अध्यक्ष, नन्दजङ्ग गुरुङ/खेल संयोजक क्या. पीताम्बर गुरुङ, तमुधिं यूके
तमुधिं यूकेले आयोजना गर्ने गोर्खा कप वर्षेनी विकास र विस्तार हुँदै आएको छ । अन्तर्राष्ट्रिय रुपमै नेपालीको सान बनेको १७ औं गोर्खा कप यस वर्ष २६ मेका दिन क्वीन्स एभिन्यू अल्डरसटमा तय भइसकेको छ । मुख्य र भेट्रानतर्फ गरी ४२ टिम सहभागी हुने आयोजकले जनाएको छ । जसमा बेलायतबाहेक हल्यान्ड, आइसल्यान्ड, बेल्जियम, आयरल्यान्ड र हङकङबाट पनि खेलाडी सामेल हुनेछन् । निकै प्रभावकारी, आकर्षक र खर्चिलो मानिएको गोर्खा कपको समग्र विषयमा तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, खेलकुद सचिव एवं गोर्खा कप संयोजक क्या.पीताम्बर गुरुङसँग एभरेस्ट टाइम्सले संयुक्त रुपमा जिज्ञासा राखेको थियो ।
यसपटक मौसमले कत्तिको साथ दिन्छ होला ?
मौसम राम्रै छ, हेर्दै जाउँ । गत वर्ष कालो बादल लागेको देखिएको थियो, तर त्यो दिन राम्रो घाम लाग्यो । मौसमको कुरा ग्यारेन्टी गर्न सकिँदैन । यसपटक पनि केही समय अलि अलि पानी पर्ने सम्भावना देखाएको छ ।
२६ मेमा क्वीन्स एभिन्यू अल्डरसटमा प्रतियोगिता गर्दै हुनुुहुन्छ । यस खेलमा कति टिम सहभागी हुँदैछन् ?
सँधैंझैं मुख्यतर्फ ३२ र भेट्रानतर्फ १० टिमले भाग लिँदैछन् ।
टिमको टुंगो लागिसकेको हो ?
दुई हप्ता नपुग्दै सबै टिम फूल भइसक्यो । यस पटक मुख्यमा झन्डै ६० वटा टिमले आवेदन दिएका थिए । हामीले फियरनेसका लागि जसले पहिले पेमेन्ट गर्छ त्यसलाई प्राथमिकता दियौं । भेट्रानको १० टिमका लागि पनि १६ वटा आएका थिए । जसमा हामीले १० वटा टिमलाई सेलेक्ट गर्यौं ।
यसपटक कुन कुन देशबाट सहभागी हुँदैछन् खेलाडीहरु ?
गोर्खा कपमा म पाँच वर्ष भइसक्यो इन्भल्व भएको । यो कप एकदम राम्रो लेभलमा पुगिसकेको छ । यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरमा पुगिसकेको छ । गत वर्ष तीन/चारवटा देशका खेलाडी सहभागी भए । त्यो भन्दा अघि पनि तीनवटा देशका खेलाडी आएका थिए । यो पाली पनि हङकङबाट टिम आउँदैछ । थप यूरोपियन देशहरुबाट चार टिम आउँदैछन्, हल्यान्ड, बेल्जियम, आइसल्यान्ड, आयरल्यान्डबाट । उहाँहरुको सहभागिता नै हाम्रो लागि एकदम ठूलो उपलब्धि हो ।
विश्वका जुनसुकै कुनामा गए पनि नेपाली समुदायमा गोर्खा कपबारे थाहा भइसकेको छ । अन्य देशका खेलाडीहरुले पनि गोर्खा कप खेलेर आएको भने पछि गर्व महसुस गर्दा रहेछन् । गोर्खा कप सबैभन्दा धेरै नेपालीहरुलाई जमघट गरेर नेपालबाहिर खेलाइने प्रतियोगिता हो ।
अध्यक्षज्यूलाई सोध्न चाहन्छु, गोर्खा कप सुरु गरिएको उद्देश्य पूरा भए कि भएन ?
आयोजकका राम्रो र नराम्रो पक्ष आफ्नो ठाउँमा छ । अहिले गोर्खा कपको जुन स्थान छ, यो धेरै माथि पुगेको मलाई महसुस भएको छ । सुरुआतमा त्यसै पनि सानो रुपमा थियो । यसको वर्षैपिच्छे चाम बढ्ने क्रममा छ । अर्को कुरा, खर्चिलो छ । विशेषगरी हेल्थ एन्ड सेप्mटी मिलाउनुपर्छ । धेरै कुरा हायर गर्नु पर्नाले हामीलाई अलि अप्ठेरो पनि बनाएको छ । जे भए पनि हाम्रा सदस्यहरु, टिमको कमिटमेन्ट र सबै साथीभाइ, नेपाली दाजुभाइको सहयोगले गोर्खा कप सफल भइरहेको छ । यस पटक पनि राम्रो गर्छौं भन्ने हामी विश्वस्त छौं ।
गोर्खा कपका लागि स्थानीय सरकार वा नेपाल सरकारले सहयोग दिन्छन् या कसरी खर्च जुटाइरहनु भएको छ ?
