भूतपूर्व ब्रिटिश गोर्खासहित ६ नेपाली बेलायतमा चुनावी भिडन्तमा

SHARE:

लन्डन । बेलायतमा आउँदो मे ७ मा हुने स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरू पनि मैदानमा उत्रिएका छन् । निर्वाचनको दौरानमा रहेका उम्मेदवारहरुमा पूर्व ब्रिटिस आर्मीदेखि चिकित्सकलगायत छन् । उनीहरुले अहिले चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् ।

उत्तरबहादुर गुरुङ : भूतपूर्व ब्रिटिश गोर्खा
नेपालीहरुको उल्लेख्य बसोवास रहेको रसमोर बरो अन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् । ६६ वर्षीय गुरुङ सत्तारुढ पार्टी लेबरका तर्फबाट काउन्सिलर उम्मेदवार बनेका हुन् ।

लेबर पार्टी अभियानमा सन् २००७ देखि नै जोडिएका गुरुङ सन् २०११ पछि सक्रिय बने । सन् २०२४ मा सम्पन्न बेलायतको आमनिर्वाचनमा त उनी लेबर नेतृ अलेक्स बेकरलाई जिताउन मैदानमा निकै खटिए । अलेक्स बेकरले अल्डरसट क्षेत्रबाट लेबर सांसद पनि जितिन् ।

डा. विशाल गुरुङ : चिकित्सक
वेलिङटनमा अर्का नेपालीमूलका चिकित्सक डा. विशाल गुरुङ कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका छन् । डा. विशाल बर्सेनि नेपाल गएर नि:शुल्क आँखा शिविर गर्दै आएका उनी तमु धीं यूके महासचिव र ग्रेटर रसमोर नेपलिज कम्युनिटी उपाध्यक्ष पनि हुन् ।

उनले सुरक्षित र सफा शहर, युवाहरुका लागि अवसर सृजना, स्थानीय समुदायहरूलाई एकसाथ ल्याउने (इन्टिग्रेसन) एजेण्डा अघि सारेका छन् ।

जित रानाभाट : काउन्सिलर
जित रानाभाट सन् २०२२ मा काउन्सिलर निर्वाचित भएका थिए । उनी फेरि लेबर एण्ड कोअपरेटिभ पार्टीका तर्फबाट प्लमस्टिड एण्ड ग्लीनडन वार्डमाउम्मेदवार बनेका छन् । रानाभाटले मेयर र उपमेयरको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

हाल सत्तामा रहेको लेबर समाजवादी पार्टी भएको र यसले मजदुर वर्ग र आप्रवासीका मुद्दालाई बढी प्राथमिकता दिने उनी बताउँछन् ।

नरेन्द्र कँडेल :सामाजिक अभियन्ता
साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपति नाथ मन्दिरका पूर्वअध्यक्ष समेत रहेका नरेन्द्र कँडेल प्लमस्टिड एण्ड ग्लीनडन वार्डमा स्वतन्त्र रुपमा उठेका छन् । उनले आफू संयुक्त अधिराज्यको नयाँ समाजवादी राजनीतिक दल योर पार्टीको समर्थनमा चुनावी मैदानमा उत्रिएको बताए । कँडेलले आफूलाई ग्रीन पार्टीले समेत सहयोग गर्ने वचन दिएको दावी गरे ।

गौमाया गुरुङ : अध्यक्ष, ग्रीनवीच ममिज् फोरम
गौमाया गुरुङ लेबर एण्ड कोअपरेटिभ पार्टीबाट रोयल बरो अफ ग्रीनवीचको एबीउड वार्डमा पहिलोपटक काउन्सिलर उम्मेदवार बनेकी छन् । करिब १० वर्षअघि यस पार्टीको सदस्यता लिएको बताउने उनी ग्रीनवीच ममिज् फोरमको अध्यक्ष हुन् भने पार्टीको प्लमस्टिड ब्रान्चको कोषाध्यक्ष ।

