तीर्थ भट्टराई
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो ।

समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाललगायत सांसद अनिलकुमार झा, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी, देवप्रसाद तिमल्सेना सहभागी थिए । टोलीमा सेनाका आयोजना प्रमुख योगेन्द्रबहादुर खाँड, उपरथी प्रभुराम शर्मा, समितिका सचिव वंशीराज पौडेल, विभिन्न मन्त्रालयका प्रतिनिधि, पत्रकारलगायत २५ जना सामेल थिए ।
काठमाडौँबाट निजगढसम्म हेलिकप्टरमा गएको टोलीले निजगढको जिरो किमीदेखि मोहोरीसम्म गाडीमा स्थलगत भ्रमण गरेको थियो । त्यहाँ सेनाका मेजर राजेशकुमार देवले आयोजनाको कामबारे जानकारी दिएका थिए । सो क्याम्पअन्तर्गत १० किमी क्षेत्रमा कटिङ तथा फिलिङको काम भइरहेको उनले जानकारी दिए । उनले कटिङ गरेपछि पहिरो जाने समस्याले केही अवरोध सिर्जना भइरहेको बताए । सो अवसरमा स्थानीयवासी रविराज दङ्गालले द्रुतमार्ग बन्दा स्थानीय जनता खुशी रहेको तर ढिलासुस्ती होला कि भन्ने चासो रहेको बताए । उनले स्थानीयवासीलाई रोजगारी र स्थानीय साधन स्रोत प्रयोग होस् भन्ने धारणा राखे । नेपाली काङ्ग्रेसका महासमिति सदस्य मीना लामाले सेनाले गरेको काम छिटो भएको छ, सेनाले विश्वास आर्जन गरेको छ भन्दै सेनालाई नै काम दिएमा द्रुतमार्गको काम छिटो हुने बताए ।
सेनाको अर्को क्याम्प मकवानपुरको बकैया गाउँपालिका, राजदमारमा सेनाको निर्माण कार्यदल प्रमुख महासेनानी पुरुषोत्तम कार्कीले सो क्याम्पअन्तर्गत आठ किमीमा पुलबाहेक फिलिङको काम तहतहमा भइरहेको जानकारी दिए । कल्भर्टको काम पुस १५ सम्ममा सकिने र पुल भने अर्को वर्षदेखि शुरु हुने बताउनुभयो । उहाँले कान्ति राजपथलाई बचाउन डब्लु डाँडामा सुरुङ प्रस्ताव गरिएको पनि बताए । राजदमारका स्थानीयवासी रामकुमार थिङ र राजन दङ्गालले सो स्थानमा धरान–चतरा हुँदै मदन भण्डारी लोकमार्ग पनि जोडिने भएको र सरकारले इन्टरचेन्जका लागि जग्गा अधिग्रहण गरिसकेकाले इन्टरचेन्ज सोही स्थानमा बन्नुपर्ने बताए ।
रामेछापमा जन्मी ३८ वर्षदेखि सो स्थानमा बस्दै आउनुभएका ८० वर्षीय दण्डपाणी दाहालले यो बाटो आफ्नै पालामा बन्ने हो कि होइन भनी आशङ्का व्यक्त गर्नुभएको थियो भने पूर्व प्रधानमन्त्री खनालले अब यो बाटो चाँडै बन्छ, केही वर्षमै तपाईं गाडी चढेर काठमाडौँ पुग्न सक्नुहुन्छ भनेर आश्वस्त बनाएका थिए ।
सेनाको अर्को क्याम्प मकवानपुरको बुदुनेमा त्यहाँका प्रमुख प्राविधिक सेनानी अरविन्द श्रेष्ठले २०७४ साउन १९ देखि सो क्याम्प स्थापना भई डिजाइनअनुरुप काम भइरहेको र त्यस क्षेत्रमा ११ वटा पुल बन्ने जानकारी दिए ।
स्थानीयवासी हेटौँडा उपमहानगरपालिका, एक्लेखेतका बाबुराम न्यौपानेले इन्टरचेन्ज (लिंक रोड जोडिने ठाउँ) अन्यत्र राख्ने चर्चा भइरहेको छ तर हेटौँडाको सडक स्थानीय जनतालाई सुविधा हुने गरी गाउँको बीचबाटै ल्याई यहाँ इन्टरचेन्ज राखिनुपर्ने बताए ।






