क्षेत्री समाज बेलायतले आगामी डिसेम्बर १३ मा बृहत् च्यारिटी कार्यक्रम आयोजना गर्ने

SHARE:

लन्डन । क्षेत्री समाज बेलायत (क्षेत्री वेलफेयर फाउन्डेसन यूके)ले आगामी डिसेम्बर १३ मा बृहत् च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा आइतबार भएको क्षेत्री समाज बेलायतको वार्षिक साधारणसभाले डिसेम्बरमा च्यारिटी आयोजना गर्ने र उक्त कार्यक्रम संयोजनको जिम्मेवारी संस्थाकी उपाध्यक्ष प्रतिमा केसीलाई दिएको हो ।

समाजका अध्यक्ष क्याप्टेन टेक जिसीको अध्यक्षतामा सम्पन्न सभामा कोषाध्यक्ष सञ्जयध्वज भण्डारी र सचिव आनन्द थापाले संस्थाको आर्थिक गतिविधिबारे जानकारी गराएका थिए । संस्थालाई अझ बृहत् र सुदृढ बनाउन सदस्य संख्या वृद्धि गर्ने तथा विभिन्न रचनात्मक कार्यक्रममार्फत कोषवृद्धि गर्ने निर्णय पनि गरिएको छ ।

संस्थाले आगामी जुलाई १२ मा वार्षिक भेला तथा समर गेट–टुगेदर आयोजना गर्ने निर्णय गरेको छ । हरेक वर्ष आयोजना हुँदै आएको भेटघाट कार्यक्रममा यसपटक पनि बेलायतभरबाट क्षेत्री समुदायका सयौं सदस्यहरूको सहभागिता रहने अपेक्षा छ ।

विगतमा क्षेत्री समाजका रूपमा परिचित संस्था अहिले ‘क्षेत्री वेलफेयर फाउन्डेसन यूके’ का रूपमा आधिकारिक च्यारिटी संस्थामा दर्ता भइसकेको छ। सोही सन्दर्भमा सभामा संस्थाको भावी योजना, उद्देश्य र सामाजिक भूमिकाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सोही अवसरमा संस्थाका तर्फबाट एक पुस्तक प्रकाशन गर्ने तयारी पनि भइरहेको जानकारी दिइएको छ। यसको जिम्मेवारी संस्थाकी सदस्य शिला थापाले पाएकी छन् । हालसम्म करिब तीन दर्जन सामग्री संकलन भइसकेको र बाँकी एक महिनाभित्र सबै लेख संकलन गरेर आगामी वार्षिक भेटघाटकै दिन पुस्तक प्रकाशन तथा वितरण गर्ने लक्ष्य रहेको संयोजक थापाले बताइन्।

कार्यक्रममा एमबीइ जस्तो गरिमामय राष्ट्रिय सम्मानबाट सम्मानित भएका मेजर चक्रबहादुर खत्रीलाई संस्थाका अध्यक्ष जिसी, संरक्षक ध्रुव केसीलगायतले बधाई तथा सम्मान गरे । उपाध्यक्ष प्रतिमा केसीको संयोजन तथा स्थानीय महिला दिदीबहिनीहरूको सहकार्यमा यस वर्षको तीज कार्यक्रम रेडिङमा आयोजना गर्ने तय भएको जानकारी पनि दिइयो ।
कार्यक्रममा दिदीबहिनी मात्र नभई दाजुभाइहरूलाई समेत सहभागी हुन आग्रह गरिएको छ। यसैगरी दशैं र तिहारका कार्यक्रमसमेत आयोजना गरिने र त्यसबारे विस्तृत जानकारी निकट भविष्यमा सार्वजनिक गरिने जनाइएको छ।

अध्यक्ष टेक जिसीले आफ्नो बाँकी समय समाजसेवामा समर्पित गर्ने जनाउँदै सहयोगी सबैप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा अझ सक्रिय रूपमा लाग्न आग्रह समेत गरे । जिसीले नयाँ पुस्ताका सदस्यहरूलाई संस्थामा बढीभन्दा बढी सहभागी गराउनुपर्नेमा जोड दिए ।

संरक्षक ध्रुव केसीले संस्थालाई अझ सक्रिय र मजबुत बनाउन सुझाव दिँदै निकट भविष्यमा आफ्नै भवन खरिदका लागि पहल थाल्नुपर्ने धारणा राखे । पूर्वअध्यक्ष प्रेम खड्का, धन कुँवरलगायतले दशकौँअघिदेखि च्यारिटीको प्रयास हुँदै आएपनि अहिले आएर संस्थाले औपचारिक सफलता प्राप्त गरेको भन्दै सबै मिलेर यसलाई अझ अगाडि बढाउनुपर्ने बताए ।

पूर्वअध्यक्ष कृष्ण अधिकारी, निवर्तमान अध्यक्ष श्रद्धा थापा तथा संस्थाका सल्लाहकारहरूले पनि संस्थालाई च्यारिटी प्रक्रियामा स्थापित गर्न सफल भएकोमा खुशी व्यक्त गरे। सभामा संरक्षक ध्रुव केसी, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू तथा कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । हाल संस्थामा आजीवन र साधारण सदस्य गरी करिब ४०० जना आबद्ध छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!