चिम्खोले काईला – बेलायत
म र श्रीमती जमुना पैदल यात्रा गर्न निकै रुचाउँछौँ। हामी बेलायतका सबैभन्दा अग्ला चुचुराहरू आरोहण गर्ने अभियानमा छौँ। हामीले स्कटल्याण्डको बेन नेभिस र वेल्सको स्नोडोनलगायत ससाना टाकुराहरुको आरोहण गरिसकेका छौँ र अब हाम्रो लक्ष्य इङ्गल्याण्डको सबैभन्दा अग्लो चुचुरो स्काफेल पाइकको आरोहण गर्ने रहेको छ।
स्काफेल पाइक (Scafell Pike) लेक डिस्ट्रिक्ट नेशनल पार्कमा अवस्थित छ। ९७८ मिटर उचाइ भएको यो हिमाल इङ्गल्याण्डको सर्वोच्च बिन्दु हो। यो हिमाल निकै चट्टानी छ र यसको चुचुरो घाँसे मैदान नभएर ‘बल्डर फिल्ड’ भनिने ठूला-ठूला ढुङ्गाहरूले भरिएको छ। पदयात्राका लागि वास्डेल हेड (Wasdale Head) सबैभन्दा छोटो तर निकै ठाडो बाटो हो, जसलाई धेरैजसो मानिसले प्रयोग गर्छन्। अलि लामो तर सुन्दर दृश्यहरू देखिने सिथवेट (Seathwaite) र लामो तथा चुनौतीपूर्ण ल्याङ्गडेल (Langdale) मार्गहरू पनि विकल्पका रूपमा छन्।
यहाँको मौसम छिट्टै परिवर्तन हुन्छ। फेदीमा घाम लागे पनि चुचुरोमा हावा चल्ने, बादल लाग्ने र वर्षा हुने सम्भावना रहन्छ। कुहिरो लाग्दा बाटो हराउने डर हुने भएकाले हामीसँग नक्सा र कम्पास अनिवार्य हुन्छ। साथै, चट्टानी बाटोका लागि मजबुत ‘हाइकिङ बुट’ आवश्यक पर्छ। यो हिमाल प्रथम विश्वयुद्धमा ज्यान गुमाउने सैनिकहरूको सम्झनामा नेशनल ट्रस्टलाई उपहार दिइएको हुनाले यसलाई एक पवित्र युद्ध स्मारकका रूपमा पनि लिइन्छ।
यस वर्ष जमुना र म स्काफेल पाइकको यात्रामा निस्कँदैछौँ। आजको दिन निकै व्यस्त छ। म दिउँसो अफिस जान्छु र अफिसबाट झन्डै एक घण्टा सवारी चलाएर सोझै ग्रेटर रसमर नेपाली कम्युनिटी युकेको नयाँ वर्ष च्यारिटी कार्यक्रममा सरिक हुन्छु। कार्यक्रम सकेर फेरि अर्को घण्टा सवारी चलाएर घर फर्किँदा रातको १२ बज्छ। घर फर्केपछि म नयाँ वर्ष र च्यारिटी कार्यक्रमको समाचार तथा फोटोहरू एभेरेष्ट टाईम्समा प्रकाशन गर्छु। अध्यक्ष लिला सेलिङ मावो र उपाध्यक्ष उत्तर बहादुर गुरुङसँग लिएको अन्तरवार्ता जमुनाले सम्पादन गरेर राख्छिन्। सो अन्तरवार्ता सामाजिक सञ्जालमा सेयर गर्दा बिहानको तीन बज्छ र म बल्ल सुत्नका लागि ओछ्यानमा जान्छु।
झन्डै तीन घण्टाको छोटो तर गहिरो निद्रापछि म ब्युँझन्छु। आँखामा अझै अलि अल्छीपन बाँकी छ, तर मनमा इङ्गल्याण्डको सर्वोच्च शिखर चुम्ने एउटा छुट्टै जोस र उमङ्ग छ। जमुना मसँगै छिन्; उनले स्काफेल पाइकको यो चुनौतीपूर्ण यात्राका लागि आवश्यक सबै तयारी पहिले नै गरिसकेकी छिन्। उनले ब्याकप्याक, तातो कपडा, पदयात्राका सामग्री र खाजाका पोकाहरू व्यवस्थित रूपमा गाडीमा लोड गर्छिन्। हामी आफ्नो घरबाट निस्केर गन्तव्यतर्फ बाटो लाग्छौँ।
