३५० दिनभित्र प्रतिबद्धता पूरा गर्न नसके सांसद पदबाट राजीनामा दिन्छु : अध्यक्ष सुर्यवंशी

SHARE:

बुटवल १ मार्च २०२६ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा रूपन्देही क्षेत्र नं. २ का उम्मेदवार केशवबहादुर थापा सुर्यवंशीले देशलाई बेरोजगारीतर्फ धकेल्ने नेतृत्वसँग अब जनताले हिसाबकिताब माग्ने समय आएको बताएका छन् ।

आइतबार बुटवलको ट्राफिक चोकमा आयोजित चुनावी नागरिक सम्बोधन सभामा बोल्दै उनले विगतका सरकारहरूले उद्योग कलकारखाना बन्द गराएर युवाहरूलाई वैदेशिक रोजगारीका लागि खाडी मुलुकतर्फ धकेलेको बताए । बुटवलको धागो कारखाना, विराटनगर जुट मिल तथा हेटौंडा कागज कारखानाजस्ता उद्योग बन्द हुँदा लाखौं युवा विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले ती दलका नेताहरू पुनः मत माग्न आउँदा जनताले जवाफदेहिता खोज्नुपर्ने धारणा राखे ।

अध्यक्ष सुर्यवंशीले प्राकृतिक स्रोत साधन र सांस्कृतिक विविधताले सम्पन्न देश व्यवस्थापनको कमजोरीका कारण पछि परेको बताए । ‘देशलाई सुरुङ युग होइन, केवलकारको युगतर्फ लैजानुपर्छ,’ उनले भने ।

दक्षिण पूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण १५ लाखभन्दा बढी नेपालीहरूको भविष्य संकटमा परेको दाबी गर्दै उनले द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरे । उनले आफू निर्वाचित भएमा ३५० दिनभित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक कम्तीमा तीनवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । उक्त प्रतिबद्धता पूरा गर्न नसके सांसद पदबाट राजीनामा दिने घोषणा पनि गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा रूपन्देही क्षेत्र नं. ३ का उम्मेदवार मोजिव अलीले संघीयता र समावेशीताको मुद्दा उठाउने पहिलो दल आफ्नो पार्टी रहेको दाबी गर्दै योजना बनाउने र कार्यान्वयन गर्ने शक्ति फरक फरक दलमा हुँदा विकासले गति लिन नसकेको टिप्पणी गरे ।

जिल्ला अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष तथा क्षेत्र नं. १ का उम्मेदवार झमबहादुर गुरुङ, क्षेत्र नं. ५ का उम्मेदवार चन्दा थापा, जिल्ला उपाध्यक्ष थर्कबहादुर बारघरे मगर तथा महिला नेतृ राधिका श्रीसलगायतले वर्तमान निर्वाचन केवल सरकार गठनको विषय मात्र नभई राष्ट्रियता, स्वाधीनता र नागरिक स्वतन्त्रताको प्रश्नसँग जोडिएको बताएका थिए ।

सभामा सहभागी नेताहरूले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै राष्ट्रिय हित र जनअधिकारको संरक्षणका लागि आफ्नो पार्टीलाई समर्थन गर्न अपिल गरेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!