सन् २००९ देखि बेलायतमा वसोवासरत गौमायाले यसअघि काउन्सिलर नरहँदा पनि स्थानीय समुदायमा बालबालिकाको हित र आमाहरुको सशक्तिकरण कार्यक्रम, कोषअभिवृद्धिका लागि विभिन्न च्यारिटी, वृद्ध र असक्त वासिन्दाहरुका लागि सहयोग, पार्क सफाइ, फोहरमैला व्यवस्थापन आदि काम गरेको बताउंदै अब पनि त्यसलाई निरन्तरता दिने बताइन् ।

संयुक्त अधिराज्यका चारमध्ये तीन राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा आउँदो ७ मेमा स्थानीय निर्वाचन हुँदैछ । काउन्सिल चुनाव ढिलाइमा सरकारले यु-टर्न लिएपछि १३६ स्थानीय काउन्सिलमा लगभग ५ हजार सिटका लागि निर्वाचन तयारी छ । नर्दर्न आयरल्याण्डमा भने काउन्सिलर र विधानसभा चुनाव आउँदो वर्ष मे २०२७ मा तय गरिएको छ ।

अनिल थापा मगर : सचिव, मगर संघ यूके
मगर संघ यूकेका सचिव अनिल थापा मगरले बेलायतमा आगामी मे ७ मा हुने स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीबाट रस्मूर बरो काउन्सिल फार्नबोरोस्थित चेरीउड वडाको काउन्सिलर पदमा मनोनयन दर्ता गरेका छन्। थापामगर लामो समयदेखि स्थानीय निकाय रस्मूर बरो काउन्सिलसँग निकट रहेर अनुभव बटुलिसकेका छन्।

अनिल थापा मगरको जन्म पिता अमृत थापा मगर र माता बिना थापा मगरको कोखबाट तनहुँ जिल्ला ब्यास नगरपालिका २ कुलुङमा भएको थियो । उनको बाल्यकाल कुलुङ, हङकङ र ललितपुरमा भएको थियो ।

थापामगरको प्रारम्भिक शिक्षा दमौली, हङकङ, ललितपुरको आदर्श विद्यामन्दिर (AVM) माध्यमिक विद्यालय, जयानन्द एङ्गोलो भेडिक सुशील केडिया भारती (DAVSKVB) माध्यमिक विद्यालयमा भएको थियो । उनले जिसीएससी र ए लेभल बेलायतको फार्नहामस्थित अलहालो क्याथोलिक स्कुलबाट उत्तीर्ण गरेका थिए भने लन्डन मेट्रोपोलीटिन विश्व विद्यालयमा अध्ययन गरेका थिए ।

अनिल बेलायतमा रहेका नेपाली युवाहरुमध्ये एक क्रियाशील युवा हुन् । उनी स्थानीय निकाय रस्मूर बरो काउन्सिलद्वारा संचालित तथा मातहतमा रहेका कार्यक्रमहरु जस्तै: Nation Citizen Service, Youth Homeless Charity, Community Service, Community development, Citizen Advice Beauro, Ruder Bold Running Group जस्ता संस्थाहरुमा आबद्ध भई अनुभव बटुलिसकेका छन् । उनी बेलायतमा स्थापित विभिन्न संघ-संस्थाहरु जस्तै मगर संघ यूके, ग्रेटर रस्मूर नेपाली कम्युनिटीलगायत विभिन्न संघ संस्थाहरुमा आबद्ध रहेका छन्।

अनिल फुर्सदको समयमा सामाजिक सेवामा तल्लिन हुन्छन् । सामजिक सेवाबाट बचेको समय रनिङ, म्याराथुन र परोपकारी कार्यहरुमा खर्चिन्छन् ।

