भर्खरै मिसेस नेपाल युनिभर्स–२०१८ को उपाधि जितिन्, मनिषा डंगोल श्रेष्ठले । लन्डन फेसन हाउसको संस्थापकसमेत रहेकी श्रेष्ठ पेसाले फेसन डिजाइनर हुन् । केही वर्षदेखि क्रियाशील लन्डन फेसन हाउस नेपालमा पनि विस्तार गरिएको छ । मनिषाको टिमले संसारभरिका महिलाहरुलाई एकतामा बाध्ने उद्देश्यका साथ लन्डन फेसन हाउसको मातहतमै ‘टुडेज वेमन’ नामक त्रैमासिक पत्रिका प्रकाशन गर्दै आएको छ । मनिषा ब्यूटीसियन र फेसन डिजाइनमात्रै नभएर सामाजिक संघसंस्थामा पनि आबद्ध छिन् । उनी एनआरएनए युकेको सल्लाहकार छिन् भने पहिलो युवा संयोजक बनेकी थिइन् । प्रस्तुत छ, सामाजिक अगुवा एवं मिसेस नेपाल युनिभर्स–२०१८ को उपाधि विजेतासँग एभरेस्ट टाइम्सका लागि घान्द्रुके कान्छाले गरेको कुराकानी ।
युकेमा बसेर मिसेस नेपाल युनिभर्स–२०१८ जित्न कसरी सम्भव भयो ?
केही कारण विदेशिए पनि हाम्रो मन जहिल्यै नेपालमै छ । म यहाँ हुर्के पनि नेपाली नै हुँ भनेर चिनाउन चाहन्छु । जतासुकै बसेपनि हामी नेपाली हौं । नेपालको प्रतिनिधित्व गर्न पाउँदा धेरै खुसी लागेको छ ।
मिसेस नेपाल युनिभर्सबारे बताइदिनोस् न ?
यो प्रतियोगिता इ प्लानेट प्रालिले गरेको हो । यो नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । मिसेस नेपाल युनिभर्स २०१८ गत जुन पहिलो हप्ता भएको थियो ।
तपाई फिलिपिन्स जाँदै हुनुहन्छ रे, यसै प्लेटफर्मबाट हो कि ?
सन् २०१८ मिसेस नेपाल युनिभर्सको उपाधि जितेपछि मेरो दायित्व हो, त्यसैले नेपालको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्सका लागि फिलिपिन्स जाँदैछु । फिलिपिन्सको राजधानी मनिलामा डिसेम्बर पहिलो हप्ता ४ देखि ११ तारिखसम्म मिसेस युनिभर्स २०१८ हुनेछ । त्यसमा विभिन्न ९० वटा देशकाले सहभागिता जनाउनेछन् ।
सहभागिताका लागिमात्रै ?
त्यो अन्तर्राष्ट्रिय इभेन्ट हो । सबै देशबाट विजेताहरु गएर मनिलामा मिसेस युनिभर्सका लागि कम्पिटीसन गर्ने हो ।
तपाई यसअघि मिस पनि हुनुभएको थियो ?
म १९९७ मा मिस अस्कल पनि थिएँ ।
लामो समयको अन्तरालपछि फेरि ब्यूटी पेजेन्टमा भाग लिने इच्छा कसरी जाग्यो त ?
महिलाहरुका लागि केही गरौं भन्ने इच्छा ममा पहिलेदेखि नै थियो । यो पेजेन्ट बाहिरी सुन्दरता मात्र नभएर आन्तरिक कन्फिडेन्ट डेभलप गर्नका लागि हो । जसका लागि यो प्लेटफर्म धेरै राम्रो छ । भन्ने हो भने, सुन्दर कसलाई देख्न मन पर्दैन र ! बच्चादेखि जुनसुकै उमेरका लागि पनि प्रिजेन्टेबल देख्न त मन लाग्छ । यस्तो प्लेटफर्मले बाहिरको गु्रुमिङमात्रै होइन कि भित्रको कन्फिडेन्ट पनि अवश्य बढाउँछ । डिफरेन्ट नेटवर्किङहरुलाई कनेक्ट गर्ने भएकोले यो राम्रो प्लेटफर्म हो ।
तपाईले भर्खरै मिसेस नेपाल युकेको दोस्रो संस्करण सकाउनुभयो । लन्डन फेसन हाउसले मिसेस नेपाल युके आयोजना गर्नुको खास कारणचाहिँ ?
