लन्डन 7 अप्रिल २०२६ । बेलायतमा ‘मिलारेपा’नाटकको एक महिने यात्रा पूरा गरेर कलाकार बुद्धि तामाङ स्वदेश फर्किएका छन् ।
चर्चित हास्य कलाकार तामाङ ६ अप्रिलमा हिथ्रो एयरपोर्ट हुँदै नेपाल फर्किएका हुन् । तामाङको बिदाइका लागि बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेका अध्यक्ष आङ्दावा शेर्पा, उपाध्यक्ष तथा मिलारेपा संयोजक देवबहादुर घले, महासचिव कुमार गुरुङ, आमा प्रमुख शारदा गुरुङ, कोसिस लोब्साङ वाइबा एयरपोर्ट पुगेका थिए ।
बुद्धि तामाङले बिदाइको क्रममा मिलारेपा प्रदर्शनमा साथ दिएकोमा मण्डला थ्रिएटर, मिलारेपा टिमसहित आफ्नो तर्फबाट आभार व्यक्त गरे । उनले बेलायत बसाइ र नाटक मञ्चनको क्रममा कसैलाई चित्ता दुखाएको भए वा दु:ख परेको भए आफूहरुलाई माफी दिन आग्रह गरे । यो साथ, सहयोगले फेरि यस्तै नाटक बनाउने जोससहित नेपाल फर्कन लागेको उनको भनाइ थियो ।
यस्तै गुरुङ कोसिस लामाले बीसीसी टिम र मिलारेपालाई सपोर्ट गर्ने सबैलाई धन्यवाद दिए ।
तामाङ गत मार्च ६ तारिख शुक्रबार बेलाइत आएका हुन् । मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित नाटक ‘मिलारेपा’ बीसीसी यूकेको च्यारिटी सहयोगार्थ आइतबार ८ मार्चमा अल्डसटस्थित प्रिन्सेस हलमा प्रदर्शन गरिएको थियो ।
नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान् योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ । कालो तान्त्रिक साधनामा संलग्न एक भट्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको उनको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु हो । यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्दछ ।
मण्डला थिएटर नेपालको विशेष प्रस्तुति रहेको उक्त नाटक चाङ ङोन हेरुकको लेखन, बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहेको छ । त्यस्तै, रुपेश लामा, रमिला मोक्तान, विकास लामालगायतका कलाकारको जोडदार अभिनय छ । साथै, आनी छोइङ डोल्माको स्वरसहितको प्रत्यक्ष परम्परागत संगीत प्रस्तुत गरिएको छ । जसको संगीत संयोजन सुदीप खतिवडाले गरेका छन् ।
आधुनिक शैलीमा बाची राख्दा, मानिसलाई चाहिने अतिवश्यक शिक्षा र दुर्लभ ज्ञानले सजिएको, धेरैको मन छुन सफल मिलारेपा नाटक बेलायतको कवि कफी विन्चेस्टरमा ४ अप्रिलमा, २९ मार्चमा लन्डन, विलविचस्थित ट्रामसेड हललगायत ठाउँमा पनि प्रदर्शन गरिएको थियो ।






