बेलायत – मगर संघ युकेका पदाधिकारीहरूले आइतवार ९ अगस्त २०२६ का दिन स्वर्गीय निर्मल पुर्जा (निम्सदाई) को घरपरिवारसँग भेटघाट गरेका छन्।
बेलायतको इश्लेस्थित निम्सदाईका साइला दाजु कमल पुर्जाको निवासमा भएको उक्त भेटघाटमा मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) को नेतृत्वमा सल्लाहकार मेजर चित्र राना मगर, वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, उपाध्यक्ष गुमानसिङ थापा मगर र सहसचिव मदन राना मगरको टोली पुगेको थियो।
टोलीले स्वर्गीय निम्सदाईको तस्बिरमा दियो, धूप प्रज्वलन, फूलको गुच्छा र खादा माल्यार्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसतप्त घरपरिवारलाई हार्दिक समवेदना प्रकट गरेको छ भने अध्यक्ष लालु पुन मगरले सोकाकुल परिवारका सदस्य कमल बहादुर पुर्जा पुन मगरलाई शोकपत्र हस्तान्तरण गरेका छन्।
घरपरिवारको तर्फबाट मगर संघ युकेका ट्रष्टी सदस्य तथा सल्लाहकार कमल बहादुर पुर्जाले यस दुःखद घडीमा दुःखित परिवारजनलाई हौसला प्रदान गरेकोमा मगर संघ युकेका अध्यक्षलगायत सम्पूर्ण बेलायतवासी मगरहरूलाई हार्दिक धन्यवाद दिएका छन्।
उक्त भेटघाटमा स्वर्गीय निम्सदाईको अन्तिम दाहसंस्कार तथा अन्त्येष्टिका लागि व्यापक छलफल भएको छ।