२१ औं शताब्दीमै भए पनि महिलाहरुलाई धेरै प्लेटफर्मको जरुरी छ । धेरै सपोर्टको जरुरी छ । बच्चादेखि नै हामीलाई लाग्यो, कोही पुरुषभन्दा कम छैनौं । तर, पनि विवाह भइसकेपछि हाम्रा कति कुराहरु चेन्ज हुन्छ । बच्चा भइसकेपछि झनै चेन्ज । भनेपछि क्यापासिटी हुँदाहुँदै पनि, कति कुराहरु अथवा आफ्ना ड्रिम्सहरु छायाँमा पार्दैै लाने अवस्था आउँदोरहेछ । त्यसमा कसैले घचघच्यायो भने सेलाउन दिइँदैन भनेर नै यो प्लेटफर्म सुरु गरेकी हुँ ।
बेलायतमा त यस्तो प्लेटफर्म आवश्यक छैन भनिन्छ नि ?
म पनि बेलायतमै भएकोले त्यस्ता कुराहरु आएको थियो । कति कुराहरु चुनौतीपूर्ण छ । नेपालमा कति सहयोगी हातहरु हुन्थ्यो । श्रीमान् पनि फुलटाइम काम गर्ने, आफू पनि फुलटाइम काम गर्ने, सँगसँगै हाम्रो सोसल कमिन्टमेन्ट, आफ्ना बच्चाहरुको कमिटमेन्ट, पूरा परिवारको कमिटमेन्ट पूरा गर्नुपर्ने भएकोले धेरै च्यालेन्जिङ नै छ । २४ सैं घण्टा हामी दौडिरहेकै हुन्छौं । त्यही भएर नै यसबाट महिलालाई अलि बढी प्रभाव पर्नेरहेछ । आफ्नो क्षमता र इच्छा हुँदाहुँदै पनि विस्तारविस्तार गर्दै जाने । कसै कसैले त निरन्तर नै गर्नुहुन्छ तर धेरैलाई गाह्रो नै हुने गर्छ । म भन्छु, सबै महिलाहरुको लागि धेरै राम्रो अवसर हो यो ।
मिसेस नेपाल युकेमा सहभागिता कस्तो पाउनुभयो ?
पहिलो कार्यक्रम धेरै च्यालेन्जिङ थियो । किनभने बच्चाहरुलाई सिकाउन जति सजिलो हुन्थ्यो, विवाह गरेकालाई सजिलो रहेन । उहाँहरुका धेरै कमिटमेन्ट हुन्थ्यो । चाहेर पनि कत्ति कुरा गर्न नपाउने र गर्न नमिल्ने अवस्था । त्यसमा इच्छा भएका लेडिजहरु धेरै आउनुभयो । फरक फरक क्षेत्रबाट १७ जना आउनुभयो । एकदमै जोसिलो हुनुहुन्थ्यो । गत वर्ष उहाँहरुलाई हामीले कम समय दिन पायौ । यदि धेरै तयारी गरेको भए उहाँहरुले कमिट गर्न सक्नुहुन्नथ्यो होला । त्यही भएर रिल्याक्स टाइपले गर्यौं ।
तालीममा कडाइ गरेको भए उहाँहरु त्यत्ति धेरै सहभागिता जनाउनु हुन्नथ्यो । म आफैं पनि कम्युनिटीमा धेरै सक्रिय हुने भएर धेरै रिसर्च गरेको थिएँ, महिलाहरु आआफ्नो ठाउँमा केही न केही गरिरहेका । सबैलाई एक ठाउँमा बटुलेर केही गरौं भन्ने इच्छा उहाँहरु देखेरै जाग्यो । कति धेरै ट्यालेन्टेड तर उहाँहरु नर्मल लाइफ जिइराख्नुभएको थियो । बच्चा हेर्ने, घरमा, पार्टटाइम काम गर्नाले उहाँहरुले आन्तरिक चाहना भुल्दै जानुभएको थियो । त्यही भएर गत वर्ष हल्काबाट सुरु गरियो । प्रतिस्पर्धीहरु पनि एकदमै राम्रो हुनुहुन्थ्यो । तर, पनि धेरै चुनौती थियो । उहाँहरुको लागि पनि पहिलो पटकको अनुभव थियो भने मेरो लागि पनि पहिलो, विवाहित महिलाका लागि । यहाँका बच्चाहरुको रुटिनवाइज हुन्छ । त्यो सबै हेर्दा अलि असहज भएको थियो । तर पनि कार्यक्रम सफल पारेँ । यो वर्षचाहिँ एकदमै सफल भयो, प्रतिक्रिया राम्रो आयो ।
यो प्लेटफर्म सुरु गर्नै पर्नाका कारण ?
