एटा संवाददाता
लन्डन । दक्षिण एशिया (सार्क) कै नमुना गाउँको रुपमा परिचित लमजुङ जिल्लाको घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा विकास गर्ने भएको छ । सो अभियानलाई बेलायतवासी लमजुङेहरुले सहयोग गर्ने उद्देश्य अनुरुप नेपाली चलचित्र बलेनीको प्रदर्शन भएको छ । गत शनिबार १६ मार्च बेलुकी अल्डरसटस्थित एम्पायर हलमा सो चलचित्र प्रदर्शन गरिएको हो ।
घलेगाउँ आफैमा अत्यन्त सुन्दर गाउँ हो । गुरुङहरुको भाषा, कला, संस्कार र संस्कृतिले भरिएको ग्रामीण पर्यटकीय गाउँ हो । र, त्यहाँको सुन्दरताकै कारण दक्षिण एशियाकै नमुना गाउँको रुपमा आफूलाई उभ्याउन सफल गाउँलाई सरकारले स्मार्ट भिलेजको रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । सो अभियानलाई साकार पार्न र घलेगाउँमा फुटबल खेल मैदान बनाउन बेलायतवासी नेपालीहरुले चलचित्र बलेनी हेरेर साथ दिएका छन् ।
गुरुङ भाषाको गीत समेत रहेको चलचित्रको छायांकन, गीत, संगीत लगायत प्राविधिक पक्ष समेत राम्रो रहेको दर्शकहरुको भनाइ थियो । चलचित्र प्रदर्शनपूर्व गीतकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङले चलचित्र प्रदर्शनको उद्देश्य र चलचित्रको बारेमा जानकारी गराएका थिए ।
घलेगाउँलाई स्मार्ट भिलेज बनाउन बिशेष सहयोग गर्ने पवित्र उद्देश्यका साथ प्रदर्शनलाई गीतकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङले प्रमुख संयोजक, तेक्वन्दो एशोसियशनका महासचिव नवराज घले र तमु प्ये ल्हु संघ युकेका उपाध्यक्ष रणबहादुर गुरुङले संयोजकमा रहेर विशेष भूमिका निभाएका थिए ।
कृष्ण कुमार गुरुङको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्र हङ्गकङ्ग निवासी मास्टर गणेश गुरुङ, देव गुरुङ, दुर्गा घोताने र मिन गुरुङले निर्माण गरेका हुन् । नेपालको ग्रामीण क्षेत्रमा भएका र हुनसक्ने कथा वस्तुलाई समेटेर बनेको चलचित्रमा गमन घले, सपना गुरुङ, भुपाल गुरुङ, दिलमाया गुरुङ, पशुपति खाँड, रामबहादुर गुरुङ, क्याप्टेन लोक गुरुङ, लीलबहादुर गुरुङ, सनम गुरुङ, गजेन्द्र गुरुङ, रतिका गुरुङ, मुस्कान गुरुङ, शक्ति गुरुङ, तारा गुरुङ, इन्दु मल्ल र गौरी गुरुङलगायतको जोडदार अभिनय रहेको छ ।
दर्शकहरुको उल्लेखनीय उपस्थिति नरहेता पनि विभिन्न व्यक्तिहरुको आर्थिक सहयोग गरेको प्रमुख संयोजक गुरुङले जानकारी दिए । साथै, दर्शकहरुलाई खानाको समेत व्यवस्था गरेका थिए ।