काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच निरन्तर कुराकानी भइरहेको बताएका छन् । उनले कार्लमार्क्स जन्म द्वीशतवार्षिकीको अवसरमा आगामी बैशाख २२ गते नै सकेसम्म एकताको घोषणा गर्ने गरी छलफल भइरहेको बताए । यसअघि बैशाख ९ गते नै एकता घोषणा गर्ने गरी दुई पार्टीले छलफललाई अगाडि बढाएको भएपनि प्राविधिक कारण देखाउँदै हुन सकेको थिए ।
मजदूर दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले मजदूरको हकहितका लागि आफू सँदैव लडिरहने पनि बताए ।
निर्वाचन पश्चात आफ्नो जीवनमा परिवर्तनको महसुस गर्न पाइन्छ कि भन्ने अपेक्षा जनताको मनमा पलाएको समेत प्रचण्डले बताए ।
उनले अहिले देश इतिहासको असाध्यै महत्वपूर्ण मोडमा रहेको बताउँदै भने, ‘धेरै समस्याहरु र अप्ठ्याराहरुसँग जुध्दै संघीय गणतन्त्र नेपालको संविधान निर्माण र त्यसको कार्यान्वयन स्वरुप निर्वाचन गरेका छौं । वाम गठबन्धनप्रति नेपाली जनतामा धेरै ठूलो आशा भरोषा पलाएको छ ।’
नेपाली जनताको आशा र भरोसा अनुसारको काम गरेर अब स्थिरता, विकास, समृद्धि र समुन्नति व्यवहारद्वारा सिद्ध गर्ने अवसर आफूहरुलाई रहेको उनको भनाई थियो ।
सो अवसरमा एमाले नेता झलनाथ खनालले दुई वाम शक्ति एक हुने प्रक्रियामा रहेको भन्दै छिट्टै निष्कर्षमा पु्गिने बताए ।


