मध्यपूर्वको अवस्थाप्रति एनआरएनएको चिन्ता, उम्मेदवार र महाधिवेशन प्रतिनिधिका लागि भर्चुअल व्यवस्था गरिने

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्व क्षेत्रको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संघले उक्त क्षेत्रको परिस्थितिका कारण आसन्न अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन चाहने अभियन्ता, राष्ट्रिय समन्वय परिषद् तथा उम्मेदवारहरूबाट विभिन्न सुझाव र गुनासाहरू प्राप्त भएको जनाएको छ ।

एनआरएनएको बृहत् एकतापछि गठित स्टेरिङ कमिटीको २०८२ फागुन २८ गते (तदनुसार १२ मार्च २०२६ बिहीबार) सम्पन्न १३औँ बैठकले अत्यधिक रूपमा भौतिक तथा आंशिक रूपमा अनलाइन माध्यमबाट सञ्चालन गर्ने भनिएको निर्वाचन प्रक्रियामा परिस्थिति संघको नियन्त्रण बाहिर रहेकाले दुवै विधिमा लचकता अपनाउनुपर्ने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको हो । एनआरएनएले सबै पक्षलाई वर्तमान परिस्थिति बुझिदिन आग्रह गर्दै विशेषगरी मध्यपूर्व क्षेत्रमा रहेका र नेपालमा भौतिक रूपमा उपस्थित हुन नसक्ने उम्मेदवार तथा प्रतिनिधिहरूका लागि वैकल्पिक व्यवस्था गर्ने जनाएको छ ।

संघका अनुसार त्यस्ता उम्मेदवार तथा प्रतिनिधिहरूको उम्मेदवारी दर्ता, सनाखत तथा शपथग्रहणलगायत सबै प्रक्रिया भर्चुअल माध्यमबाट सम्पन्न गर्ने व्यवस्था मिलाइनेछ ।

‘ मध्यपूर्वको पछिल्लो अवस्थाप्रति हामी अत्यन्त चिन्तित र गम्भीर छौँ। यस सन्दर्भमा अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन इच्छुक बहुसंख्यक अभियन्ताहरू, राष्ट्रिय समन्वय परिषदहरू तथा आसन्न अन्तर्राष्ट्रिय महाधिवेशनका प्रत्यासी उम्मेदवारहरूबाट विभिन्न सुझाव तथा गुनासाहरू पनि हामीलाई प्राप्त भएका छन्, जसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ती गुनासाहरूलाई हामीले सम्मानजनक रूपमा मनन गर्दै, यस बैठकबाट पछिल्लो विकसित घटनाक्रमका कारण प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित उम्मेदवार तथा प्रतिनिधिहरूको हकलाई मध्यनजर गर्दै, अत्यधिक रूपमा भौतिक तथा आंशिक रूपमा अनलाइन माध्यमबाट सञ्चालन गर्ने भनिएको निर्वाचन प्रक्रियामा परिस्थिति हाम्रो नियन्त्रणमा नभएकाले अनलाइन र भौतिक दुवै विधिमा लचकता अपनाउनुपर्ने बाध्यता उत्पन्न भएको छ,’ बिहीबार बैठकपछि अध्यक्षद्वय बद्री केसी र महेशकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सम्पूर्णमा यो परिस्थिति बुझिदिनु हुन अनुरोध गर्दछौँ । यसै सन्दर्भमा मध्यपूर्व क्षेत्रका हकमा नेपालमा भौतिक रूपमा उपस्थित हुन नसकेका उम्मेदवार तथा प्रतिनिधिहरूको उम्मेदवारी दर्ता, सनाखत लगायत शपथ ग्रहणसमेतका सबै प्रक्रिया भर्चुअल माध्यमबाट गर्ने व्यवस्था गरिनेछ । यसका साथै पछिल्ला सबै परिस्थितिलाई मध्यनजर गर्दै हामी अत्यधिक रूपमा सर्वसम्मतिको लागि प्रयासरत रहेको जानकारी पनि गराउन चाहन्छौँ ।’

आसन्न १२ औँ महाधिवेशनमा मध्यपूर्वको पछिल्लो घटनालाई उच्च प्राथमिकतामा राखी संकल्प प्रस्तावका रूपमा प्रस्तुत गरिनेछ । यस सम्बन्धमा सुझावहरू पनि info@nrna.org मा पठाइदिनु हुन अनुरोध गरिएको छ । संघले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनलाई सकेसम्म सर्वसम्मत ढंगले सम्पन्न गर्ने प्रयास भइरहेको पनि जानकारी गराएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!