सुरेन्द्र इङ्नाम
केन्ट, बेलायत । किरात याक्थुङ चुम्लुङको आयोजनामा ११ औँ यलम्बरहाङ् कप सम्पन्न भएको छ ।
सदाको वर्षहरु जस्तै यस वर्ष पनि किरात याक्थुङ चुम्लुङले गत २१ अप्रील २०१८ को दिन बेलायतको फेल्थाममा आयोजना गरेको फुटबल प्रतियोगितामा मेन टिममा २४ सहभागी थिए भने भेटरेन र सुपर भेटरेनमा ८, ८ र २ महिला टिमहरुले भाग लिएका थिए ।
खेलको अध्यक्षता चुम्लुङको वर्तमान केन्द्रीय अध्यक्ष दिलसिङ मेन्याङ्बोले गरेका थिए । प्रमुख अतिथि जनजाति महासंघ बेलायतका वर्तमान अध्यक्ष जङ्ग सुनुवार र अतिथिहरुमा याक्खा चुम्बाका वर्तमान अध्यक्ष धन रोघु, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास अन्य सङ्घ संस्थाका प्रतिनिधिहरु साथै खेलका पुरस्कार प्रायोजकहरु रहका थिए ।
आयोजक ‘किरात याक्थुङ् चुम्लुङ” का अध्यक्ष दिलसिङ मेन्याङ्बोले गोल किक गरेर फुटबल खेलको उद्घाटन गरेपछि ५ वटा खेल मैदानहरुमा मेन टिम, महिला टिम भेटरेन, सुपर भेटरेन र महिला टिमहरुको पहिलो खेल बिहानको १० बजे सुरु भएकोे थियो ।
२३ टिमलाई पछि पार्दै ‘पीएएफसी” ले शिल्ड साथै १३ सय पाउन्ड हात पारेको थियो । बेस्ट प्लेयरमा विशाल तामाङ र ८ गोल गरेर टप स्कोररमा प्रणय गुरुङ भए । सो टिमको लागि ट्रफी प्रायोजन याक्थुङ माङ्गेना चुम्लुङले गरेका थिए भने बेस्ट प्लेयर र बेस्ट स्कोररको ट्रफी क्रमश: बमबहादुर लिम्बू र दील ईवारमले प्रायोजन गरेका थिए । रनर अप टिम मंगोलियन भान्जाले ६ सय पाउन्डसहित रनर अपको शिल्ड पाएका थिए । यस टिमको लागि ट्रफी प्रायोजन श्रीप्रसाद लिम्बूले गरेका थिए ।
त्यस्तै भेटरेनतर्फ ‘ब्रिगेड बाईज”ले शिल्डसहित ६ सय पाउन्ड हात पारेको थियो । सो टिमको लागि ट्रफी प्रायोजन तीलविक्रम सम्दाहाङ्फेले गरेका थिए भने बेस्ट प्लेयर र टप स्कोररको ट्रफी क्रमश: धन काम्बाङ र गणेश ईजामले प्रायोजन गरेका थिए ।
रनअप टिम पोखरा युनाइटेड ३५० पाउन्डसहित रनर अप शिल्ड पाएको थियो । सो टिमको लागि ट्रफी प्रायोजन महेन्द्र लिम्बूले गरेका थिए । भेटरेनतर्फ बेस्ट प्लेयरमा सुरेश गुरुङ भएका थिए भने ५ गोल हानेर लील गुरुङ टप स्कोरर भएका थिए ।
सुपर भेटरेनमा सबै टिमहरुलाई जितेर ‘एफ्सी केन्ट, गोर्खा भेटरेन” ले शिल्डसहित ६ सय पाउन्ड हात पारेको थियो । साथै धन गुरुङ बेस्ट प्लेयर भएका थिए । सो टिमका लागि ट्रफी प्रयोजन चित्राज लिम्बूले साथै बेस्ट प्लेयरको ट्रफी बिमला सेनेले गरेका थिए । ‘युनाइटेड एफ्सी”ले ३५० पाउन्डसहित रनर अप भयो र सो टिमका लागि लोकेन्द्र तबेबुङले ट्रफी प्रयोजन गरेका थिए । साथै ६ गोल हानेर ओम गुरुङ टप स्कोरर भएका थिए र टप स्कोररको ट्रफी भने विश्वासदीप तिगेलाले प्रायोजन गरेका थिए । प्रोत्साहनस्वरुप २ महिला टिमहरुले खेलेका खेलमा चुम्लुङ महिला कमिटी विजयी भएको थियो । कृष्टिना मेन्याङ्बो बेस्ट प्लेयर र बेस्ट स्कोरर भएका थिए । सो टिमका लागि दिलसिङ मेन्याङ्बोले ट्रफी प्रायोजन गरेका थिए ।
रनर अप टिम चुम्लुङ महिला कमिटी थोरोक भएको थियो । रनर अप टिमको लागि भीम बोखिमले ट्रफी प्रायोजन गरेका थिए भने बेस्ट प्लेयर र टप स्कोररको ट्रफी क्रमश: नरवीर आङ्बो र दीपेन्द्र यक्सोले प्रायोजन गरेका थिए ।
चुम्लुङ युकेको निर्देशनमा संथाका सहकोषाध्यक्ष दीपेन्द्र यक्सो र सहमहासचिव नरवीर आङ्बो कोर्डिनेटरको रुपमा खटिएका थिए ।
प्रतियोगितामा पुरस्कार वितरणपछि खेल अति नै भब्यका साथ सफल भएको प्रमुख अतिथि जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारले बताए । त्यसपछि केन्द्रीय अध्यक्ष दिलसिङ मेन्याङ्बोले खेल सकिएको औपचारिक घोषणा गरेका थिए ।
बिहान १० बजेबाट सुरु भएर साँझ ७ बजे सकिएको खेलको औपचारिक कार्यक्रम सचिव विश्वासदीप तिगेलाले सञ्चानल गरेका थिए ।


