काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को खुला उपाध्यक्ष पदका लागि रोजिना प्रधान राईले उम्मेदवारी दर्ता गराएकी छन्। यसअघि एनआरएनएमा महिला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी राईले आफ्नो कार्यकाल इमान्दारी, सक्रियता र समर्पणका साथ पूरा गरेको बताउँदै पुनः नेतृत्वका लागि मैदानमा उत्रिएको जानकारी दिएकी हुन् ।
उम्मेदवारी दर्तापछि उनले महिला उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने क्रममा संगठनलाई सशक्त बनाउने, महिला सहभागिता बढाउने तथा विभिन्न देशमा रहेका गैरआवासीय नेपाली महिलाहरूलाई एकताबद्ध गर्ने प्रयासमा आफू निरन्तर सक्रिय रहेको बताइन् । राईले आगामी दिनमा एनआरएनएलाई अझ सशक्त, प्रभावकारी र सबै गैरआवासीय नेपालीहरूको साझा संस्था बनाउने उद्देश्यसहित आफू खुला उपाध्यक्ष पदमा उम्मेदवार बनेको स्पष्ट पारिन् ।
विदेशमा रहेका नेपालीहरूको हकहित, पहिचान, लगानी प्रवर्द्धन तथा नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउने एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । आगामी निर्वाचनमा आफूलाई उपाध्यक्ष पदमा निर्वाचित गराउन सहयोग र समर्थन गर्न उनले सबै गैरआवासीय नेपाली समुदायसँग आग्रह गरेकी छन् ।






