Kumar SK Gurung
अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले नयाँ वर्ष २०७५ साललाई विविध सांस्कृतिक कार्यक्रमका साथ स्वागत गरेको छ । कम्युनिटीले गत शनिबार १४ अप्रिल २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा नयाँ वर्ष २०७५ सालको स्वागत गरेको हो ।
कम्युनिटीका अध्यक्ष जीव बेल्बासे र स्थानीय रसमुर बरो काउन्सिलका काउन्सिलर मेयर सोफिया चौधरीले दिपप्रज्ज्वलन गरी सुरु भएको कार्यक्रममा स्थानीय काउन्सिलरहरु, स्थानीय बासिन्दा, उद्योगी, व्यापारी, वुद्धिजिवी र समाजसेवीहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा काउन्सिलर मेयर सोफिया चौधरीले प्रमुख अतिथिको आशनबाट निमन्त्रणाको लागि धन्यवाद दिँदै कम्युनिटीले आफ्नो क्षेत्रमा नेपाली कला र संस्कृतिको विकास भएकोमा खुसी व्यक्त गर्दै उनले नयाँ वर्षको शुभकामना दिइन् । त्यस्तै कार्यक्रममा अध्यक्ष बेल्वासेले सहभागी आगन्तुक र प्रायोजकहरुलाई धन्यवाद दिए ।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिक तथा उनका परिवारको समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न नेपाली गीत तथा नृत्य प्रस्तुत् गरिएको थियो । सुरक्षा राना, दिव्या राई, कल्पना लिम्बु, प्रनिम गुरुङ, अनित गुरुङ, अञ्जना लिम्बु, अनुषा हमाल, बिपसना गुरुङ, जोशिका बेल्बासे, प्रतिमा गुरुङ, कल्पना मगर, सोफीया गुरुङ, अग्नीस्ता गुरुङ र दिया केसीलगायतका नयाँ पुस्ताका नानीबाबुहरुले विभिन्न आकर्षक लोक तथा कौडा नृत्य प्रस्तुत् गरेका थिए ।
त्यस्तै, नेपाली समुदाय बेलायतमा छुट्टै छवि बनाउन सफल सयपत्री नेपाली कल्चरल ग्रुपका प्रभु गुरुङ, सन्तोष बिक, सुवास गुरुङ, कविता गुरुङ, पुष्पा गुरुङ र अबिशा गुरुङले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत् गरेका थिए ।
प्रथम गुल्मी जिल्ला नौमति बाजा समूहको धुनले पाहुनाहरुको स्वागत गरिएको कार्यक्रममा रमा बाँनिया, सुष्मा गुरुङ, रोहित गुरुङ, क्याप्टेन बिर बहादुर थापाले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए भने नेपालबाट बेलायत भ्रमणमा रहेकी लोक दोहोरी गायिका मञ्जु बिकले विभिन्न चर्चित गीतहरु प्रस्तुत् गरी दर्शकहरुलाई नचाएका थिए । त्यस्तै, कार्यक्रममा दिनेश गुरुङ, मिन गुरुङ, डमर सिङ्ग र भिम थापाले लाईभ बाँसुरी र मादललगायतको लाईभ वाद्यवादन बजाएका थिए । उक्त सांस्कृतिक कार्यक्रमलाई कल्चरल सेक्रेटरी दिनेश गुरुङ र प्रवक्ता प्रमिला राईले संचालन गरेका थिए ।
कार्यक्रममा कम्युनिटीका संस्थापक महासचिव दिलीप गुरुङले संस्थाको स्थापनामा खेलेको भूमिकाको कदर गर्दै उनलाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै, सहभागी कलाकारहरुलाई हौसला स्वरुप प्रमाण पत्र वितरण गरिएको थियो । सो आकर्षक नृत्य तयारीमा सांस्कृतिक सचिव दिनेश गुरुङ र नृत्य प्रशिक्षक सुरक्षा रानाले विशेष भूमिका खेलेको महासचिव मान गुरुङले जानकारी दिए ।
सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुसँग स्थानीय काउन्सिल, स्थानीय रसमुरवासी र अल्पसंख्यक समुदायसँग सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्य अनुरुप ग्रेटर रसमुर नेपाली कम्युनिटीले प्रत्येक वर्ष नयाँ वर्ष, इन्फरमेशन डे, नारी दिवस लगायत विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । त्यस्तै, जेष्ठ नागरिकहरुलाई योगा र स्वस्थ नृत्य, युवाहरुलाई नृत्य प्रशिक्षण दिँदै आएको कम्युनिटीले स्थानीय संघसंसस्थाहरुसँग मिलेर फुड फेस्टिबल र १० के दौडलगायतको कार्यक्रमको आयोजना समेत गर्दै आएको छ ।
ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामधन राईले स्वागत मन्तब्य र महिला फोरमकी संयोजक लिला सेलिङ्ग माबोले कविता वाचन गरेकी थिइन् भने महासचिव मान गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए । त्यस्तै, उपाध्यक्ष रन्जिता मल्लले पाहुनाहरुको स्वागत, उपाध्यक्ष नेम थापाले पावर पोइन्ट संचालन, कोषाध्यक्ष टोप पल्लीले प्रवेशद्वारमा विशेष भूमिका खेलेका थिए ।