तस्बिर : दिलमाया गुरुङ
लन्डन । तमु धीं युकेको आयोजनामा आज आइतबार बेलायतमा ‘गोर्खा कप २०२६’को २४ औं संस्करण हुँदैछ ।
अल्डरसटस्थित क्वीन्स एभिन्यू आर्मी मैदानमा गोर्खा कप फुटबल प्रतियोगिता हुन लागेको हो । यस वर्षको गोर्खा कपमा मुख्य टिमतर्फ ३८, भेट्रानतर्फ १६ र महिलातर्फ २ गरी जम्मा ५६ टिमले सहभागिता जनाउने छन्। प्रतियोगितामा करिब २० हजार दर्शकको उपस्थिति रहने र ४ हजार सवारी साधन भित्रिने अनुमान गरिएको छ।
पुरस्कार मुख्य टिमतर्फ विजेतालाई ३ हजार ५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, रनर अपले २००० पाउण्ड, भेट्रान टिम वीनरले १८०० पाउण्ड एवं रनरअपलाई १२०० पाउण्ड साथै महिला टिम वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउने उनले बताए । गत वर्ष जस्तै लिजेन्ड अफ द गोर्खा कप’ उपाधि पनि दिइने भएको छ ।
गोर्खा कपमा करिब ३ लाख ५० हजार पाउन्ड खर्च हुने अनुमान गरिएको छ। खेलकुद सचिव क्याप्टेन दिपक घलेका अनुसार आम्दानीतर्फ सवारी साधन शुल्क (बसका लागि १५ पाउन्ड र कारका लागि ५ पाउन्ड) तथा दर्शक प्रवेश शुल्क ३ पाउन्ड तोकिएको छ।
मेलामा रहने कुल १२६ वटा स्टलहरूमध्ये निश्चित स्टलहरूबाट व्यापारिक शुल्क लिइनेछ। खेलमा सहभागिताका लागि मुख्य र भेट्रान टिमका लागि प्रतिटिम ३५० पाउन्ड तथा महिला टिमका लागि ३०० पाउन्ड दर्ता शुल्क निर्धारण गरिएको थियो ।