एकदम क्षमतावान् भए पनि उहाँहरुको रुटिन लाइफ घर, बच्चा, पार्टटाइम काम । यताउता गर्दा आफ्नो क्षमता प्रदर्शन नभएको देखेँ मैले । महत्वपूर्ण समयलाई उहाँहरुले राम्रो बाटोमा सुदपयोग गर्न सक्थ्यो होला यदि प्लेटफर्म पायो भने । लुकेर रहेको प्रतिभा देखाउन पाउँथ्यो होला भन्ने मलाई फिल भयो ।
अर्को मुख्य कारण, बेलायतमा चाहिँ बच्चाहरुलाई केही गर्दा समय, आफ्नो स्कील, नलेज, सकारात्मक विषय टान्र्सफर गर्नका लागि पहिले आमाबाट नै सुरु हुँदोरहेछ । मैले पनि एकदमै अनुभव गरेको । स्कुलमा पनि मेरो छोरीको धेरै कुरो हुँदोरहेछ सेयर गर्नका लागि । मेरो ममीले यो गर्नुभयो, त्यो गर्नुभयो । जबकि अरु साथीहरुको धेरै हुँदैनथ्यो । त्यो कन्फिडेन्ट मैले छोरीमा देखेँ । मेरो गतिविधिबाट उनी (छोरी) प्रेरित हुँदारहेछिन् । उनी अहिले नै चुनावको कुरा गर्छे । स्कुल काउन्सिलमा जित्छिन् । डेपुटी हेड हुन खोज्छिन् । त्यसैले आमाहरुलाई विकास गराउने, सक्रिय गराउने हो भने बच्चाहरु इन्करेज हुनेरहेछ ।
बुवाले जति धेरै टाइम दिनुभए पनि ममीको जस्तो हुँदोरहेनछ । म नेपाली कक्षाहरु गर्छु । नेपाली बोल्छु । कत्ति गतिविधिहरुमा म बच्चाहरुलाई लान्छु । कतिपय कुरा मैले सिकाउनै नपरे पनि मेरो याक्टिभिटीजले उनीहरु इन्स्पायर र कन्फिडेन्ट हुँदोरहेछ ।
यो प्रतिस्पर्धामा भाग लिइसकेपछि महिलाहरुमा कत्तिको चेन्जेज देख्नुभयो त ?
चेन्जेज त तपाइले पनि देखिरहनुभएको होला । हारेको प्रतिस्पर्धी होस् वा जितेकोहरुमा हेर्दा बाहिरी र भित्री सुन्दरतासँगै कन्फिडेन्ट एकदमै इम्प्रुभ भएको देखेँ । झन् जित्नेको वरिपरि बसेर काम गर्नेरुहको त एकदमै धेरै । उनीहरुको लोकप्रियता नै मेरो हो भन्ठान्छु ।
बेलायतमा थुप्रै संघसंस्थाहरुले कार्यक्रम गर्दा निकै खर्च लाग्छ । तपाईले यत्ति ठूलो कार्यक्रम कसरी म्यानेज गरिरहनुभएको छ ?
