काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष हेमराज शर्मासहितका पदाधिकारीहरूले टीयू लायन्स ब्लड ट्रान्सफ्युसन एन्ड रिसर्च सेन्टरको अवलोकन भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा टोलीले रक्त बैंक प्रयोगशालाको सूक्ष्म अवलोकन गर्दै रगत संकलन प्रक्रिया, कम्पोनेन्ट सेपरेशन (रक्तका विभिन्न अंश छुट्याउने विधि) तथा सुरक्षित र उच्च गुणस्तरीय रक्त सेवा सुनिश्चित गर्न प्रयोग भइरहेका आधुनिक प्रविधिबारे जानकारी लिएको थियो।
उक्त अवसरमा विश्वभर फैलिएका नेपाली डायस्पोरासँग सहकार्य गर्दै रक्त सेवा सुदृढीकरण तथा अनुसन्धान पहलहरूलाई अगाडि बढाउने विषयमा विभिन्न दृष्टिकोणबाट अर्थपूर्ण छलफलसमेत भएको एनआरएनए सचिवालयले जनाएको छ ।







