नारायणसिंह गुरुङ
वर्षको १२ वटा महिनाहरुमा प्रत्येक महिनाको आ–आफ्नै महत्व र विशेषता छन् । जस्तै असोज–कात्तिक आएपछि दसंै, तिहारको माहोल हुन्छ । आषाढ–श्रावणमा बाली लगाउने माहोल, कात्तिक, मंसिरमा बाली भित्र्याउने माहोल, त्यस्तै वैशाख लागेपछि नयाँ वर्ष मनाउनेको माहोल थियो भने अहिले सर्वत्र बुद्ध जयन्ती मान्ने माहोल छ । कति सामाजिक तथा धार्मिक संघसंस्थाहरुले ठ्याक्कै वैशाख पूर्णिमाको तिथीमा बुद्ध जयन्ती मनायो भने कतिले अनुकूलताको दृष्टिकोणले विशेष गरेर प्रवासमा रहेका नेपालीहरुले सप्ताहन्त पारेर वैशाख महिनाभरी नै बुद्ध जयन्ती मनाए । यसर्थ वैशाख महिना पुरै बुद्ध जयन्तीमय बन्यो ।
बुद्ध जयन्ती कतिले गुम्बाहरुमा लामा गुरुहरुबाट धार्मिक पूजापाठ गरेर बुद्धको जीवनीदेखि दर्शनसम्मको प्रवचन दिएर, सुनेर मनायो, कतिले सभाहल, जमघट स्थलहरुमा सभा, भाषण र बुद्ध नेपालमा जन्मेको (Buddha was born in Nepal) भन्ने नारा घन्काएर मनायो भने कतिले पितृको नाममा वायू पूजा गरेर घाटु, सोरठी, कृष्ण चरित्रको नाचगान गरेर मनायो । कतिले महिनाभरी नै माछामासु नखाई शुद्ध साकाहारी बनेर पूजाआजा गर्दै सागाधावाको साथमा मनाए । बुद्ध धर्मावलम्बीहरुहरुले त मनाउने नै भए अन्य गैरबुद्धिष्टहरुले पनि बुद्धलाई राष्ट्रको एउटा विभूतिको सम्मान गर्दै मनाए । यी सबै राम्रा वा सकारात्मक पक्षहरु हुन् । बुद्ध जयन्ती नेपालमा मात्र होइन विश्वभरी नै मनायो । बुद्ध जयन्ती मनाएपछि कम्तीमा पनि बुद्धको बारेमा धेरै थोरै केही ज्ञानहरु पनि पक्कै प्राप्त भयो होला ।
बुद्ध जयन्ती मनाउँदै गर्दा मेरो मानसपटलमा बुद्ध र बुद्ध दर्शन सम्बन्धमा केही कुरा उब्जेकोले उक्त विशाल बुद्ध दर्शनलाई म अलिकति भए पनि बुझ्ने प्रयास वा कोट्याउने जमर्को गर्न चाहन्छु । बुद्धको जन्म जयन्ती मनाउँदै गर्दा बुद्धको जीवनी थोरै भए पनि कोट्याउन त सान्दर्भिक नै होला तर मोटामोटी साधारण रुपमा बुद्धको जीवनी सम्बन्धमा ज्ञान त हुने नै भएकोले बरु बुद्ध भनेको को हो मात्र नभई बुद्ध भनेको के हो भन्ने सन्दर्भ राख्दा उपयुक्त होला ।
वैशाख पूर्णिमा जसलाई चण्डी पूर्णिमा पनि भनिन्छ । उक्त दिन भगवान् बुद्धको जन्म भएको, ६ वर्षको तपस्यपश्चात् बुद्धत्व प्राप्त भएको जसलाई बुद्ध दर्शनमा निर्वाण प्राप्त भएको भनिन्छ र ८० वर्षको उमेरमा भौतिक शरीरको अन्त भएको, जसलाई परिनिर्वाण प्राप्त गरेको भनिन्छ । यस्ता तीनवटा महत्वपूर्ण पवित्र र अद्भूत तिथिको संयोग हो वैशाख पूर्णिमा । उक्त दिनमा भगवान् बुद्धको जन्म जयन्ती मनाउँदछ । यो यस्तो किसिमको अवसरको तिथि हो जुन दिनमा कुनै पनि पून्यलाभको कार्यहरु गर्नाले अरु सामान्य दिनको पून्य भन्दा गुणात्मक (multiply) रुपमा प्राप्त हुन्छ भनेर धार्मिक प्रवचनहरुमा सुन्न पाइन्छ ।
