घलेभन्ज्याङ (नुवाकोट) । नुवाकोट निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका पूर्वमन्त्री हितबहादुर तामाङले आफू टुरिस्ट उम्मेदवार नभएकोले सधैं जनताको साथमा रहने प्रतिबद्धता जनाएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारका क्रममा जिल्लाको पञ्चकन्या गाउँपालिकामा आइतबार घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्लामा पहिलोपटक चुनाव लड्न आएका कांग्रेस उम्मेदवार, अष्ट्रेलियाबाट फर्किका रास्वपा उम्मेदवार लक्षित धारणा राखेका हुन् ।
‘अरु उम्मेदवारजस्तो टुरिस्ट उम्मेदवार होइन । म हरेक बखत चाहे त्यो रातमा होस् । चाहे दिनमा होस् । चाहे सुखको काममा होस् । चाहे दु:खको काममा होस् । जनताको साथमा रहने उम्मेदवार हुँ,’ उनले भने ।
मतदाता र नागरिकको सहज पहुँचमा रहने पूर्वमन्त्री तामाङले विकासका लागि पनि सबै गाउँ र क्षेत्रलाई समान रुपमा हेर्दै आएको उल्लेख गरे । ‘म तीनचोटी सांसद बनेँ । दुई चोटी मन्त्री बनेँ । तर सांसद भएको बेला मलाई सांसद बनेको जस्तो घमण्ड हुँदैन । मैले जहिल्यै पनि जुनसुकै जाति, समुदायको । जुनसुकै क्षेत्रलाई पनि समान रुपमा देख्ने गरेको छु । त्यसो हुनाले आफ्नो विवेक प्रयोग गर्न र मतको सदुपयोग गर्नु होस् भन्नुहोस्,’ उनको आग्रह थियो ।
थपे, ‘म विकास निर्माणमा आफ्नो पार्टी र अरुको पार्टीको भनेर पक्षपात गर्ने मान्छे होइन । यो मेरो गाउँ र अरुको गाउँ भनेर विभेद गर्ने मान्छे होइन । यदि जायज छ भने विपक्षीले ल्याएको प्रस्तावलाई पनि सहर्ष स्वीकार गर्न सक्ने । विपक्षीको घर आँगनको समस्याको समाधान गर्नुपर्छ भन्ने विशाल छाती भएको मान्छे हुँ,’ उनले भने, ‘बाटो, मन्दिर, खानेपानीको समस्यालाई स्थानीय, प्रदेश र संघीय तवरबाट समन्वय गर्नेछौं । यो बोल्ने कुरा होइन, गर्ने कुरा हो ।’
उनले राजनीतिलाई पेसा बनाउने र सेवा ठान्ने उम्मेदवारलाई छानेर मत दिन पनि आग्रह गरे । ‘जनताको सेवा गर्ने, राजनीति जनताको सेवाका रुपमा अवलम्बन गर्ने उम्मेदवारलाई छान्ने हो कि राजनीतिलाई सम्पत्ति कमाउने भाँडो बनाउने उम्मेदवारलाई मत दिने ? यो विषयमा जनताले विवेक लगाउनुपर्ने, ख्याल गर्नु पर्ने टड्कारो आवश्यकता छ,’ उनको भनाइ थियो ।
फागुन २१ को निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आग्रह गर्दै कसैको डर र लोभमा नपर्न आग्रह गर्दै उनले परेको बेला मतदाता र जनताको साथमा रहने बताए ।