खर्च एकदमै ठूलो छ । हामीले पैसा लिएको चाहिँ देखिन्छ तर पैसा खर्च गरेको देखिँदैन । जनमानसमा यसबारे द्विविधा नहोस् भन्न चाहन्छु किनभने जसले आयोजना गरेको छ, उसलाई सबै कुरा थाहा हुन्छ । दुई/तीन वर्षअघि गोर्खा कप ३० देखि ३५ हजार पाउन्डमा सम्पन्न गथ्र्यौं । तर, पछिल्लो समयमा सबै कुराको मूल्य बढेकोले गत वर्ष ५४ हजार पाउन्ड गोर्खा कपमा खर्च गर्यौं । टिकट, प्रवेश शुल्क, कार्गो, स्टलहरुका शुल्कबाट ३२ हजार पाउन्डमात्रै उठेको थियो । त्यसले गर्दा हामीले हात पैmलाउनुपर्ने अवस्था छ । भाग्यवश अहिलेसम्म हाम्रा स्वयम्सेवी, दाताहरुले एकदमै राम्रो सहयोग गरिरहनुभएको छ । गोर्खा कप प्रतियोगिताबाट बचत रकम हामीले च्यारिटीमा दिँदै आएका छौं । पहिले क्यान्सर रिसर्चमा पनि दिएका छौं । त्यस कारणले नै हामीलाई सहयोग गर्न मान्छेहरु पछि हट्दैनन् । यस पटक आम्दानी र आकर्षण बढोस् भनेर हामीले प्यारा डिस्प्ले गर्दैछौं ।
प्रतियोगितामा सबभन्दा बढी कुन शीर्षकमा खर्च हुन्छ ?
हाम्रो सबैभन्दा बढी खर्च हुने पोर्टलु अर्थात् ट्वाइलेट फेसिलिटीमा हो । पुरस्कारहरुमा पनि खर्च वृद्धि भएको छ । पहिलो पुरस्कारको राशि बढाइएको छ ।
अहिले कति छ पुरस्कार राशि ?
मुख्यतर्फ पहिलो पुरस्कार २५ सय पाउन्ड, दोस्रो १५ सय छ । भेट्रानतर्फ प्रथमको १२ सय र दोस्रोको ८ सय पाउन्ड गरेका छौं । पुरस्कार राशि वृद्धि भएकोले प्रवेश शुल्क २ पाउन्ड पुर्याएका छौं । यो समयको माग र खर्च कभर गर्नका लागि गरेका हौं । यसो नगरे तमुधिंको आफ्नै पुँजीबाट दिनुपर्ने हुन्छ ।
अध्यक्षज्यूलाई सोध्न चाहे, गएको वर्षभन्दा यस पटक कत्तिको फरक छ गोर्खा कप ?
हाम्रो पहिलो उद्देश्य, फुटबल नै खेलाउने हो । साथसाथै कार्यक्रममा प्यारा डिप्स्ले लगायत आकर्षण हुनेछन् । ब्रिगेड अफ गोर्खाजको व्यान्ड पहिले हामीले सहुलियतमा पाइरहेका थियौं । तर, अहिले उनीहरुको सिस्टममा फरक पर्न गएकोले कस्ट महँगो भएकोले यो पाली ल्याउन नसक्ने भएको छ । अर्को वर्ष अवश्य ल्याउने छौं । कार्यक्रमस्थलमा व्यापारिक, सूचनामूलक स्टलहरु रहने छन् । हामीले सेफ्टीमा एकदमै ख्याल गर्नुपर्छ । मेडिकल, एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने, प्रहरीहरु स्ट्यान्ड बाइ राख्ने कुरा छन् । भीड बढ्नेक्रम रहेकोले सुरक्षा पनि बढाउँदै लानु पर्ने अवस्था छ ।
एफए कपबारे बताइदिनुहोस् न ?
