लन्डन । बेलायतमा डा. विशाल गुरुङ ‘ह्युमानिटेरियन भिजन लिडर अवार्ड’बाट सम्मानित भएका छन् ।
डा गुरुङ संस्थापक रहेको ‘रेज अफ होप फाउन्डेसन फर भिजन’ ले नेपालका विकट क्षेत्रहरुमा नि:शुल्क आँखा शिविर सञ्चालन गरी सयौंको नि:शुल्क उपचार गर्दै आएको कार्यको कदरस्वरुप उनलाई शुक्रबार अक्सफोर्डस्थित अक्सफोर्ड युनिभर्सिटी, केबल कलेजको ओराइली थिएटरमा सम्पन्न १६ औं ‘वर्ल्ड लिडर्स समिट’ मा अवार्ड प्रदान गरिएको हो । फाउण्डेसनले दुई पटक गरी नेपालका विभिन्न जिल्लामा जम्मा ४ सय २३ जनाको आंखाको नि:शुल्क शल्यक्रियाबाट गुमेको ज्योति फर्काउन मद्दत पुर्याएको थियो ।
बेलायत सरकारका पूर्वपरराष्ट्रमन्त्री डेभिड ओवेन प्रमुख अतिथि रहेको समारोहमा बेलायती उपल्लो सदन हाउस अफ लर्ड्सका सदस्यहरु, पूर्वसांसद विरेन्द्र शर्मा, लिड्सका पूर्व मेयर लगायतका विशिष्ट व्यक्तित्वको उपस्थितिमा डा गुरुङले अवार्ड ग्रहण गरेका थिए ।
बेलायत, अमेरिका, क्यानडा, जिम्बाबे, इण्डिया, मलेसियासहित विश्वका ३० बढी मुलुकका प्रतिनिधि सहभागी समिटमा नेपालबाट भने पहिलोपटक प्रतिनिधित्व भएको हो । ‘ग्लोबल एम्पायर इभेन्ट लिमिटेड’ नामक अन्तरर्राष्ट्रिय संस्थाले आयोजना गर्ने ‘वर्ल्ड लिडर्स समिट’ मा विभिन्न मुलुकबाट राजनीतिज्ञ, समाजसेवी, उद्यमीलगायतका फरक-फरक क्षेत्रबाट लिडरहरुको सहभागिता रहने गरेको छ ।
डा गुरुङ तमु धीं यूकेका वर्तमान महासचिव, जीआरएनसी यूकेका उपाध्यक्ष हुन् । उनी अल्डरसटको वेलिङटन वडामा कञ्जरभेटिभ पार्टीबाट काउन्सिलर उम्मेदवार छन् । बेलायतमा यही मे ७ मा स्थानीय निर्वाचन हुँदैछ ।






