मोहन गोले तामाङ
मलाई एकजना पत्रकारले आज सोध्यो- बुद्ध धर्म जनजातिले मान्ने धर्म हो ? अनि फेरि लगत्तै सोध्यो- बुद्ध इन्डियामा जन्मेको पनि भन्छन नि ? पत्रकार महोदयको दरिद्र प्रश्न सुनेर एकछीन घोत्लिन बाध्य भए । मनमनै सोचे, हाम्रो समाजले बुद्ध जस्तो ज्ञानको भण्डारलाई तेरो र मेरो भनेर बिभाजन गरेको रहेछ र पो हाम्रो यो हविगत भएको रहेछ । बुद्ध बिचारलाइ एउटा राज्यको सिमाभित्र खुम्च्याउने र खोसाखोसको बिषय बनाउदो रहेछ र पो कहिल्यै शान्ती कायम नहुदो रहेछ । लाग्यो हामिले बुद्धलाइ चिन्न सकेनौ । चिन्नेहरुले धेरै फड्को मारेर अघि बढे, तर बत्ती मुनिको अध्यारो भने झै हामी नचिन्नेहरु बुद्धको महाज्ञानलाई तेरो र मेरो, तैले पढ्ने हो, मैले होइन भनेर जातको सिमारेखामा, देशको सिमा लगाएर गाड कोराकोर गर्दैछौ ।
म देख्छु र सुन्दैछु- बुद्धलाई धेरैले देवताको रुपमा मान्छन तर बुद्ध २५ सय बर्ष अघि जन्मिएका हामी जस्तै दुई हात, दुई आँखा भएका मान्छे हुन । हामी जस्तै प्राकृतिक प्रकृयाबाट उहाको जन्म भएको हो । उहाँ हिन्दु दर्शनमा व्याख्या गरिए जस्तो कतिपय दैवी पात्रहरु भुइ चिरा परेर, आकास फाटेर, धमिराको गोलाबाट प्रकट भएको होइन । उहालाई कालान्तरमा धर्मले भगवान बनायो तर उहाँ शिकारी युगमा जन्मिनु भएको एक महान दार्शनिक हुन ।
मान्छेहरु पाप मुक्ति र पुन्यको नाममा, दुखबाट छुटकारा पाउन अनेकौ देवि देवताको पूजा, आराधना गर्छन । मन्दिर धाउछन । जुन मन्दिरमा भगवान खुशी पार्ने नाममा एउटा निर्दोष प्राणिको बलि चढाइन्छ । जुन देवतामा दुख मुक्तिको लागि हामी शरण पर्छौ, उहीँ देवता दुखबाट मुक्त छैन भने कसरी अरुलाइ मुक्ती दिनसक्छ ।
रामले लुकेर रुखको आडमा बालिको हत्या गरे । यो अपराध कर्म थियो । कृश्नले १६ सय गोपिनी खेलाए, नदिमा निर्बस्त्र नुहाइरहेकाहरुको कपडा लुकाएर रमिता हेरे । बिष्णुले अर्काको श्रीमती बृन्दाको सतित्व डगाए । यो ब्याभिचारी कर्म थियो । यस्ता थुप्रै दैवी पात्रहरु छन, जो कुनै न कुनै दुखबाट मुक्त छैनन । तरपनी कविते, कथुकेहरुले वीरताको फुलबुट्टा भरेर कथा लेखे । हामिले त्यही भाग्यवादी दर्शनको मोटा पुस्तकहरु पढ्यौ र त्यही भाष्यले हामिलाइ बगायो । खोलाले बगाएको भए १, २ जना मर्थ्यो होला तर राज्यले अंगिकार गरेको धर्म, दर्शनले बगाएपछि बाचेर पनि सवै मर्यौ । मान्छेले बनाएको युरोप, अमेरिकाका मान्छेहरु चन्द्रमामा प्लटिङ गर्ने भैसके तर ३३ कोटि देवताले रक्षा गरिराखेको देशका हामी मान्छेहरु त्यही चन्द्रमालाइ ढोग्दैछौ ।
