ब्रिटेनमा परिवारसहित बसोबास गर्दै आएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–ल्वाङका क्याप्टेन लक्षबहादुर गुरुङ यस वर्ष पुनः विश्वकै कठिन मानिने एभरेष्ट म्याराथनमा सहभागी हुने भएका छन्। यस पटकको दौडमार्फत उनले २ हजार पाउण्ड सहयोग संकलन गर्ने लक्ष्य राखेका छन्। संकलित रकम गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहास र योगदान संरक्षण गर्दै आएको गोरखा मेमोरियल म्युजियम नेपाललाई सहयोग स्वरूप प्रदान गरिने उनले बताएका छन्।
https://www.justgiving.com/crowdfunding/lachhyabahadurgurung?utm_medium=CF&utm_source=CL
पूर्व ब्रिटिस गोर्खा सैनिक क्याप्टेन गुरुङ सन् १९८४ मा ब्रिटिस सेनामा भर्ती भएका थिए। करिब २५ वर्षभन्दा बढी सेवा गर्दै उनले विभिन्न अन्तर्राष्ट्रिय मिसन र सैन्य जिम्मेवारीहरू सफलतापूर्वक पूरा गरेका थिए। अनुशासन, नेतृत्व क्षमता र कर्तव्यनिष्ठाका कारण उनी क्याप्टेन पदसम्म पुगेका थिए। लामो सेवा अवधिपछि सन् २०१० मा उनी सम्मानपूर्वक अवकाश प्राप्त गरेका हुन्।
सेनाबाट अवकाश लिएपछि पनि उनले सक्रिय जीवनशैलीलाई निरन्तरता दिँदै आएका छन्। विशेषगरी दौड, पर्वतीय गतिविधि र सामाजिक सेवामा उनको विशेष रुचि छ। उच्च हिमाली क्षेत्रमा आयोजना हुने एभरेष्ट म्याराथनमा भाग लिनु उनको लागि केवल खेलकुद मात्र नभई सामाजिक उद्देश्यसँग जोडिएको अभियान पनि हो।
गत वर्ष उनले एभरेष्ट म्याराथन ७ घण्टा २२ मिनेटमा पूरा गरेका थिए। अत्यन्त कठिन भौगोलिक अवस्थाका कारण विश्वकै चुनौतीपूर्ण म्याराथनमध्ये मानिने यस दौडमा सहभागी हुनु आफैँमा ठूलो उपलब्धि मानिन्छ। समुद्री सतहबाट करिब ५,३६४ मिटर उचाइमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरु हुने यो दौड हिमाली भौगोलिक जोखिम, अक्सिजनको कमी र कठोर मौसमका कारण निकै कठिन मानिन्छ।
क्याप्टेन गुरुङले यस पटकको सहभागिता गोर्खा सैनिकहरूको इतिहास र बलिदानलाई भावी पुस्तासम्म जोगाइराख्ने उद्देश्यसँग जोडिएको बताएका छन्। उनका अनुसार गोरखा मेमोरियल म्युजियम नेपालले गोर्खा सैनिकहरूको बहादुरी, योगदान र सैन्य इतिहासलाई संरक्षण गर्ने महत्वपूर्ण काम गर्दै आएको छ, जसका लागि निरन्तर सहयोग आवश्यक पर्छ।
“सहयोग सानो वा ठूलो जे भए पनि यसको ठूलो अर्थ हुन्छ। हरेक योगदानले महत्वपूर्ण फरक पार्छ,” क्याप्टेन गुरुङले सहयोगका लागि सबैलाई अपिल गर्दै भने।
ल्वाङ गाउँमा जन्मिएका गुरुङ आफ्नो जन्मथलोप्रति पनि उत्तिकै प्रतिबद्ध छन्। उनले गाउँको विकास, शिक्षा र सामाजिक गतिविधिहरूमा आर्थिक तथा नैतिक सहयोग गर्दै आएका छन्। गाउँका युवाहरूलाई स्वास्थ्य, खेलकुद र अनुशासित जीवनशैली अपनाउन पनि उनी प्रेरित गर्दै आएका छन्।
एभरेष्ट म्याराथन हरेक वर्ष मे २९ मा आयोजना गरिन्छ। सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा यो म्याराथन सञ्चालन हुँदै आएको हो। विश्वभरका धावकहरूलाई आकर्षित गर्ने यस प्रतियोगितामा भाग लिनु आफैँमा साहस र दृढताको प्रतीक मानिन्छ।
यस वर्ष क्याप्टेन लक्षबहादुर गुरुङको सहभागिता केवल व्यक्तिगत चुनौती मात्र नभई गोर्खा इतिहासको संरक्षणका लागि गरिएको एक प्रेरणादायी सामाजिक अभियानका रूपमा पनि हेरिएको छ।