एफए कप भनेको वल्र्डमै चिनिएको प्रिमियर लिगको कप हो । सायद, फुटबलप्रेमीहरुलाई एफए कप धेरै थाहा होला । एफए कप भनेको भयंकर कप हो । जुन हामीले देख्न पनि पाइँदैन । टिभितिर हेर्नेबाहेक । हाम्रो टुर्नामेन्टमा यो प्रतिष्ठित कप ल्याउँदैछौं । यो बन्दोबस्त सहारा क्लब यूकेले मिलाएको हो । यस प्रतियोगितामा एफएका चियरमेन मिस्टर लरेन्स पनि आउँदै हुनुहुन्छ । सायद उहाँले फुटबलबारे बोल्नुहुन्छ होला । गत वर्ष टटोमहम क्लबको लेड्की किङ आउनुभएको थियो ।
स्थानीय सरकारबाट के कस्तो सहयोग पाइरहनुभएको छ ?
स्थानीय सरकार र समुदायले अहिलेसम्म हामीलाई पैसा दिएको छैन । हामी आफैं सस्टेन भइराखेका छौं । विशेषगरी नेपाली व्यापार, व्यवसायमा लागेका साथीहरु एकदमै जेनेरस हुनुहुन्छ । तीन दिनसम्म त्यत्तिकै काम गर्नुहुन्छ, साथसाथै पैसा पनि दिनुहुन्छ ।
गोर्खा कपमा बेलायतका स्थानीय बासिन्दाहरुलाई सहभागी गराउने विषयमा के कस्ता पहल भइरहेको छ ?
काउन्सिलसँग मिलेर विगत दुई वर्षदेखि मैले प्रयास गरिरहेको छु । लोकललाई पनि एड्भाइस गर्नुपर्यो । उहाँहरुले पनि स्थानीय रेडियोमा हामी प्रचार गछौं भन्नु भएको छ । हामीले स्थानीय समुदायलाई नै जोड्न पर्यो । हामीले हरेक टिममा तीनजना गोरा अर्थात् अन्तर्राष्ट्रिय खेलाडीलाई खेलाउन पाइन्छ पनि भनेका छौं । यो पनि बाहिरका कम्युनिटीलाई सहभागी गराउने पहल हो । गोर्खा कप नेपालीको मात्रै होइन, सबैको हो । हरेक साल स्थानीय आइरहेका छन् । यहाँका मेयर, कम्युनिटी लिडरहरु त धेरै सचेत भइसकेका छन् । सांसद्, स्थानीय नेताहरु कार्यक्रममा सहभागी हुन्नुहुन्छ । मेयर त प्रमुख अतिथि नै हो । एकैचोटी आमूल परिवर्तन त हुँदैन नै । तर, विस्तारै विस्तारै संख्या बढ्दै छ । कतिपयले हाम्रो स्टल राख्नुपर्यो, च्यारिटीको काम गर्नुपर्यो भन्ने गरेका छन् । हामीले सबै फ्रि गर्न सक्दैनौं, च्यारिटी संस्था भएकाले ।
सुरक्षा कसरी म्यानेज गर्दै हुनुहुन्छ ।
सुरक्षा एकदमै महत्वपूर्ण विषय हो । सेफ्टी एड्भाइजर ग्रुप रसमुर बोरो काउन्सिलसँग कुरा गर्नु पर्छ । सुरक्षामा पास भएनौं भने हामीलाई इभेन्ट रन गर्न दिँदैनन् । सुरक्षाका लागि हामी आफैंले ५० जना सेक्युरिटी हायर गरेका छौं । झन्डै सय जना स्वयम्सेवकले सुरक्षाको भार लिएको छ । पुलिसहरु त्यसै पनि सचेत छन् ।
नेपाली दूतावास लन्डनको सहयोग छ ?
नेपाल सरकारको तर्फबाट राजदूतले शुभकामना दिनुहुन्छ । व्यवस्थापन र खर्चको विषयमा उहाँहरु इन्भल्व हुनुहुन्न । तमुधिं यूकेले गोर्खा कप आयोजना गर्ने हुँदा डाइरेक्ली इन्भल्व हुँदैन । यो लोकल एरियाको कार्यक्रम भएकोले लोकललाई नै फोकस गर्छौं । गोर्खाली नेपालीहरु यूकेभरि छरिएर बसेका छन्, उनीहरुमात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पनि सहभागी हुन्छन् । गोर्खा कप झण्डै वल्र्ड कप शो जस्तो भइसकेको छ । त्यसैले हाम्रो लागि गौरव र गर्वको कुरा हो ।
अन्त्यमा,
सम्पूर्ण नेपाली दाजुभाइ, यो मिट एण्ड ग्रिट गर्ने ठाउँ हो । यूकेभरि छरिएर रहनुभएका नेपालीहरुको जम्काभेट हुने ठाउँ हो । यो मौकालाई नगुमाउनुहोस् । सहभागी हुनुहोस् । हामीलाई पनि हौसला दिनुहोस् । कार्यक्रममा परिवारसहित सहभागी भई सफल बनाइदिनहुनका लागि सबैमा अनुरोध गर्न चाहन्छौं ।