बुद्धको महान् दर्शनको आधारभूत ज्ञान वा उक्त दर्शनको सारांश हो चार आर्य सत्य ! के हो त ती चार आर्य सत्य ? जसलाई अङ्ग्रेजीमा Four Noble Truth भनिन्छ ।
१. जीवनमा दुःख छ (Life is suffering)
२. दुःखको कारण छ (Causes of suffering)
३. दुःख निरोध वा मुक्ति सम्भब छ (Cessation of suffering)
४. दुःखबाट छुटकारा वा मुक्ति पाउने आठवटा बाटो वा मर्गहरु (Eight fold path of suffering)
जीवनमा दुःख छ अर्थात् जीवन दुःख रहित छैन ! हरेक मानिसको हरेक खालको जीवनसँग कुनै न कुनै रुपमा दुःख जोडिएको छ त्यो सत्य कुरा हो तर ती दुःखहरु त्यत्तिकै बिनाकारण आएका होइनन् त्यसको कारण छ त्यो हो चाहना अर्थात् (Desire) ! मानिसको जीवनलाई दुखमय बनाउने तत्वहरुलाई केलाएर वा पत्ता लगाएर त्यसलाई शील अर्थात् बुझ्ने भाषामा भन्नू पर्दा अनुशासन । शीलको अभ्यास गरेमा त्यसबाट मुक्ति पाउन सकिन्छ, त्यो सम्भव छ त्यसलाई अङ्ग्रेजीमा (Cessation of suffering) भन्दछन् । बुद्धले यी दुःखबाट छुट्कारा वा मुक्ति पाउन सम्भव छ मात्र भनेका छैन आठवटा उपायहरु पनि बताएका छन् । बुद्ध दर्शनमा त्यसलाई आष्टाङ्गिक मार्ग अर्थात् अङ्ग्रेजीमा (Eight fold path of suffering) भन्दछन् । ती हुन् ः
१. सम्यक दृष्टि (Right view or understanding)
२. सम्यक संकल्प (Right intention)
३. सम्यक वचन (Right speech)
४. सम्यक कार्य (Right action or conduct)
५. सम्यक व्यायम (Right effort)
६. सम्यक जिविका (Right livelihood)
७. सम्यक स्मृति (Right mindfulness) र
८. सम्यक समाधी (Right concentratraion) आदि !
यसलाई संक्षिप्तमा भन्नु पर्दा सम्यकको अर्थ हो ठीक वा सही अर्थात् सकारात्मक ! माथि उल्लेखित आठवटा मार्गहरुलाई ठीक वा सही तरिकाले पालना गर्ने हो भने दुःखबाट मुक्त हुन सक्दछ भनेर बुद्धले आफ्नो पहिलो उपदेशमा भन्नु भएको छ । जगतका सबै प्राणीहरुप्रति सकारात्मक भाव र दृष्टिले हेर्नु र व्यवहार गर्नु, सकारात्मक बोली अर्थात् कसैको आत्मामा चोट वा ठेस लाग्ने बोलीहरु नबोल्नु, सकारात्मक वा सत्कर्महरु मात्र गर्नु, सही काममा मिहेनत वा परिश्रम गर्नु र तडकभडक नभएको सादा जीवन उक्त विचार भएको सार्थक जीवन जिउनु, सही कुरामा मन केन्द्रित गर्दै समथा वा विपास्यनाजस्ता ध्यानको अभ्यासहरु गरेमा दुःखबाट छुटकारा वा मुक्ति पाउन सकिन्छ । आनी छोइङ्ग डोल्माको फूलको आँखामा फुलै संसार… भन्ने लोकप्रिय भजनमा आधारित गीत यसैमा आधारित गीत हो जस्तो लाग्छ । बुद्ध धर्मको एउटा प्रमुख अभ्यास शील (पञ्चशील) यसै भित्र पर्दछ । जीवनलाई दुखमय बनाउने तत्वहरु जस्तै काम, क्रोध, मोह, लोभ अहंकार जसलाई संस्कृतमा क्लेस भनिन्छ, ती क्लेसहरुलाई शीलको अभ्यासले नास गर्दछ ।
