गोमा राना
२४ अक्टुबर २०१८ बिहान ४ बजे नै सबै साथीहरु जम्मा भएपछि काठमाडांै होटेल ‘नेपाल घरबाट’ खाजा र आवश्यक सामाग्री बोकी केरुङतर्फ प्रस्थान गर्यौ । आफ्नै देशको पनि कयौं ठाउँहरूका नामै नजानेको अवस्था, अँध्यरोमै काठमाडौंको टोखा, रसुवाको धुन्चे, सोह्र घुम्ती हँुदै नेपाल–तिब्बत साँध रसुवागढी पुग्यौं । पहिलापहिला अन्यत्र ठाउँ घुम्दा नेपाललाई प्रकृतिले ठगेको हो कि भीरपखेरामा सकिनसकी मोटरबाटो बनायो, वर्षायाममा भत्किने । तर, देशको सीमा नाघेपछि एकबित्ताको अन्तरमा चीनले बनाएको बाटो हेर्दा प्रकृतिले ठगेको नभएर मान्छेले पो ठगेको रहेछ भन्ने अनुभूत हुने गर्छ । आफ्नो देशको जति नै बयान गरे पनि उफारिँदै र पछारिँदै गन्तव्यमा पुग्नुपर्ने तर अर्काको देशमा भने सललल बग्ने बाटो । कस्ता–कस्ता अजंगको पहाड बीचमा बाटोको सुविधा । सीमानाका नाघेपछि टालटुल गरेको पुल तरेपछि बाटो जति सललल भए पनि मेरो मन भने अघि उफ्रेको जिउभन्दा बढी कौतूहल भइरह्यो । कहिले होला मेरो देशको जमिन पनि कम चुटाइमा पर्ने ? यस्तै यस्तै कुरा मनमा खेल्दाखेल्दै केरुङ पुगियो र एकरात ‘फुन्तासोक रब्सल’ होटेलमा बसियो ।
दोस्रो दिन उकालै उकालो लागियो । हाम्रा गाइड गर्ने तेन्जिङ अति नै मिलन्सार, सहयोगी र दयालु भएकोले समूहको खुबै राम्रो ख्याल राख्थे । उनले विभिन्न ठाउँको परिचय दिन्थे, हामी ठाउँठाउँका तस्बिर क्यामरामा कैद गर्दै झन् माथिमाथि चढ्दा आकाश नै छुदै पो छु कि जस्तो भान हुन्थ्यो । अझ लाग्थ्यो, क्षितिजपारि साँच्चै आकाशसङ्ग मितेरी गाँस्दै छुट्टै संसार पुगेजस्तै । त्यो दिन ५१०० मिटर अग्लो गेउलोपा हुँदै पिकाछो तालको छेउमा पुगियो । पहिले त तस्बिरमा मात्रै देखेकी थिएँ यति स्वच्छ निर्मल ताल । एकछिन त पत्याउन गाह्रो पर्यो । अति नै चिसो हावाको बेग त्यसमाथि जिन्दगीमा पहिलोपटक यति अग्लो ठाउँमा पुगेको, बाजेहरुले लेक लागेको भनेको सुन्दा वास्तै गरिएन, थाहा पनि भएन । आज राम्रैसँग थाहा भयो लेक लागेको । ओखती खाँदै तिङग्रीतर्फ लागियो र केर्गार होटेलमा बस्यौं ।