हाम्रो गाडी अब सडकमा गति लिइरहेको छ। विहानको शान्त वातावरण र चिसो सिरेटोले मलाई थप ताजा बनाउँछ। हामी ए ३४ (A34) हुँदै एम ४० (M40) को फराकिलो मार्गमा प्रवेश गर्छौँ। सडकको छेउछाउमा बेलायतको वसन्त ऋतु (Spring Season) को जादुमयी रूप स्पष्ट देखिन थालेको छ। हिउँदको कठ्याङ्ग्रिदो जाडो पछि रुखहरूमा भर्खरै पालुवा पलाउँदै छन्। खेतबारी र सडकका किनारहरूमा पहेंलो ‘ड्याफोडिल्स’, रातो र सेतो ‘गुराँस’ फुलेका छन्, जसले वसन्तको आगमनको बिगुल फुकिरहेका झैँ लाग्छ। यो दृश्य देख्दा लाग्छ, प्रकृतिले पनि हामीलाई यो यात्रामा साथ दिइरहेको छ।
हामी एम ६ (M6) मोटरवेमा पुग्दा सडकको व्यस्तता बढ्छ। जमुना र म बीच घर र अफिसका विविध विषयमा संवाद भइरहन्छ। हिजो रातीको त्यो व्यस्त च्यारिटी कार्यक्रम, समाचार सम्पादन, र अफिसको कामको थकानलाई यो खुला सडक र हरियालीले विस्तारै भुलाउँदै लगेको महसुस हुन्छ। जमुना आफ्नो भ्लग (Vlog) का लागि निकै उत्साहित छिन्। उनले गाडी चल्दै गर्दा बाहिरको मनमोहक दृश्य, टाढा देखिने पहाडी टाकुरा र वसन्तका रङ्गहरू आफ्नो क्यामेरामा कैद गरिरहेकी छिन्। उनी भन्छिन्, “हेर त, यो सिजनमा बेलायत कति जीवन्त देखिन्छ!” उनको यो सक्रियताले मेरो थकानलाई पनि ऊर्जामा बदलिदिन्छ।
हामी ए ५९० (A590) र त्यसपछि ए ५०९२ (A5092) को बाटो हुँदै लेक डिस्ट्रिक्टको मुटुतिर प्रवेश गर्छौँ। यहाँबाट दृश्यहरू झन् सुन्दर र ग्रामीण हुन थाल्छन्। फेरि ए ५९५ (A595) सँग जोडिँदै हामी स्मिती लेन (Smithy Ln) र सेला ब्रो (Sella Brow) को घुम्तीहरू पार गर्छौँ। अस्वेट बरो (Austhwaite Borough) र बोयर हाउस ब्याङ्क रोड (Bower House Bank Road) हुँदै अघि बढ्दा हामी सन्तान ब्रिज (Santon Bridge) स्थित हल फ्ल्याट (Hall Flat) र स्टेबल स्लट (Stable Slot) मा आइपुग्छौँ।
यहाँका दृश्यहरू वास्तवमै अलौकिक, सुन्दर र अतुलनीय छन्। पहाडका अग्ला भागहरूले आकाश छोए झैँ लाग्छ। साँघुरा र घुमाउरा सडकहरूमा गाडी चलाउँदा एउटा छुट्टै थ्रिल महसुस हुन्छ। डरलाग्दा र गहिरा खोँचहरूमा जमेको कुहिरो विस्तारै फाट्दै छ, र सुनौलो घामका किरणहरू पहाडका काला टाकुराहरूमा ठोकिँदा एउटा दिव्य चमक पैदा भएको छ। जमुनाले मलाइ सवारी रोक्न भन्छिन। हरेक मोडमा नयाँ र रोचक कुरा देख्छिन् र त्यसलाई तस्विरमा उतार्न कत्ति पनि ढिलो गर्दिनन्। उनी कहिले मेरो र उनको संवाद रेकर्ड गर्छिन् त कहिले सडक छेउका स-साना झरना र खोलाहरूको मधुर आवाज।
यतिखेर हामीले बुकिङ गरेको फ्ल्याटमा प्रवेश गर्छौं। बाहिरबाट जति सुन्दर देखिएको थियो, भित्र पसेपछि यो फ्ल्याट सोचेभन्दा पनि लोभलाग्दो लाग्छ। फराकिलो कोठा, आरामदायी सोफा बेड, सुविधायुक्त किचन र सफा बाथरुम देख्दा यात्राको आधा थकान मेटिए झैँ महसुस हुन्छ। हामी भर्खर सुस्ताउन के खोज्दै थियौँ, घरबेटी मारियाले ढोकामा ‘नक’ गर्छिन्। मारिया निकै हँसिली र फर्सिली छिन्। उनले हामीलाई आफ्नो घरको गार्डेन, रुफटप र छेवैमा रहेको भेडा फार्म देखाउँछिन्। वसन्तको बेला भएकाले गार्डेनमा नयाँ पालुवा र फूलहरू मुस्कुराइरहेका छन्। हामी केहीबेर गार्डेन र भेडाको फार्म घुमेर प्रकृतिको आनन्द लिन्छौँ र बेलुकीको खाना खाएपछि भोलिको मुख्य आरोहणका लागि आराम गर्न जान्छौँ।
