आइतबार, १५ मार्च २०२६ – बेलायत । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिले विशेष रचना वाचन कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाएको छ ।
कार्यक्रममा नारी शक्ति र साहित्यको चर्चा गर्ने क्रममा संस्थाका उपाध्यक्ष विजय हितान मगरले नेपालका पूर्वप्रधानन्यायाधीश एवं वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘राष्ट्रमाता’को उपाधि घोषणा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । उपाध्यक्ष हितानले प्रधानमन्त्री कार्कीको योगदानको कदर गर्दै उहाँलाई राष्ट्रमाताको गरिमा दिन सरकार र सरोकारवाला समक्ष अनुरोध गर्नुभएको हो ।
केन्द्रीय अध्यक्ष डा. लोकनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सुरुवात उपाध्यक्ष सुनिता कन्दङ्वाले स्वागत मन्तव्यमार्फत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव देविका मगरातीले गर्नुभएको थियो। भर्चुअल माध्यमबाट सम्पन्न यस कार्यक्रममा नेपाल, भारत, बेलायत, रसिया, ताइवान, अमेरिका र सिक्किम लगायतका विभिन्न देशहरूबाट साहित्यकारहरूको उत्साहजनक सहभागिता रहेको छ ।
साहित्यिक सिर्जना वाचन गर्ने क्रममा चिम्खोले काइला, नितिनुर, मनिराज सिंह, होमा, रीता देवी प्रधान, गङ्गा भण्डारी, कृष्ण गौतम, किरण आचार्य, हरि कुमार श्रेष्ठ, रीता मगराती, कल्पना पौडेल, डा. मधु श्रेष्ठ र ऋषिराम सापकोटाले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गर्नुभएको छ । त्यस्तै, वरिष्ठ साहित्यकारहरू एवं विशेष अतिथिहरू ज्ञानु अधिकारी, कुन्ता शर्मा र भवानी खतिवडाले आफ्ना अनुभवसहित सिर्जना वाचन गर्नुभएको थियो भने गोविन्द प्रसाद गौतमले शुभकामना मन्तव्य राख्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कौशिला रिसालले समसामयिक विषयमा मन्तव्य राख्दै आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष डा. लोकनाथ काफ्लेले आफ्नो मन्तब्य राख्दै उपस्थित सम्पूर्ण साहित्यकार तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको छ ।







