदवार प्रकाशशरण महतले कतिपय गाउँका मतदाताले ‘चिनजान नै छैन’ भन्ने गरेको गुनासो गरेका छन् ।
नेपाल तरुण दलको क्षेत्रीय भेलालाई शनिबार पञ्चकन्या गाउँपालिकाको पुरानीडाँडामा सम्बोधन गर्दै महतले नेता, कार्यकर्तामाझ उक्त गुनासो पोखेका हुन् । महत यही फागुन २१ मा नुवाकोटबाट पहिलोपटक चुनाव लड्नका लागि प्रचारप्रचारमा रहेका छन् ।
‘कतिपय गाउँघरमा म जाँदा खोइ ! चिनजान नै भएन भन्नुहुन्छ,’ पूर्वअर्थमन्त्री महतले सुनाए, ‘मैले यहाँ प्रत्यक्ष निर्वाचनमा भाग लिने मौकै पाको थिएन । तै पनि मेरो ठाउँ हो । काठमाडौं नजिक भएर पनि धेरै गर्न बाँकी छ यो ठाउँमा । मैले गर्नुपर्छ भनेर गरेको हुँ । काम गर्ने मान्छे काममा लाग्नुपर्छ । जो काम गरिरहन्छ, कहिलेकाहीं भेटघाट कम हुन्छ । काम पनि गर्दैन, भेटिमात्रै रहन्छ । के काम ? तपाईंको बीचमा बसिरहन्छ । आइरहन्छ । खाइदिन्छ पनि । तर कामचाहिँ सिन्को भाँच्दैन भने काम लाग्यो ? त्यसैले काम गर्ने मान्छे काममा तल्लिन हुनुपर्यो । कसरी बढी काम गर्न सकिन्छ । कसरी बढी बजेट ल्याउन सकिन्छ भन्ने कुरामा म लागेँ । त्यसकारणले गहिराहइमा अन्तरक्रिया हुन पाको छैन । भेटघाट भा छैन । तर भेट्दै नभेटेको होइन ।’
महत यसपटक दाइ रामशरण महतलाई दुईपटक पराजित गरेका नेकपाका प्रभावशाली नेता हितबहादुर तामाङसँग प्रतिस्पर्धामा छन् । त्यस क्षेत्रमा एमाले, रास्वपा, उज्यालो नेपाल, राप्रपलगायत पार्टीका उम्मेदवार पनि छन् ।
महतले रास्वपा उम्मेदवारप्रति इंगित गर्दै ‘लाहुरे’ को संज्ञा दिए । ‘नयाँ सामान किन्नुभयो झिलिकमिलिक गर्ने, एक हप्ता पनि टिक्दैन । त्यस्तो नयाँ काम लाग्छ ? त्यसकारण समयअनुसार हामी आफूलाई परिवर्तन पनि गर्दै जान्छौं । सर्पले काँचुली फेरेजस्तो । तर हामी टिकाउ पार्टी हो । किनकि हामी हुरीबतास, अप्ठ्यारो-सप्ठ्यारा अनेकौं कालखण्डमा पनि टिकेर जनताको बीचमा खोज्दा हामीलाई फेला पर्छ,’ उनले भने, ‘नयाँ भनेका को आउँछ, कुन बेला को आउँछ, को जान्छ थाहा हुँदैन । कसलाई समाउनुहुन्छ काम पर्यो भने ? विकासको काम कुनै अप्ठ्यारो पर्छ । कसलाई खोज्न जानुहुन्छ ? पाउनुहुन्न । लाहुरेजस्तो ? एकछिन आउँछ, जान्छ ।’