भोलिपल्ट बिहान ठीक ६ बजे हाम्रो आँखा खुल्छ। बाहिर झिसमिसे उज्यालो हुँदैछ। मनमा एउटा छुट्टै उत्साह र शरीरमा नयाँ ऊर्जा बोकेर हामी स्काफेल पाइकको लागि बाटो लाग्छौँ। गाडीमा झन्डै आधा घण्टाको यात्रापछि हामी ‘वास्डेल हेड’ (Wasdale Head) कार पार्कमा आइपुग्छौँ। यो ठाउँ इङ्गल्याण्डको सबैभन्दा गहिरो ताल ‘वेस्टवाटर’ को काखमा छ र यहाँबाट हेर्दा पहाडहरू निकै विशाल देखिन्छन्। गाडी पार्क गरेपछि हामी केही बेर शरीरलाई ‘वार्म अप’ गर्छौँ र ७ बजे हाम्रो पैदल यात्रा विधिवत् रूपमा सुरु हुन्छ।
सुरुवातमा मौसम निकै सुन्दर र शान्त छ। हामी उकालो बाटो समात्छौँ। बाटोको छेउमा कलकल बग्ने खोला र साना फार्मका गेटहरू पार गर्दै हामी अघि बढ्छौँ। खोलाको तिरैतिर ढुङ्गाले भरिएको उकालो बाटो छ। हरेक पाइलामा ढुङ्गाको सिंढी चढे झैँ महसुस हुन्छ। जमुना निकै फुर्तिली देखिन्छिन्; उनी कहिले खोलाको दृश्य त कहिले पहाडको खोंचलाई आफ्नो क्यामेरामा कैद गर्छिन्। हामी बीच-बीचमा रोकिँदै फोटो खिच्छौँ र भिडिओ रेकर्ड गर्छौँ। जति माथि जान्छौँ, दृश्यहरू उति नै भव्य हुँदै जान्छन्, तर बाटो उत्तिकै कठिन र चट्टानी हुँदै जान्छ।
झन्डै तिन घण्टा १५ मिनेटको निरन्तर संघर्ष र पसिना बगाएपछि हामी अन्ततः इङ्गल्याण्डको सर्वोच्च शिखर, स्काफेल पाइकको चुचुरोमा पुग्छौँ। तर चुचुरोमा पुग्ने बित्तिकै मौसमले आफ्नो उग्र रूप देखाउन थाल्छ। अचानक शक्तिशाली हावाहुरी चल्न थाल्छ र झरी पर्न सुरु हुन्छ। ९७८ मिटरको उचाइमा चिसो हावा र वर्षाले हाम्रो शरीरलाई चुनौती थप्छ। ढुङ्गाहरू चिप्लो भएका छन् र कुहिरोले गर्दा केही मिटर परको दृश्य पनि धमिलो देखिन्छ। तर त्यो प्रतिकूल मौसमका बीच पनि इङ्गल्याण्डको सबैभन्दा अग्लो बिन्दुमा उभिनुको गौरव र खुसी बयान गरिसाध्य छैन। हामी त्यहाँको ठूलो ‘बल्डर फिल्ड’ र युद्ध स्मारकको नजिक पुगेर यो ऐतिहासिक क्षणलाई कैद गर्छौँ।
केही समय चुचुरोको अनुभव लिएपछि हामी ओरालो झर्न सुरु गर्छौँ। ओरालो बाटो पनि उत्तिकै होसियारीपूर्वक पार गर्नुपर्ने छ। झर्दै गर्दा बाटोमा अचानक एउटा सुखद जम्काभेट हुन्छ। हामीले नवीन सुब्बा भान्जा र उनका साथीहरूलाई भेट्छौँ। यो दुर्गम र विकट पहाडको बीचमा आफ्नै मान्छेलाई भेट्दा निकै खुसी लाग्छ। हामी बीचमा केही बेर कुराकानी हुन्छ, हामीले एक-अर्काको यात्राको सफलताको कामना गर्छौँ र यो अविस्मरणीय भेटलाई फोटोमा सुरक्षित गर्छौँ।
ओरालो झर्ने क्रममा बादलहरू विस्तारै फाट्दै जान्छन् र पुन: वेस्टवाटर तालको नीलो पानी टाढाबाट देखिन थाल्छ। पहाडका खोँचहरूबाट झरेका साना झरनाहरू र वसन्तको हरियालीले हाम्रो थकानलाई शीतल बनाइदिन्छ। माथि चुचुरोको त्यो हुरी र वर्षा, बीच बाटोको त्यो उकालो, र फेदीमा देखिने शान्त प्रकृति, यी सबै दृश्यहरू हाम्रो मानसपटलमा एउटा सुन्दर चलचित्र झैँ घुमिरहेका छन्। अन्ततः हामी सुरक्षित रूपमा फेदीमा आइपुग्छौँ। यो यात्रा केवल एउटा पहाडको आरोहण मात्र नभएर, जमुना र मेरो लागि एउटा नयाँ अनुभव, आपसी सहकार्य र बेलायतको प्राकृतिक सुन्दरतालाई नजिकबाट चिन्ने एउटा सुनौलो अवसर बनेको छ। अहिले हामी थकित त छौँ, तर मनमा एउटा ठूलो सफलताको सन्तुष्टि छ।
