प्रस्तुति: चिम्खोले काइँला – बेलायत
भूतपूर्व गोर्खा लेफ्टिनेन्ट (रिटायर्ड) कर्णप्रसाद गुरुङ बेलायतमा आगामी ७ मे २०२६ मा हुने स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन्। उनी लन्डनको हाउन्स्लो बरो काउन्सिल अन्तर्गत बेडफन्ट वार्डबाट कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका लागि उम्मेदवार बनेका हुन्। पर्वत जिल्लाको भोक्सिङ देउरालीमा जन्मिएका गुरुङको बाल्यकाल भोक्सिङ, कोलकाता र हङकङमा बितेको थियो। उनले प्रारम्भिक शिक्षा कोलकाताको गोर्खा चिल्ड्रेन स्कुल, सेन्ट जोसेफ र हङकङको गोर्खा हाइस्कुलबाट प्राप्त गरेका हुन् भने पछि बिजनेस म्यानेजमेन्टमा स्नातक (ग्र्याजुएट) गरेका छन्।
सन् १९७४ मा ब्रिटिस आर्मीमा आबद्ध भएका गुरुङले हङकङको सेकोङस्थित मलाया लाइन्समा आधारभूत सैन्य तालिम पूरा गरेपछि २/२ गोर्खा राइफल्समा सेवा सुरु गरेका थिए। सेवाका क्रममा अत्यन्त इमानदार, वफादार र अनुशासित सिपाहीका रूपमा चिनिएका उनले जुनियर एनसीओ, सिनियर एनसीओ र अफिसर तहका सबै आवश्यक तालिमहरू सफलतापूर्वक उत्तीर्ण गरे। विभिन्न नेतृत्वदायी भूमिका र अनुभव बटुल्दै उनले १६ वर्षको सेवा अवधिमै ‘कमिसन’ प्राप्त गर्न सफल भएका थिए।
१ आरजीआर (1 RGR) बाट अवकाश प्राप्त गरेपछि उनले ब्रुनाईको राजपरिवारको ‘चिफ सेक्युरिटी अफिसर’ जस्तो महत्वपूर्ण र जिम्मेवारीपूर्ण पद सफलतापूर्वक सम्हालेका छन्। त्यस्तै, सन् १९९० मा जिम्बाब्वेमा ‘ब्रिटिस मिलिटरी एडभाइजर’ प्रशिक्षकका रूपमा काम गरेका गुरुङले पूर्वी युरोप र अफ्रिकामा युरोपेली युनियन तथा संयुक्त राष्ट्र संघको शान्ति मिसनहरूमा समेत सुरक्षा निकायको प्रमुख सल्लाहकार भई विश्व शान्तिका लागि ठुलो योगदान पुर्याएका छन्। संयुक्त राष्ट्र संघको शान्ति मिसनमा कार्यरत रहँदा उनले जर्मनीबाट ७९ मिलियन र १३५ मिलियन युरो उद्धार गरी कोसोभोमा स्थानान्तरण गरेको साहसी अनुभव पनि उनीसँग छ।
लामो समयदेखि लन्डन बरो काउन्सिल अन्तर्गत बेडफन्ट वार्डको कन्जरभेटिभ पार्टीसँग निकट रहेर सेवा पुर्याउँदै आएका गुरुङ बेलायतका विभिन्न सामाजिक संस्थाहरूमा पनि उत्तिकै सक्रिय छन्। पार्टीभित्रका विभिन्न कडा छनोट प्रक्रियाहरू पार गरेपछि मात्र आफूले काउन्सिलरको टिकट प्राप्त गरेको उनले बताएका छन्। राजनीति र समाजसेवा मार्फत स्थानीय समुदायको उत्थानमा लाग्ने उनको मुख्य लक्ष्य रहेको छ।
हाल श्रीमती पानकुमारी (पेरेना) गुरुङका साथ लन्डनको फेल्थाममा बसोबास गर्दै आएका लेफ्टिनेन्ट गुरुङ फुर्सदको समय समाजसेवा र खेलकुदमा खर्चन रुचाउँछन्। उनी आफ्नो बचेको समय श्रीमती, छोरा दिनेश गुरुङ, बुहारी दीपिका गुरुङ, छोरीहरू डा. बिन्दु गुरुङ, दिव्या गुरुङ र दुर्गा गुरुङ (मिस युके नेपाल २०१२) तथा नातिहरू सुदिप र कदिप गुरुङसँग पारिवारिक भ्रमण र रमाइलोमा बिताउन मन पराउँछन्।






