दमक । ‘मेरो कविता- द रिदम अफ पोएट्री’को उपाधि सिक्किमका कवि सोनाम पाल्जर तामाङले जितेका छन् ।
झापाको बेलडाँगीमा सोमबार सम्पन्न ग्राण्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो । वरिष्ठ कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको फिनालेमा अन्य तीन प्रतिस्पर्धी कविहरूलाई तामाङले सर्वाधिक मत हासिल गर्दै विजयी भएका थिए । प्रतियोगितामा २५० बढी प्रतिस्पर्धीहरू सहभागी थिए ।
तामाङले नगद तीन लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारे । फस्ट रनर अप हुँदै धरानका कवि प्रवेग हाङस्रोङले एक लाख रूपैयाँ र ट्रफी प्राप्त गरे । त्यस्तै, झापाका कवि टोलीप्रसाद राजवंशी सेकेण्ड रनर अप भए । उनले नगद ७५ हजार र ट्रफी पाए । तेस्रो रनर अप पान्थरका कवि सेसे थाम्सुहाङ भए ।
प्रतियोगिताका निर्णायकहरूमा कविहरू हेमन यात्री, उत्तम तुम्सा लिम्बु, सुमन स्मारिका र अज्ञात दधि थिए ।






