तस्बिर : तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङको फेसबुक वालबाट
मिचेट १६ मार्च २०२६ । तमु धीं यूकेले आगामी २४औँ गोर्खा कपको तयारीबारे छलफल गरेको छ।
१५ मार्च आइतबार तमु धीं भवन मिचेटमा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा प्रतियोगिताको तयारी र कार्यक्रमबारे जानकारी गराइएको हो । बैठकमा ५ अप्रिल आइतबार टिम र स्टल इन्ट्री खुल्ने र ३ मे २०२६ मा दुवै इन्ट्री बन्द हुनेछ ।
गोर्खा कप संयोजक एवं खेलकुद सचिव क्याप्टेन दीपक घलेले पावरप्वाइन्टमार्फत आगामी २४ मेमा हुने गोर्खा कपको तयारीबारे विस्तृत जानकारी दिएका थिए । बैठकमा संस्थाका पूर्व तथा वर्तमान पदाधिकारीहरूले पनि सुझाव राखेका थिए ।
यस वर्षको गोर्खा कप यूकेको अल्डरसटस्थित क्वीन्स इभिन्यू फुटबल मैदानमा हुनेछ। प्रतियोगितामा मेन, भेट्रान्स र महिला गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। मैदानमा उत्कृष्ट फुटबल प्रदर्शन गर्ने टोलीहरूलाई विजेता र उपविजेताको ट्रफीसहित पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट ट्राइकर विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलकुदसँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
उक्त बैठकले ‘ट्रेल वाकर’मा हरेक वर्ष भाग लिने पनि निर्णय गरेको तमु धीं यूकेले जनाएको छ । महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको बैठकमा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष परशु गुरुङले राखेका थिए ।






