नगेन्द्र नेम्वाङ
शारीरिक र मानसिक रुपमा स्वस्थ र आनन्द प्राप्तिका लागि स्वस्थकर भोजन नियमित व्यायाम, गहन आरामको आवश्यकता पर्दछ ।
हाम्रो शरीरलाई गहन आरामबाट शरीरलाई लाभ पाउनका लागि गाढा निद्रा लाग्नु पर्दछ । लामो समयसम्म अनिन्द्राको समस्या रहेमा उच्च रक्तचाप, मधुमेह, मुटुको रोग, मोटोपन, डिप्रेशन जस्ता रोगहरु लाग्ने संभावना हुने विज्ञहरु बताउँछन् ।
अनिन्द्राको समस्याबाट बच्ने केही उपायहरुः
सुत्नुअघि सुखद कल्पनाः सुत्नु अगाडि गरिने सुखद कल्पनाले २० मिनेट छिटो निद्रा लाग्ने तथ्यांक अक्स्फोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले अघि सारेका छन् । नकारात्मक विचारबाट पीडित हुने मस्तिष्कलाई सुत्न गाह्रो हुन्छ भने सुखद् कल्पना गर्नाले त्यस्तो विचार आफै विस्थापित भई छिटो निन्द्रा लाग्छ ।
अनिद्र र टिभी
सुत्नु केही घण्टा अघि नै टिभी अथवा कम्प्युटर बन्द गरिएन भने अनिन्द्राले गाँज्ने गर्दछ । राती १० बजे तिरबाट हाम्रो शरीरमा मेलाटोनिन नामक सुताउने हार्मोन उत्पादन हुन थाल्छ तर कम्प्युटर र टिभीबाट निस्कने निलो रंगले मेलाटोनिनलाई क्रियाशील हुन दिदैन । अनिन्द्राको समस्या देखा पर्न थाल्छ भन्छन् डा. जोन ई रोवर्टस ।
व्यायाम र निद्रा सँगसँगै
बिहान व्यायामको कक्षा भ्याउनलाई निन्द्रा बिगारेर उठ्न आवश्यक छैन । किनभने सुताई पुगेन भने व्यायाम मात्रले स्वस्थ बनाउन सक्दैन । नियमित व्यायाम गर्नेहरुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
यसले क्यान्सर हुने संभावनालाई समेत घटाउँछ । तर व्यायामको साथसाथै दैनिक ७–८ घण्टा सुत्न जरुरी मानिन्छ ।
बिछ्यौनाको छनौट
भनिन्छ बिछ्यौना किन्न सकिन्छ तर मिठो निन्द्रा किन्न सकिदैन । तर बिछ्यौना छान्न गल्ती भयो भने निन्द्रा पनि खोसिन सक्छ ।
धेरै नरम वा लचिलो बिछ्यौनाले मेरुदण्डलाई नराम्रो असर गर्दछ भने धेरै कडा बिछ्यौनाले पनि यसलाई खराव नै गर्छ । तसर्थ भित्रबाट कडा र माथितिरबाट नरम भएको ओछ्यानमा सुत्न लाभदायक मानिन्छ ।
घुर्ने बानी
सुतेको बेला घुर्ने बानी कतिको झ्याउ लाग्दो हुन्छ भन्ने कुरा राती घुराई सुन्नेहरुलाई मात्र थाहा हुन्छ । स्वीडेनका अनुसन्धानकर्ताहरुले लगभग १५ हजार मानिसमाथि अध्ययन गरी के पत्ता लगाएका छन् भने जो मान्छे धुम्रपान गर्नेको नजिकै बस्छ । उसलाई घुर्ने रोग बढी लाग्ने गर्दछ । धुम्रपान गर्नु मात्र खराब हैन । धुम्रपान गर्नेको छेउमा बस्न पनि खतरा हुन्छ ।
दिउँसोको सुताई हानिकारक वा लाभदायक
दिनमा निन्द्रा लागेमा दैनिक १५–२० मिनेट दिउँसो उँघ्नु मानसिक र शारीरिक रुपमा फाईदाजनक नै भएको वैज्ञानिकहरुले बताउँछन् ।
दिउँसो झप्को लिनु भनेको के तरुण के बुढा सबैलाई लाभदायक मानिन्छ । यसले शरीर र मन दुवैलाई तरोताजा पार्दछ ।