- सञ्जय सिंजाली मगर
बर्दघाट, नवलपरासी २८ फेब्रुअरी २०२६ । नेपाल मगर संघ बर्दघाट नगर कार्यसमितिको आयोजनामा ४४औँ मगर स्थापना दिवस–२०८२ विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा मगर समुदायको एकता, पहिचान र सांस्कृतिक गौरवलाई उजागर गरिएको आयोजकले जनाएको छ। संघका नगर अध्यक्ष भरत काम्मुले मगर स्थापना दिवस हरेक वर्षझैँ यस वर्ष पनि विशेष ढंगले मनाइएको जानकारी दिए । उनका अनुसार कार्यक्रममा मगरी परिकारको प्रदर्शनी, मगर संस्कृति झल्काउने सालैजो तथा कौरा नृत्य, मगर कविता वाचन तथा राष्ट्रियस्तरका चर्चित गायक–गायिकाहरूको प्रस्तुति समावेश गरिएको थियो ।
कार्यक्रममा तुलाराम घर्ती मगर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यसैगरी, शम्भूलाल श्रेष्ठ र धनी आले मगर विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।
झाँकी–र्यालीसहित नगर परिक्रमा, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई आकर्षक बनाएको थियो। बर्दघाट नगर क्षेत्रभित्रका मगर तथा गैर–मगर समुदायको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजक समितिले जनाएको छ।
संघले आगामी दिनमा पनि समुदायको हकअधिकार, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