भनिन्छ, ‘तपाई आफूलाई विश्वास गर्नुहुन्छ । बाटोहरु आफैं खुल्दोरहेछ ।’ पहिलो वर्ष मैले एकदमै गाह्रोसँग सुरु गरेँ । रिजल्ट धेरै राम्रो । मेरा सबै प्रतिस्पर्धी र विजेताहरु आआफ्नो ठाउँमा एकदमै राम्रो हुनु भएर पनि मेरो भिजन कम्प्लिट भयो ।
खासमा राम्री बनाउने, क्याटवक गराउने मात्रै उद्देश्य मेरो होइन, आफ्नो घर राम्रोसँग सम्हालेर महत्वपूर्ण समय समुदायलाई केही गर्न सक्छौं भन्ने सोंच, विचार जगाउनु थियो, उहाँहरुमा जाग्यो । हामीले च्यारिटी वर्क पनि गर्यौं । १० लाखभन्दा बढी रकम उठाएर अपांगतासम्बन्धी संस्थालाई पनि दियौं । त्यही भएर यसको अभिभावक संस्थासँग पनि मिलेर काम गर्दै छौं ।
म पनि सद्भावना दूत हुँ । मिस नेपालको वीनर पनि सद्भावना दूत हुनुहुन्छ भनेपछि हामी आफूमात्रै बन्ने होइन कि अरुलाई बन्नका लागि प्रेरित गर्ने चाहना थियो । जसमा सबैले सराहना गर्नुभयो । र, सहयोगी हात पनि बढ्दै गयो । गत वर्ष त यत्ति बीजी भएँ, स्पोन्सरलाई कल पनि गर्न पाइनँ । विगत एक वर्षदेखिको कमाइ पनि त्यही होला । मैले कल गर्न नपाउँदा पनि उहाँहरुले फोन गरेरै सहयोगी हात दिनुभयो । यसपालि त झनै राम्रो सहयोग थियो सबैको ।
भनेपछि यसले अब निरन्तरता पाउँछ ?
सञ्चारमाध्यम, प्रायोजकहरुको सपोर्ट पाइरहेका छौं । सपोर्ट मात्रै नभएर बिजनेस पनि हुनेगरी उहाँहरुको प्रचारप्रसारमा सहयोग गर्ने । आफ्नो एककिसिमको सोसल कमिटमेन्ट त छँदैछ । निरन्तरता त म हन्ड्रेड परसेन्ट नै दिन्छु ।
तपाईहरुले निकाल्दै आउनु भएको टुडेज वमन पत्रिकाबारे केही भनिदिनुहोस् न ?
टुडेज वमन अन्तर्राष्ट्रिय म्यागजिन हो । नेपालीमा भन्ने हो भने आजका नारी निकाल्ने कोसिस गरेको छु मैले । जसबाट अन्तर्राष्ट्रियस्तरमा छरिएर रहेका सबै दिदीबहिनीहरुलाई एकै ठाउँमा जुटाउन सकौं । उहाँहरुको काम सबैको माझ देखाउन सकौं । नेटवर्किङ राम्रो नभएर एकले अर्कोलाई नचिनेको अवस्था, कुन देशमा को के गरिरहेका छन् भन्ने थाहा नभइरहेको अवस्था, फेसबुक र गुगलले दिनेबाहेक हामी सबै नेपाली दिदीबहिनीहरुलाई एकअर्कोमा सम्पर्क गराउन टुडेज वेमन निकालेको हुँ ।
कति कपी छापिन्छ ?
हाम्रो सुरुआती समय भएकोले १५ सय प्रति छापिन्छ ।
एनआरएनए युकेको वर्तमान कार्यसमितिले अब १० हजार सदस्य पु¥याउने भनिरहेको छ । तपाई सल्लाहकारको नाताले कसरी हेरिरहनुभएको छ, यो संस्थालाई ?