ले. कर्णप्रसाद गुरुङ
प्रस्तुति: चिम्खोले काइँला – बेलायत

भूतपूर्व गोर्खा लेफ्टिनेन्ट (रिटायर्ड) कर्णप्रसाद गुरुङ बेलायतमा आगामी ७ मे २०२६ मा हुने स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन्। उनी लन्डनको हाउन्स्लो बरो काउन्सिल अन्तर्गत बेडफन्ट वार्डबाट कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका लागि उम्मेदवार बनेका हुन्। पर्वत जिल्लाको भोक्सिङ देउरालीमा जन्मिएका गुरुङको बाल्यकाल भोक्सिङ, कोलकाता र हङकङमा बितेको थियो। उनले प्रारम्भिक शिक्षा कोलकाताको गोर्खा चिल्ड्रेन स्कुल, सेन्ट जोसेफ र हङकङको गोर्खा हाइस्कुलबाट प्राप्त गरेका हुन् भने पछि बिजनेस म्यानेजमेन्टमा स्नातक (ग्र्याजुएट) गरेका छन्।

सन् १९७४ मा ब्रिटिस आर्मीमा आबद्ध भएका गुरुङले हङकङको सेकोङस्थित मलाया लाइन्समा आधारभूत सैन्य तालिम पूरा गरेपछि २/२ गोर्खा राइफल्समा सेवा सुरु गरेका थिए। सेवाका क्रममा अत्यन्त इमानदार, वफादार र अनुशासित सिपाहीका रूपमा चिनिएका उनले जुनियर एनसीओ, सिनियर एनसीओ र अफिसर तहका सबै आवश्यक तालिमहरू सफलतापूर्वक उत्तीर्ण गरे। विभिन्न नेतृत्वदायी भूमिका र अनुभव बटुल्दै उनले १६ वर्षको सेवा अवधिमै ‘कमिसन’ प्राप्त गर्न सफल भएका थिए।

१ आरजीआर (1 RGR) बाट अवकाश प्राप्त गरेपछि उनले ब्रुनाईको राजपरिवारको ‘चिफ सेक्युरिटी अफिसर’ जस्तो महत्वपूर्ण र जिम्मेवारीपूर्ण पद सफलतापूर्वक सम्हालेका छन्। त्यस्तै, सन् १९९० मा जिम्बाब्वेमा ‘ब्रिटिस मिलिटरी एडभाइजर’ प्रशिक्षकका रूपमा काम गरेका गुरुङले पूर्वी युरोप र अफ्रिकामा युरोपेली युनियन तथा संयुक्त राष्ट्र संघको शान्ति मिसनहरूमा समेत सुरक्षा निकायको प्रमुख सल्लाहकार भई विश्व शान्तिका लागि ठुलो योगदान पुर्‍याएका छन्। संयुक्त राष्ट्र संघको शान्ति मिसनमा कार्यरत रहँदा उनले जर्मनीबाट ७९ मिलियन र १३५ मिलियन युरो उद्धार गरी कोसोभोमा स्थानान्तरण गरेको साहसी अनुभव पनि उनीसँग छ।

लामो समयदेखि लन्डन बरो काउन्सिल अन्तर्गत बेडफन्ट वार्डको कन्जरभेटिभ पार्टीसँग निकट रहेर सेवा पुर्‍याउँदै आएका गुरुङ बेलायतका विभिन्न सामाजिक संस्थाहरूमा पनि उत्तिकै सक्रिय छन्। पार्टीभित्रका विभिन्न कडा छनोट प्रक्रियाहरू पार गरेपछि मात्र आफूले काउन्सिलरको टिकट प्राप्त गरेको उनले बताएका छन्। राजनीति र समाजसेवा मार्फत स्थानीय समुदायको उत्थानमा लाग्ने उनको मुख्य लक्ष्य रहेको छ।

हाल श्रीमती पानकुमारी (पेरेना) गुरुङका साथ लन्डनको फेल्थाममा बसोबास गर्दै आएका लेफ्टिनेन्ट गुरुङ फुर्सदको समय समाजसेवा र खेलकुदमा खर्चन रुचाउँछन्। उनी आफ्नो बचेको समय श्रीमती, छोरा दिनेश गुरुङ, बुहारी दीपिका गुरुङ, छोरीहरू डा. बिन्दु गुरुङ, दिव्या गुरुङ र दुर्गा गुरुङ (मिस युके नेपाल २०१२) तथा नातिहरू सुदिप र कदिप गुरुङसँग पारिवारिक भ्रमण र रमाइलोमा बिताउन मन पराउँछन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!