भोलिपल्ट अर्थात् यात्राको पर्सिपल्ट बिहानै भारी खाजापछि एभरेस्ट बेस क्याम्पतर्फ लागियो । बाबाआमाले नानी बल, उमेर हुँदै घुम्नु पर्ने रहेछ पछि त पैसा हुन्छ, मन हुन्छ तर बल हुँदैन, सकिदैन भन्नु भएको कुरा मनमा खेलाउदै अझ माथि चढियो । साँच्चिकै सक्दा चाइनाको ग्रेटवाल लामो पर्खाल र पोटाला प्यालेस घुम्ने रहर जागेकोले आज यहाँ एभरेस्ट बेसक्याम्पमा आइपुगियो । आम्मै नेपाली भएर संसार चिनाउने माउन्ट एभरेस्टको फेदमा पाइला टेक्दा आपूmलाई कताकता सपना हो कि विपनाजस्तो महसुस भयो । एकदमै हावा चल्ने रहेछ । नजिकैबाट तस्बिरमा कैद गरी आपूmलाई नेपाली हुनुमा संसारलाई चिनाउने सगरमाथाको फेदमा पुग्दा कम्ति भाग्यमानी र गर्व महसुस गरिनँ । त्यसपछि मक्ख पर्दै सेगार, सिगात्सेतर्फ लागियो । बाटो लामो भएकोले समूहले लगेको सुख्खा खाना कति खाइयो कति, लेक लागेर वजन कम हुनुको सट्टा आफू त तिबेतीयन जस्तै पो भइयो पो । जसले जे भने पनि मकै भटमास जस्तो मिठो के हुन्थ्यो र लामो बाटोमा । लामो बाटो पारपछि सिगात्से आएर दुई रात बसियो । खानापछि कोठामा टेलिभिजन हेर्न बस्दा कुनै विकल्प नभएपछि नबुझे पनि चाइनिज भाषामा खुब टिभि हेरँे, के के हेरे तिनैले बुझुन् आफू त हेरियो मात्रै ।
आम्मै कति ठुलो क्षेत्र ओगटेको मोनास्त्रीहरु ? हाम्रो टुर गाइड पनि निकै जान्ने रहेछ क्यारे टासी ल्होङ्पो मोनास्त्रीको बारेमा थुप्रै बयान गर्यो । दिमागले सबै कुरा टिप्ने भए मैले पनि कति विस्तार गरेर उतार्ने थिएँ तर के टिप्यो कुन्नी मलाई मात्रै थाहा छ । मेरो दिमागले उतारेको कुरा अहिले बयान गरेँ भने योसम्बन्धी जानकार ब्यक्तिको नाक खुम्च्याउन मौका किन दिने होइन र ? यदि म यो ठाउँमा नआएको भए यति पनि जान्ने मौका मिल्ने थिएन ।
२९ अक्टोबर ग्यात्सेको विशाल मोनास्त्री र पुरानो बस्ती घुमेर आएपछि विभिन्न कुरा मनमा खेलाउँदै आराम गरेँ । अझ गाउँदेखि आएका मानिसहरू कति स्वच्छ अनि सरल स्वभावका । तीनलाई न त भविष्यको चिन्ता न त ऐशआराम, लालचा नै । आपूmÞसँग पैसा घिउ छ भने मोनास्त्रीमा चढ़ाउन पाए आत्मसन्तुष्टि मिल्ने ।
३० अक्टोबर ल्हासा तर्फÞको यात्रा सुरु हुन्ंछ । बाटो लामो भएकोले अलिक छिटो निस्क्यौ जी ३४९ बाटो हुँदै उतरपूर्व लागियो सिमिला मानापा, खाँनचार हिमाल ७१९१ मिटर आग्लो हिमतुल्य दृश्य । लाग्थ्यो सेती हिमपरी संगै मितेरी गाँस्दै अगाडि बढियो । यो त हिमाल भयो तर खरोला ५०३९ मिटर आग्लो ठाउँमा पुगियो खोई यतिबेला लेक लागेन त । हन सक्छ यहाँको हावापानीसँग परिचित भैएछ । जादाँजाँदै चंडलोमा हिमाल एमतोक ताल पनि बाटोमै पर्दोरहेछ । ताल ज्यादै ठूलो, सफÞा । नेपालमा भए कति पौडीबाजी हुनुका साथै माछापालन हुने थियो । कतिका जीवनयापन चल्ने थियो तर तिब्बतमा पौडी खेल्न मनाही रहेछ । नागाचे सहर हुदै कंबोला ५००० मिटर आग्लो बाटो भई ब्रह्मापुत्र सबै भूभाग मेरै हो भनी अलिक उत्छृंखल भइ बहेकी रहिछन् (यहालूँग) नदीको किनारैकिनार भई कालारी सुरूङ (४ किमि) पार गर्नसाथ किउचू (ह्याप्पीरिभर) ल्हासा नदी पछि किउचू होटेलमा पुगियो ।
