अल्डरसट । भूतपूर्व ब्रिटिस गोर्खाहरुको हक अधिकारका लागि आवाज उठाउँदै आएका संघसंगठनहरुमध्येका एक गोर्खा सत्याग्रह संयुक्त समितिले जानकारी सभाको आयोजना गर्यो । भूपू गोर्खाहरुका माग सम्बोधन गर्न गठित बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले बेलायत र नेपाल सरकारलाई औपचारिक रुपमा गत २२ मार्चका दिन अन्तिम प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले सत्याग्रह संयुक्त समितिले गत शनिबार ३१ मार्चका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा सभा आयोजना गरेको हो ।

भूतपूर्व गोर्खा र उनका परिवारको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले, आफ्नो पहिलो ‘गोर्खाहरुबीच एकता होस् भन्ने मेरो पवित्र भावना थियो’, जसले २९ मार्च २०१७ मूर्तरुप लिएको बताए । दोस्रो, गोर्खाहरुको समस्या र गुनासोलाई राष्ट्रिय एजेण्डाको रुपमा स्थापित गर्नु थियो भन्दै उनले, ‘बीसौं वर्षमा समेत राष्ट्रिय एजेण्डा नबनेको स्मरण गर्दै अहिले सबै दल, संसद्, समिति र सरकारले हाम्रो एजेण्डा हो, यो नेपालको एजेण्डा हो र राष्ट्रिय एजेण्डा हो भनेर स्वीकार गरेको टिप्पणी गरे ।
त्यस्तै, उनले भर्खरै दुई देशबीचको मध्यमार्गी सुझावहरुको दस्तावेज आफूमार्फत नेपालका प्रधानमन्त्री र बेलायतका रक्षा राज्यमन्त्रीमार्फत बेलायती प्रधानमन्त्रीसमक्ष पुगिसकेको जानकारी दिए । उनले संवाद र कूटनीतिको बाटो लामो, घुमाउरो र कठिन भए तापनि गन्तव्य, निष्कर्ष र सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
सत्याग्रह संयुक्त समिति युके–नेपाल क्षेत्र नं. १७ का सभापति होम सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोर्खा सत्याग्रहका अभियन्ता ज्ञानराई राईले आफूहरुले राजदूत डा.सुवेदीजस्ता कूटनीतिज्ञ पाएको बताउँदै अब गोर्खालाई ठग्नेहरु भाग्न नपाउने जिकिर गरे । आफूहरुको आन्दोलन रेलको लिगमा हिँड्दैछ भन्दै आफूहरुको अधिकारमा कटौती गरिएमा कुरा नमिल्ने बताए ।
कार्यक्रममा सत्याग्रह संयुक्त समिति प्रमुख संयोजक कृष्ण राईले गोर्खा अधिकारको बारेमा बोल्दै वेलफेयर दिँदै आएको सुविधाको बारेमा बोलेका थिए । प्राविधिक समितिका सदस्य मेजर जुद्धबहादुर गुरुङले गोर्खाहरुले बुझ्दै आएको पेन्सनलगायतका सुविधाको बारेमा जानकारी गराउँदै समितिमा रहेर आफूहरुले खेलेको भूमिकाबारेमा जानकारी गराएका थिए ।
समिति सचिव सईन्द्रले सञ्चालनको कार्यक्रममा सहसंयोजक सूर्य नेम्वाङ, प्रेम गुरुङ, तमुधिं युकेका सल्लाहकार हरि गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार, एनआरएनए युकेका उपाध्यक्ष डा. प्रेम आलेमगर, महासचिव राजकुमार त्रिपाठीलगायत गोर्खा अधिकारकर्मीहरुले बोलेका थिए ।


