कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ को मृत्यु, दर्जनौँ घाइते

SHARE:

कोलम्बिया । कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।

एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् ।

कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा ६६ जना सैनिकको ज्यान गएको जानकारी दिए । उनका अनुसार अझै चार जना सैनिक बेपत्ता रहेका छन् । “यो अत्यन्त दुःखद घटना हो, जसले हाम्रो सेनामा ठूलो क्षति पुर्‍याएको छ”, उनले भने ।

उनले प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना कुनै अवैध सशस्त्र समूहको आक्रमणका कारण भएको देखिँदैन भन्दै त्यस्तो कुनै सङ्केत हालसम्म नदेखिएको स्पष्ट पारे ।

दुर्घटनास्थल पोर्टो लेगुइजामो, पुतुमायो प्रान्तमा पर्छ । यो इक्वेडर र पेरुको सीमासँग जोडिएको दुर्गम अमेजन क्षेत्र हो । स्थानीय उपमेयर कार्लोस क्लारोसले मृतकहरूको शव सानो सहरको शवगृहमा राखिएको र सीमित स्वास्थ्य पूर्वाधारका कारण घाइतेहरूलाई प्राथमिक उपचारपछि ठूला सहरतर्फ पठाइएको बताउनुभयो । उहाँले स्थानीय बासिन्दाहरूले उद्धारमा सक्रिय सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।

कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले दुर्घटनाग्रस्त विमानले पुतुमायोको अर्को क्षेत्रमा सेना लैजाँदै गरेको जानकारी दिए । विमानमा ११५ जना सैनिक, ११ जना चालक दलका सदस्य र दुई जना राष्ट्रिय प्रहरी सवार थिए । दुर्घटनापछि ५७ जनालाई जीवितै उद्धार गरिएको बताइएको छ ।

दुर्घटनापछि सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ उठिरहेको देखिन्छ भने सैनिकहरू र स्थानीय बासिन्दाहरू उद्धार तथा आगो निभाउने प्रयासमा जुटेको दृश्य देखिन्छ । केही घाइतेहरूलाई मोटरसाइकलमार्फत हतारमा सुरक्षित स्थानतर्फ सारिएको थियो ।

कोलम्बियाको वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको कारणबारे अझै स्पष्ट हुन नसकेको बताउनुभयो । उहाँका अनुसार विमानमा प्राविधिक समस्या आएको र विमानस्थलबाट करिब दुई किलोमिटर टाढा खसेको हो । घाइतेहरूको उद्धारका लागि विशेष विमानमार्फत राजधानी बोगोटा लगायतका अस्पतालहरूमा सारिएको छ ।

दुर्घटनालाई लिएर राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य उपकरणको आधुनिकीकरण आवश्यक रहेको पुनः जोड दिए । उनले प्रशासनिक कमजोरी र ढिलासुस्तीका कारण सुधारका प्रयासहरू अवरुद्ध भएको उल्लेख गर्दै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउनुपर्ने सङ्केत गरे ।

यद्यपि विपक्षीहरूले भने बजेट कटौतीका कारण सैन्य उडान समय घट्दा अनुभवहीन चालक दलका सदस्यहरू बढेको र त्यसले जोखिम बढाएको तर्क गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!