कम्युनिटीको कामका लागि १५ वर्षअघि नेवारहरुको पासा पुछ गुठीको महासचिवबाट आफ्नो पाइला चालेकी थिएँ । यो स्टेपमा आफ्नो वरिजन र अरु नेपाली कम्युनिटीहरुसँग भेट्ने, जान्ने मौका मिल्यो । यसै क्रममा म अगाडि बढ्दै जाँदा एनआरएनएको प्लेटफर्म धेरै सकारात्मक लाग्यो । इमान्दार भएर भन्नुपर्दा पहिले मलाई इन्ट्रेस्ट थिएन पहिले । कति धेरै मिस कन्सेप्टमा चलिरहेको थियो, संगठनबारे । एनआरएनए धनीहरुको संस्था, नेताहरुको संस्था भन्ने बुझाइ छ हाम्रो पुस्तामा । म पनि योङ स्टुडेन्ट थिएँ । मेरो गतिविधि देखेर अशोकजीले बोलाउनुभएको थियो । तर, मलाई यो संस्था ठूलो, महँगो र एकदमै धनीधनीका मात्र हो भन्ने लाग्थ्यो । हामीजस्ता बच्चाहरुको, महिलाहरुको, युवाहरुको त्यहाँ खासै काम छैन । त्यस्तो फिल भएर म धेरै वर्ष गइनँ । तर, पछि अप्रोच हुँदै गयो । डमर घले, सूर्य गुरुङको प्रेसिडेन्सीमा मलाई मेम्बरमा भित्र्याइयो । त्यसपछि म कुल आचार्यको अध्यक्षतामा पहिलो युवा संयोजक भएर काम गर्ने मौका पाएँ । जति भित्र इन्भल्व भएर काम गर्दै जाँदा एनआरएनको मुभमेन्ट र संस्था एकदमै मन प¥यो । जुन मैले पहिले सोचेको, जुन अहिले पनि साथीहरु सोच्नुहुन्छ । त्यो भन्दा एकदम फरक लाग्यो । त्यो यत्ति राम्रो नेटवर्क हो ।
८० भन्दा बढी देशमा छरिएर बसेका नेपालीहरुसँग तपाई नेटवर्किङ गर्न पाउनुहुनेछ । तपाई बिसनेस माइन्डेड हुनुहुन्छ भने बिजनेस पिपुल भेट्नुहुन्छ । फ्रेन्डस् एन्ड फ्यामिली चाहनुभएको छ भने त्यस्तै भेट्नुहुन्छ । त्यसैले एनआरएनए ब्यूटिफूल गार्डेन भन्छु म । यो संस्था स्थापना गर्ने अग्रजहरुप्रति म हृदयदेखि नै नमन गर्न चाहन्छु । एनआरएनए संस्थामात्रै नभएर यो पोजेटिभ नेटवर्किङ संस्था हो । जसले सबै नेपालीहरुलाई एकीकृत गर्छ ।
नेपालमा पनि केही गर्ने भन्ने उद्देश्य राख्छ । त्यही भएर म महिला, युवाहरुलाई पोजेटिभ इम्प्याक्ट पार्नका लागि सदैव कोसिसमा रहनेछु ।
छरिएर रहेका विश्वका महिलाहरुलाई के भन्नुहुन्छ ?
महिलाहरुलाई भन्ने अधिकार मेरो छैन । उहाँहरु आआफ्नो ठाउँमा सक्षम हुनुहुन्छ । म अनुरोध मात्र गर्न चाहन्छु, जे गरिरहनुभएको छ, एकदमै मन खुसीसाथ निरन्तरता दिनु होला । घरमा खानै पकाए पनि, बच्चा नै हुर्नुभए पनि, श्रीमान् हेर्नु भए पनि, कामै गर्नुभए पनि खुसीसाथ, सकारात्मक तरिकाले गर्नु होला । किनभने तपाई आफू खुसी हुनुभएमा नै अरुलाई खुसी पार्न सक्नुहुनेछ । र, आफ्नो इच्छालाई नमार्नु होला । आफ्नो अभिभावक, श्रीमान्, साथी र परिवारलाई सहयोग माग्न मा नडराउनु होला । किनभने नमागेसम्म कत्ति कुरा अरुलाई थाहै हुँदैन । जे गर्दा पनि यदि सहयोग चाहिन्छ भने लिनु होला । भित्री आत्मबल नमार्नु होला ।
हरेक नारीको सफलतामा पुरुषको ठूलो हात हुन्छ । मेरो सफलतामा मेरो हसबेन्ड (सुनिल) को एकदमै सहयोग छ । उहाँको सहयोग पाउँदा म एकदमै भाग्यमानी ठान्छु । बच्चाहरुले पनि बुझेर अगाडि बढ्न प्रेरित गरेको पाउँछु । मेरो काम र प्रगतिमा गौरव गर्नुहुने सबै शुभचिन्तकहरुमा धेरै धन्यवाद । प्रेरित गर्दै जानुहोला, म अझै धेरै गर्न अगाडि बढ्नेछु ।