काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुँदैछ । स्वयम्भुस्थित एक पार्टी प्यालेसमा बन्दसत्रको तयारी भइरहेको महासचिव दिवस राईले बताएका छन् ।
विभिन्न ५६ वटा जातीय संघ संस्था र महासंघमा आवद्ध संघ संस्थाबाट करिब पाँचसय प्रतिनिधि महाधिवेशनमा सहभागी रहेको उनले बताए । बन्दसत्रको सुरुमा कोषाध्यक्षको प्रतिवेदन, महासचिवको प्रतिवेदनबारेमा छलफल हुने र त्यसलाई पारित गरिने महासचिव राईले बताए ।
निर्वाचनमा ५६ वटा जातीय संस्थाको तर्फबाट एक–एक जना मतदाता रहने वैधानिक व्यवस्थाअनुसार सम्भवतः सर्वसम्मतबाट नभए निर्वाचन प्रक्रियाअनुसार नयाँ कार्य समिति चयनको काम हुने उनले बताए । सम्भवतः आजै राति अबेरसम्म नयाँ कार्य समिति चयन हुने सम्भव नभए शनिबार विहानबाट निर्वाचन प्रक्रिया सुरु हुने उनले बताए
नयाँ नेतृत्वका लागि अहिलेसम्म दिवस राई, मोहन छन्त्याल, अमृत सुनुवार, निमा शेर्पा, जीवन हाछेथु लगायतको दावी रहेको छ । वर्तमान अध्यक्ष गेल्जे लामा शेर्पाले सर्वसम्मत कार्यसमिति चयनको प्रयास जारी रहेको बताए ।
११ औं महाधिवेशनको उदघाटनसत्र बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उदघाटन गरेका थिए ।






