काठमाडौं । साहित्यिक पत्रकार संघले ४ कविलाई ‘व्यथित काव्य सम्मान’ प्रदान गरेको छ । बिहीबार चैत १९ गते काठमाडौंमा विशेष समारोह आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । कविहरूमा विमला तुम्खेवा र मीनकुमार नवोदितलाई ‘व्यथित काव्य सम्मान २०८२’ सम्मान र ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८२’ कविहरू लालगोपाल सुवेदी र दीपा राई पुन (अमेरिका)लाई दिइएको छ ।
कवि तुम्खेवाका – बिमला तुम्खेवाका कविताहरू (२०५५), नदी छाल र तरङ्गहरू (२०६०), संस्मरण एउटा बूढो रुखको (२०६५) र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे (२०७०) लगायत कृतिहरू प्रकाशित छन् । उनले नेपाल–बेलायत प्रतिभा राष्ट्रिय पुरस्कार, अमर नेम्वाङ स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार, गुञ्जन राष्ट्रिय प्रतिभा पुरस्कार, विश्व प्रतिभा युवा पुरस्कार तथा नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारलगायत विभिन्न सम्मान प्राप्त गरिसकेकी छन्।
यसैगरी कवि नवोदितका फूलबारीभित्रका भमराहरू (२०५७), झरीले रुझेको गाउँ (२०७०) र समयको बयान (२०७८) कवितासङ्ग्रहलगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् । उनले युवावर्ष मोती पुरस्कार–२०७७, भानु पदक, डा। नरेन्द्र चापागाईं स्मृति युवा साहित्य पुरस्कार–२०७१, चितवन साहित्य परिषद्को साहित्य पुरस्कार–२०७९, युवा साहित्य पुरस्कार–२०७४, नवरंग साहित्य प्रतिष्ठान झापाको साहित्य सम्मान, उत्कृष्ट युवा साहित्य सम्मान–२०७६ तथा दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्य सम्मानसहित दुई दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्। विराटनगरमा बसोबास गर्दै आएका नवोदित विगत दुई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय छन्।
कवि सुवेदीका फूलको देशमा, छायालाई माया नगर्नुहोस्, अग्नि आतङ्क, बिक्रीमा पृथ्वी, पानी, योगमाया र इन्द्रेनी, सबाल्टर्न पात कवितासङ्ग्रहलगायत दर्जन बढी कृतिहरू प्रकाशित छन् । उनले युवावर्ष मोती पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कारसहित विभिन्न साहित्यिक सम्मान प्राप्त गरेका छन्
यसैगरी कवि राई पुनको तिम्रो सपनाको म (२०६८), स्पन्दनका रागहरू (२०७०), छुटेको बागदाता (२०७२), दीयोको अन्तिम लप्का र शरदका पहेला पातहरू (२०७८) र प्रतिरूप (गीति एल्बम २०७४) लगायतका कृतिहरू प्रकाशित छन् । उनले प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार, अनेसास–रबिना फाउन्डेसन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार, ज्योति साहित्य सम्मान, अनल ज्योति सम्मान तथा राष्ट्रिय नारी सम्मानलगायत विभिन्न पुरस्कार प्राप्त गरिसकेकी छन्।
वि.सं. २०३९ मा स्थापना भएको ‘व्यथित काव्य पुरस्कार’ साहित्यिक पत्रकार संघले नेपाली साहित्यमा योगदान पुर्याउने प्रतिभाशाली कविहरूलाई प्रदान गर्दै आएको छ । यसअघि उक्त सम्मानबाट दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाईं, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी, गीता कार्की र ठाकुर बेलबासे सम्मानित भइसकेका छन् ।
यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान’ बाट हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत), शकुन ज्ञवाली (अमेरिका) र खेमनाथ दाहाल सम्मानित भइसकेको अध्यक्ष लेकालीले जानकारी दिए।






