नुवाकोट (घलेभन्ज्याङ)। पञ्चकन्या गाउँपालिकामा आन्तरिक रोजगार प्रवर्द्धन, सीप, उद्यमशीलता तथा आर्थिक विकास सम्बन्धी संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पञ्चकन्या गाउँपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको आयोजनामा अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन अध्यक्ष तामाङले गमलामा बुद्धचित्तको बिरुवा रोपेर गरेका थिए, जसले हरित विकास, आत्मनिर्भरता तथा समृद्धिको सन्देश प्रवाह गरेको पालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, नेपाल सरकारका शाखा अधिकृत तथा पञ्चकन्या गाउँपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, सामाजिक सुरक्षा कोषका वित्त अधिकृत शान्ता थापा, रुडेक नेपालका मिनकुमार केसी तथा कोसिस नेपालकी सपना सुवेदीलगायतले आन्तरिक रोजगार, सीप विकास, उद्यमशीलता, सामाजिक सुरक्षा तथा आर्थिक विकासका विविध विषयमा सहजीकरण गरेका थिए ।
त्यसैगरी सबैको प्रतिनिधित्व गर्दै वडा अध्यक्ष रामशरण श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत हिराधन राईले स्थानीयस्तरमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र आर्थिक विकासका सम्भावनाबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सबै वडा अध्यक्षहरु, कार्यपलिका सदस्य, गाउँसभा सदस्य, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार नागरिक, पञ्चकन्या गाउँपालिकाका शाखा प्रमुख, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय स्रोत, सीप र अवसरलाई अधिकतम उपयोग गरी आन्तरिक रोजगार वृद्धि, उद्यमशीलता विकास र समृद्ध पञ्चकन्या निर्माण गर्ने साझा प्रतिबद्धतासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।






