प्रस्तुति: चिम्खोले काईला – बेलायत।
आगामी मे ७ मा हुने बेलायतको स्थानीय निर्वाचनमा रसमर बरो काउन्सिल, चेरीउड वार्ड फार्नबरोको काउन्सिलर पदका लागि मगर संघ युकेका सचिव अनिल थापा मगरले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। रशमोर बरो काउन्सिलसँग लामो समयदेखि निकट रहेर कार्य गर्नुभएका थापा मगरसँग क्षेत्रीय कानून, विकास र सामुदायिक क्षेत्रको गहिरो अनुभव र ज्ञान रहेको छ।
तनहुँ जिल्लाको केशवतार-१४, कुलुङकोटमा बुबा अमृत थापा मगर र आमा बिना थापा मगरको कोखबाट जन्मनुभएका अनिलको बाल्यकाल कुलुङ, दमौली, हङकङ र ललितपुरमा बितेको थियो। उहाँले आफ्नो प्रारम्भिक शिक्षा दमौली, हङकङ, ललितपुरको आदर्श विद्यामन्दिर (AVM) र डीएभी सुशील केडिया विश्व भारती स्कुलबाट प्राप्त गर्नुभयो। उच्च शिक्षाको क्रममा उहाँले बेलायतको फार्नहामस्थित अलहालो क्याथोलिक स्कुलबाट GCSE र A-Level उत्तीर्ण गरी लन्डन मेट्रोपोलिटन विश्वविद्यालयमा अध्ययन गर्नुभएको छ।
अनिल बेलायतका अत्यन्त सक्रिय नेपाली युवाहरूमध्ये एक हुनुहुन्छ। रशमोर बरो काउन्सिलमा युवा कार्यकर्ताको रूपमा काम गर्ने सिलसिलामा उहाँले सामाजिक उद्यम, सांस्कृतिक ट्रस्ट, नागरिक सल्लाह ब्यूरो (CAB), र बहु-एजेन्सी सुरक्षा हब (MASH) सँग मिलेर अमूल्य अनुभव बटुल्नुभएको छ। यस अन्तर्गत उहाँले प्रहरी प्रशासन, स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सामुदायिक विकासका लागि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।
विगतमा एल्डरशटस्थित युवा घरबारविहीन परोपकारी संस्थाको मुख्य कार्यालयमा कार्यरत रहनुभएका उहाँले कार्यक्रम प्रबन्धकको रूपमा बकिङ्घमशायर, बर्कशायर र स्लो जस्ता काउन्टीहरूमा राष्ट्रिय नागरिक सेवा (NCS) जस्ता सरकारी वित्त पोषित कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो। हाल उहाँ मगर संघ युके, ग्रेटर रशमोर नेपाली समुदाय लगायतका विभिन्न स्थानीय तथा राष्ट्रिय संघसंस्थाहरूमा आबद्ध हुनुहुन्छ। साथै, उहाँले युवा केन्द्रित समूहहरू ‘DYG’ (डिस्कभर योर गिफ्ट) र ‘Runderbolts’ को स्थापना र विकासमा समेत सक्रिय भूमिका खेल्दै आउनुभएको छ।






