नगेन्द्रराज नेम्वाङ ‘वागिस’
योगको अर्थ प्रकृतिसँग जोडिनु, ध्यानको अर्थ चञ्चल मनलाई नियन्त्रणमा ल्याई मन एकाग्र गरी आनन्द प्राप्त गर्नु हो । कुनै पनि चिज प्राप्त गर्नका लागि गरिने कार्यलाई निरन्तर दिनुलाई साधना भनिन्छ ।
जीवनमा सबै मान्छे सफल हुन चाहन्छौं । सफल हुनुको पहिलो आधार स्वास्थ्य नै मानिन्छ । स्वास्थ्य राम्रो छ भने जे पनि गर्न सकिन्छ । स्वास्थ्य खराब भै दियो भने शिक्षा र सम्पत्तिको उपयोग गर्न सकिन्न ।
जीवनसँग तीन चीज जोडिएर आएको हुन्छ । शरीर, मन र आत्मा । यी तीनै चिज बाँची रहनका लागि आ–आफ्ना खुराक हुन्छन् । शरीरको खुराक भनेको अर्थात शरीरलाई नभई नहुने चीज भनेको अन्न, पानी, हावा, व्यायाम, आराम हो । मनको खुराक भनेको नयाँ खबर, नौलो दृश्य, नयाँ ठाउँ, मनोरञ्जन र गीत संगति हुन् । र, सबै चीज प्राप्त भएर पनि आत्मा बोधको पनि आवश्यकता पर्दछ । आत्मबोध हुनका लागि आत्मज्ञान चाहिन्छ । आत्म ज्ञानको लागि असल गुरुको संगतका साथसाथै निरन्तर ध्यान, साधना र जीवन दर्शनको अध्ययन गर्नु पर्दछ ।
मन र आत्मालाई थाँती राखेर शरीरकै चर्चा गरौं । शरीरलाई अन्न, पानी, हावा त पाइरहेकै छ । हामीले स्वास्थ्य जोगाउन नसक्नुको मुख्य कारण भनेको व्यायाम गरिरहेको हुँदैनौं । आधुनिक समयानुसार आधुनिक जीवन विताउनका लागि भौतिक सुविधाहरु हाम्रा अगाडि थुप्रिदिंदा व्यायाम गर्न भुलेका हुन्छौं । कतिपयलाई व्यायाम गर्ने इच्छा भएता पनि ठाउँ र समयले साथ दिँदैन । व्यायामको आभावमा शरीरले खेप्नु पर्ने पीडाहरु, अल्छिपन, मोटोपन, अपच, मानसिक रुपमा अनिद्रा, चिन्ता, डर र त्रास नै हुन्
।
व्यायाम आफ्ना उमेर अनुसार धेरै किसिमका हुन्छन् । सामूहिक खेलहरु, भलिबल, फुटबल, व्याडमिन्टन, पौडी खेल्नु, दौड, फटाफट हिडाईबाट शरीरलाई रोग लाग्नुबाट बच्न सकिन्छ । योग आशनको कुरा गर्नुपर्दा योगमा उमेरको भिन्नता हुँदैन, बच्चादेखि तरुण हुँदै बृद्ध अवस्थासम्मको उमेरले पनि योग आशनबाट फाइदा लिन सकिन्छ । योगाभ्यासमा शरीरको प्रत्येक अंगहरुलाई नछुट्याईकन व्यायाम गर्ने भएकोले अरु व्यायामभन्दा बढी फाइदा लिन सकिन्छ । व्यायामले शरीरको लचकता बढाउँछ । मोटोपन हुनबाट जोगाउँछ । अल्छिपन हटाई जागरुक बनाउँछ । पाचन प्रणाली मजबुत बनाई खाएको खाना सजिलै पच्ने गर्दछ ।