काठमाडौं । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ९० देशमा रहेका नेपालीको साझा आवाज र एकतालाई नेपालको विकासमा जोड्नुपर्ने बताएका छन् ।
शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटका क्रममा डा.महतोले उक्त धारणा राखेका हुन् । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वर्तमान सरकारको सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरूले साथ् र सहकार्य गर्न सक्ने उल्लेख गरे ।
अध्यक्ष महतोले भने, “सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नै स्रोतबाट सहज तरिकाले काम गर्न सक्ने भए पनि समृद्ध नेपाल बनाउन ठूला लगानी, ज्ञान,, सिप र प्रबिधि आवश्यक पर्ने भएकाले विदेशमा रहेका नेपाली समुदायको अनुभव, ज्ञान र योगदान अत्यन्तै महत्वपूर्ण छ।”
उनले थप भने, “विदेशमा रहेका नेपालीहरूले सधैं मनमा नेपाललाई समृद्ध बनाउने सपना बोकेर काम गर्दै आएका छन् । परराष्ट्र मन्त्रालय हाम्रो सम्बन्धित मन्त्रालय भएकाले हामी जिम्मेवारी बुझिसकेका छौं र नेपाललाई समृद्ध बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न आजको भेटमा आएको हौँ ।”