३१ अक्टोबर दुई ठाउँ द्रेबुङ र सेरा मोनास्त्री दर्शनको लागि बिहानै तयार भयौं । सुरुमा छ किमि ल्हासाको उत्तर–पश्चिम् दे्ररुङ मोनास्त्रीमा गयौं । यो ल्हासाको तेस्रो गेलुक्पा मन्दिर र तिब्बतको सबभन्दा ठूलो मोनास्त्री पनि रहेछ । हरेक कुरा जुर्नु पर्छ भनेझैं साँच्चिकै मेला लाग्ने दिन (वर्षमा एकदिन) थुप्रै लामाहरुको पूजापाठ, गाउँबाट आउने भक्तजनहरुको घुइँचो थर्मोसभरी घिउ लिएर बत्ती बाल्नुको साथै गच्छेअनुसार दान गर्दारहेछन् ।
दिउँसो सेरा मोनास्त्रीतर्फ लाग्यौं । त्यो पनि ठूलो क्षेत्र ओगटेको ल्हासाबाट २ किमि उत्तरतर्फ रहेको विशाल मोनास्त्री रहेछ । विशेष बच्चाहरुलाई लगेको देखियो । हाम्रो त बच्चाले पहिलो बोलीमा बाबाआमालाई बोलाउँछन् भने उनीहरु त पहिलो धर्मलाई चिन्दा रहेछन् । अचम्म त के भने हाम्रो बच्चालाई आँखा नलागोस् भनी कालो टीका लगाइदिन्छौं तर उनीहरु आफ्नो धर्मप्रति झुकुन् भनी नाकमा कालो चिन्ह लगाउने रहेछन् । बच्चा रुने, दुःख दिने किशोरकिशोरीहरुले कपाल रङ्गाउने अलिक आधुनिक बन्न लागेमा पनि यस्तो चिह्न लगाइदिएर तिमी तिब्बती हौ भनि देशप्रति झुकाव बढाउँदा रहेछ । अनि अर्को के देखियो भने लामा लामाको वादविवाद हुँदोरहेछ उठ्ने व्यक्तिले बस्नेलाई प्रश्न गर्दारहेछन् र उठ्ने व्यक्तिले जोडले ताली बजाइबजाइ उत्तर फर्काउँदा रहेछन् । दुई लामाबीच यो क्रिया दोहोरिने रहेछ । हेर्दा लाग्थ्यो, दुई लामाबीच झगडा भइरहेको छ । केही महिना पछि परिक्षा हुँदोरहेछ पास गर्न खुब गाह्रो हुने कुरा सुनियो ।
१ नोभेम्बर सबैजना पोर्तला प्यालेस घुम्ने दिन मलाई पनि बिहानैदेखि एक किसिमको मनमा कौतुहलता छाएको थियो । ओहो ल्हासाको पोर्ताला प्यालेस दलाइ लामाको दरबार कस्तो होला ? विशाल यात्रीहरुको भीड, दर्शनार्थीहरुको लाम निश्चित समयावधि भित्र सबै हेरिसक्नु पर्ने ठाउँ । हामी पनि निर्धारित समयमै बाहिर आउन सफल भयौं । ल्हासामा निकै नेपालीहरुको रेस्टुराँ र होटेल रहेछ । भोलिपल्ट बिहानको उडान थियो । जहाजबाट जिन्दगीमा पहिलोपल्ट यति धेरै हिमालको अवलोकन गर्दै जन्मभूमिमा सकुशल आइपुगियो ।