लन्डन २ अप्रिल २०२६ । जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१ नेपाल मगर संघका संस्थापक सदस्य तथा समाजसेवी खगेन्द्र घर्ती मगरलाई प्रदान गरिने भएको छ ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले यस वर्ष जयबहादुर हितान मगर स्मृति पुरस्कार खगेन्द्रलाई दिने निर्णय भएको जानकारी गराएको हो । उक्त पुरस्कार राशि ४० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । यो पुरस्कार नेपाल मगर संघका पूर्वसचिव स्व. जयबहादुर हितान मगरको स्मृतिमा उनका छोरा बेलायतवासी पूर्वगोर्खा, वातावरणविद् तथा साहित्यकार विजय हितान मगरले स्थापना गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफामगरद्वारा बुधबार जारी प्रेस विज्ञप्तिअनुसार, यस वर्षको जित-रेख मगर साहित्य पुरस्कार–२०८१ दुधौली-१४ आहालटार सिन्धुली निवासी उजिर राना मगरलाई दिने निर्णय भएको छ । राना मगरलाई माम्ह्याक्नी (नबिर्स-२०५८) ए…डाजे डईको (ए..दाइ दिदीहरु-२०६४) मगर भाषा कवितासंग्रह र मोईझाओ रोहआङ (मातृभूमिको मायामा-२०६५) कृतिका लागि दिन लागिएको हो । उक्त पुरस्कारको राशि ६० हजार नगद र सम्मानपत्र रहेको छ ।
१५ हजार राशिको जित-रेख मगर नवप्रतिभा साहित्य पुरस्कार २०८१ अठार मगर खाम भाषा एकाङ्की नाटकसंग्रह नाङ्खार-याल (गाउँतिर-२०७४) र अल्लाका सुल (हिजोको पाइला-२०८०) नाटकसंग्रहका स्रष्टा थवाङ-२ मिरुल रोल्पा निवासी राकेश बि.एम. चिन्तनलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
सोही समारोहमा निवर्तमान उपसभामुख इन्दिरा राना मगर र कुलपति भूपाल राईलाई सम्मान गरिने पनि अध्यक्ष लाफा मगरले जानकारी दिए । वार्षिक रूपमा प्रदान गर्दै आएको साहित्यिक पुरस्कार यस वर्ष चैत २८ गते शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी वितरण गरिने जानकारी दिइएको छ ।