मैले भन्न खोजेको यसखालको दुखबाट आफै मुक्त नभएको पात्रको पूजा गरेर दुख मुक्त हुन्छु भन्नू माग्नेको घरमा जुहारत खोज्नु जस्तै हो । त्यहाबाट केही पाइन्न । जो आफै गरिव छ भने उसले अरुलाइ के दिनसक्छ ? त्यसैले दुनियाँमा अहिलेसम्म सवै खाले दुखबाट मुक्त हुनु भएको एउटै तथागत हुनुहुन्छ : उहाँ बुद्ध मात्र हो । जसले दुख मुक्तिको हरेक उपायहरु सुझाउन सक्नु भो । छोरा मरेपछि बिक्षिप्त बनेको आमा, नगरकै चर्चित यौनकर्ममा फसेकि महिला, धनको घमण्डले फुलेको मान्छे, शिकारी र कुख्यात हत्यारा यस्ता थुप्रै मान्छेहरुलाइ उहाले मुक्त गराउनु भयो । त्यसैले सवैखाले क्लेश, दुखबाट मुक्त हुनुभएको बुद्धको दर्शनलाइ जिवनमा प्रयोग गर्न सक्यौ भने मात्र शान्ती र सुख प्राप्ती हुनसक्छ । मन्दिरमा घण्टी बजाएर मनलाई पापको बन्दी बनायौ भने न शान्ती न सुख प्राप्ती नै हुनेछ ।
अर्को, बुद्धलाइ अहिलेपनी धेरैले शान्तिका अग्रदूत भन्ने गर्छन । यो भनाइ गलत छ । उहाँ कसैको दूत होइन । उहाँ कसैले पठाएर यहाँ आउनु भएको होइन । जसरी हिन्दु शास्त्रहरुमा रामलाई रावणको हत्या गर्न, कृश्नलाइ कंसको हत्या गर्न पठाएको बर्णन छ । बुद्ध कसैलाई मार्नको लागि कसैले पठाएर आएको होइन, उहाँ जतिसुकै अपराधी खराव मान्छे भएपनी आफ्नो बिचारबाट सत्कर्म तर्फ हिडाउन सकिन्छ भन्ने अदभूत क्षमताका तार्किक बिद्धान हुन । जसले ९९९ जनालाई हत्या गरिसकेका कुख्यात डाकु अंगुलिमालालाइ आफ्नो तर्कबाट भिक्षु बनाए । तसर्थ, बुद्ध बिष्णुको अवतार पनि होइनन र उहालाई कुनै देवताले पठाएको होइन । उहा आफैले भन्नू भएको छ, मेरो १ जन्म हो, यसपछी अर्को जन्म हुने छैन । उहाँ अवतारवादको बिरोधि हुनुहुन्थ्यो ।
त्यसैले बुद्ध त्यो युगका एक होनहार मार्कस भन्दापनी क्रान्तिकारी विलक्षण प्रतिभाका ब्यक्ती हुन । उनले ब्यक्त गरेको बिचारमा निजि सम्पतिको बिरोध गरिएको छ र जातिय बिभेदको आलोचना गर्नु भएको छ । यसबाट उनी समाजवादी बिचारक हुन भन्न सकिन्छ । उनको बेलामा समाजमा बर्ग भेदले त्यति ठाउँ पाइसकेको थिएन । तर जाती भेद थियो र दुख थियो । उनले दुख निवारणको उपाय पत्ता लगाए । मार्क्सको कालमा बर्ग भेद समाज बिकासको ठूलो बाधक बनेर निस्कियो र मार्क्सले बर्ग निवारणको उपाय खोज्नु भो । मार्क्सले बर्ग अन्त्यको लागि द्वन्द्ववादको फर्मुला अघि सारे । यो भनेको मजदुरको मुक्तिको लागि मालिकलाई सिध्याउनु पर्छ भन्ने हो । पुरानोको ध्वंसपछी मात्र नयाँको निर्माण हुन्छ भन्ने सिद्धान्त थियो । तर बुद्धले शान्तिवादी दर्शन प्रतिपादन गरे । यो भनेको दुवैको बिनाश बिना नै समाजको सवैखाले दुखको अन्त गर्नुपर्छ भन्ने हो । पुरानोलाइ नै प्रशिक्षणको माध्यबाट नयाँ बनाउने अभियान थियो ।
यसर्थ, बुद्ध तत्कालिन समाज रुपान्तरणको लागि शान्तिको मार्गबाट उपाय खोज्ने ठुला अभियन्ता हुन । जसले शिकारी युगमा बाडेको बिचार आजको कम्प्युटर युगमा पनि कुनै दर्शनले काट्न सकेको छैन । बरु यसैलाई समातेर थुप्रै कथित गुरुहरुले हाइब्रीड धर्म दर्शन उत्पादन गरिरहेका छन र दुनियालाइ बिभाजित गर्ने प्रयास गरिरहेछन ।
बुद्धलाइ चिनौ ! बुद्धको उपदेशलाई जिवनमा प्रयोग गरौ !! सवैखाले दुखबाट आजैदेखी मुक्त हौ !!! धन्यवाद ।।।
फेसबुकबाट