सत्यको खोज गर्दै ज्ञानको पूर्णरुपमा विकासित भएको वा अध्यात्मको चरमसिमामा पुगेको व्यक्तिलाई बुद्ध भन्दछन् ! त्यस्तो महामानवले दिनु भएको शिक्षादीक्षा उपदेशकै कारण विश्वको बुझेको मानिसहरुले श्रद्धा गर्छन् । बुद्धले दिनुभएको शिक्षा, ज्ञान उपदेश कुनै दन्त्यकथामा आधारित आस्था वा विश्वास अर्थात् अन्ध श्रद्धा वा भक्ति
(Blind faith) होइन यो त पूर्णरूपले विज्ञानमा आधारित व्यवहारिक जीवन दर्शन हो । उपदेश दिनेक्रममा बुद्ध आफैले भन्नु भएको छ, “सही वा ठीक लाग्दैन भने मैले भनेको कुरा पनि मान्नु पर्छ भन्ने छैन, जसरी विज्ञानमा कुनै बस्तुलाई ल्याबमा राखेर परीक्षण गरेर तथ्य र प्रमाणको आधारमा पास गर्छ त्यस्तैगरी हामीले सुनेको कुराहरुलाई विवेकको ल्याबमा परीक्षण गरेर सही लाग्छ भने मात्र त्यसलाई ग्रहण गर्नु भन्नु भएको छ जुन कति वैज्ञानिक छ । त्यसैले त महान् विचारक, दार्शनिक, लेखक ओशोले आफ्नो पुस्तकहरुमा, प्रवचनहरुमा भन्नु भएको छ, “Buddha is a spiritual scientist’ अर्थात् अध्यात्मको वैज्ञानिक । यसै सन्दर्भमा यहाँ एउटा अङ्ग्रेजीको भनाइलाई राख्न चाहन्छु :
All about Buddhism-
”It’s not about any God
It’s not about any prophet
It’ not about any holy book
It’s all about REALITY OF LIFE”
माथिका भनाइबाट स्पष्ट हुन्छ कि यो के हो र कति व्यवहारिक छ । यस्तो सत्यमा आधारित जीवन विज्ञान वा जीवनदर्शन भएकोले नै बुद्धलाई एसियाको तारा भनेका हुन् र आज विश्वमा यसको महिमा र महत्व अझ बढ्दो छ । यस्तो व्यवहारिक शिक्षा र ज्ञान दिने महामानवको जन्म नेपालमा हुनु पक्कै पनि गौरवको कुरा हो तर बुद्धको जन्म देशको दृष्टिकोणले मात्र गौरभ गर्ने तर बुद्धले दिनुभएको दुःखको मुक्ति मार्ग ज्ञान, शिक्षा, उपदेशप्रति गौरव नगर्ने र बेवास्ता गर्ने हो भने यसको सार्थकता रहँदैन ।
जेहोस् वैशाख पूर्णिमा वा बुद्ध जयन्ती यस्तो महत्वपूर्ण र पवित्र दिन हो । यस्तो महामानवको जन्म जयन्ती मान्न पाउनु पनि कम अवसर कम भाग्यको कुरो होइन । जुन दिनमा राम्रा राम्रा लुगाहरु लगाउनु, मीठो मीठो खाने कुराहरु खानु, रमाइलो गरेर मान्नुमात्र नभई कम्तीमा पनि उक्त दिनमा पूजापाठहरु गरेर आफूलाई दुःख दिने क्लेशहरुजस्तै लोभ गर्ने बानी छ भने आजको दिनदेखि म लोभ गर्दिनँ भन्ने अठोट वा वाचा गर्ने, कसैको निन्दा गर्ने, चोरी गर्ने, झुटो बोल्ने, व्यविचार गर्ने, खराब वचन बोलेर अर्काको चित्त दुखाउने, अहंकार गर्ने, हिंसा गर्ने आदि आदिजस्ता क्लेशहरु आफुसँग के अवगुण छ त्यो आजको दिनदेखि अब म गर्दिनँ भनेर छोड्ने अठोट वा वाचा गरेर शीलको अभ्यास गर्ने । सकेसम्म दान दक्षिणाहरु गर्ने, कसैलाई मद्धत वा उपकारी कामहरु गरेर पून्यआर्जन गर्ने गरेर मनायो भने सहीरुपमा बुद्ध जयन्ती मनाउनुको सार्थकता होला जस्तो लाग्छ ।