रुपन्देही : राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बुद्धजन्मस्थलमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र तथा ध्यान हलको अवलोकन गरेकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औँ स्थापना दिवसका अवसरमा लुम्बिनीमा भएको विशेष समारोहमा सरिक हुन आएका राष्ट्रपति भण्डारीले कार्यक्रमपश्चात् निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रको अवलोकन गरी त्यसबारे जानकारी लिएकी हुन् ।
पाँच हजार क्षमताको सम्मेलन केन्द्र तथा ध्यान हलको दुई वर्षअघि बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति आफैंले शिलान्यास गरेकी थिइन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले योजना समयमा सम्पन्न हुने नहुनेमा चासो राखेकाी थिइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले योजना समयमै सम्पन्न गर्नेतर्फ विकास कोष प्रतिबद्ध भएर लागेको बताउँदै समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय र निमित्त सदस्यसचिव सरोज भट्टराईले लुम्बिनीको गुरुयोजना तथा सम्मेलन केन्द्र तथा लुम्बिनीमा भइरहेको कामबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । निमित्त सदस्यसचिव सरोज भट्टराईले आगामी २ वर्षमा सभाहल निर्माण सम्पन्न हुने जानकारी गराए । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायत कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एशियाकै नमूना सभाहल बनाउन लागेको हो सभाहल निर्माणका लागि झण्डै रु ३२ करोड खर्च लाग्ने विकास कोषले जनाएको छ ।






