काठमाडौँ । सर्वोच्च अदालतले पोखराको फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आइतबार फेवातालमा अतिक्रमण गरिएका बारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारका नाममा आदेश दिएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।
उनका अनुसार आदेशमा पार्कभिलेज होटेल बनाएको फेवाताल अतिक्रमण गरेको छ कि छैन र होटलबाट निस्किएका फोहरले फेवाताललाई प्रदूषण गरेको छ कि छैन भनेर अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारलाई भनिएको छ ।
जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय र वन तथा वातावरण मन्त्रालयको समिति गठन गर्न आदेशमा भनिएको छ ।
सोही आदेशमा फेवाताल अतिक्रमण गरिएका संरचनासमेत हटाउन भनिएको छ ।
सहप्रवक्ता कालाखेतीले समितिलाई यथाशीघ्र प्रतिवदेन बुझाउने समेत आग्रह गरिएको छ ।
विसं २०६८ असार २३ गते अधिवक्ता खगेन्द्र सुवेदीले पार्कभिलेज होटेलले फेवाताल अतिक्रमण गरी भवन बनाएको भन्दै उक्त होटेलको दर्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।