हाम्रो देश प्राकृतिक सम्पदाले निकै धनी छ। यहाँका अग्ला हिमाल, नीलो आकाशलाई चुम्न खोज्ने चुचुरा, कञ्चन बग्ने नदीनाला र शान्त तालहरूले जोकोहीको मन लोभ्याउँछन्। यति हुँदाहुँदै पनि, एउटा नमीठो सत्य के छ भने हामीले हाम्रा यी अमूल्य र मनोरम दृश्यहरूलाई विश्वसामु र आफ्नै देशका जनतामाझ पनि उचित रूपमा चिनाउन सकेका छैनौँ। पर्यटकीय सम्भावनाका हिसाबले हामी एउटा सुनको खानीमाथि बसेका छौँ, तर त्यसको सही उपयोग र बजारीकरणमा भने हामी पछि परेका छौँ।
कुनै पनि ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न केवल प्राकृतिक सुन्दरता मात्र पर्याप्त हुँदैन। आजको युगमा पर्यटकहरूले प्राकृतिक आनन्दसँगै आधारभूत सेवा र सुविधाहरू पनि खोज्छन्। यदि हामीले हाम्रा ताल, टाकुरा र हिमालहरूलाई निश्चित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हो भने सबैभन्दा पहिले भौतिक पूर्वाधारमा लगानी गर्नुपर्छ।
पहिलो र मुख्य आवश्यकता भनेको सडक पूर्वाधार हो। दुर्गम र सुन्दर स्थानहरूसम्म पुग्न सुरक्षित र भरपर्दो सडक सञ्जाल भएमा मात्र पर्यटकहरूको आवागमन बढ्छ। सडकसँगै बिजुली र सञ्चारको व्यवस्था हुनु उत्तिकै जरुरी छ। दुर्गम पहाडको फेदीमा बसेर पनि बाह्य संसारसँग जोडिन पाउँदा पर्यटकहरूले सुरक्षित र सहज महसुस गर्छन्। त्यसैगरी, स्वच्छ पिउने पानी र सरसफाइको उचित प्रबन्धले त्यस क्षेत्रको छवि राम्रो बनाउँछ।
पूर्वाधारपछि अर्को महत्त्वपूर्ण पक्ष भनेको खानपिन र बसोबास हो। स्थानीय स्तरमा अर्गानिक र स्वादिलो नेपाली खानाका साथै सफा र व्यवस्थित होमस्टे वा होटलहरूको व्यवस्था गर्न सके पर्यटकहरू लामो समयसम्म बस्न रुचाउँछन्। जब पर्यटकहरू कुनै ठाउँमा पुग्छन्, त्यहाँका स्थानीय उत्पादनहरू बिक्री हुन्छन्, जसले गर्दा स्थानीय जनताको आर्थिक विकासमा प्रत्यक्ष टेवा पुग्छ। स्थानीय कला, संस्कृति र हस्तकलाका सामग्रीहरूले पनि राम्रो बजार पाउँछन्।
हामीले बेलायतको ‘लेक डिस्ट्रिक्ट’ वा ‘स्काफेल पाइक’ जस्ता ठाउँहरूबाट धेरै कुरा सिक्न सक्छौँ। त्यहाँको सरकार र स्थानीय निकायले सडक, पदमार्ग र सुरक्षाको यति राम्रो व्यवस्था गरेका हुन्छन् कि मानिसहरू ढुक्क भएर यात्रा गर्छन्। हामीले पनि हाम्रा सुन्दर गन्तव्यहरूमा यस्तै योजनाबद्ध विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकहरूको ताँती लाग्ने निश्चित छ।
अन्ततः, हाम्रा प्राकृतिक सम्पदाहरूलाई केवल हेर्ने वस्तुमा मात्र सीमित नराखी तिनलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ। जब राज्यले पूर्वाधार बनाउँछ र स्थानीय जनताले आतिथ्य प्रदान गर्छन्, तब मात्र हाम्रो देशको पर्यटनले नयाँ उचाइ लिनेछ। यसले केवल रोजगारी मात्र सिर्जना गर्दैन, बरु हाम्रा गौरवमय हिमाल र नदीहरूको गरिमालाई विश्वस्तरमा अझ उँचो बनाउनेछ।






