‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने मुल नाराका साथ २५६२ औं बौद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकियो । यो वर्ष लुम्बिनीमा मात्र बुद्ध जयन्ती तीन दिन मनाइयो । सम्मेलनमा विश्वभरबाट २३ वटा मुलुकहरुले सहभागिता जनायो । ती मध्ये १३ मुलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरुको सहभागिता रह्यो । अघिल्लो वर्षसम्म त्रिपालमुनी हु“दै आएको बुद्धजयन्तीको कार्यक्रम यसपाला अन्तर्राष्ट्रिय सम्मेलनका रुपमा व्यवस्थित सभा भवनमा भयो । तर यसरी मात्र लुम्बिनीको विकास र बुद्धको सम्मान हुनसक्छ ? भन्ने प्रश्न भने अनुत्तरित नै छ ।
लुम्बिनी विकासको लागि लुम्बिनी मात्र होइन नजिकैको कपिलवस्तु, देवदह र रामग्रामसम्मको विकास हुन जरुरी छ । यसका लागि लुम्बिनी सर्किट बनाएर काम गर्न सक्नुपर्छ । कपिलवस्तुको तिलौराकोटमा त केही प्रगती हुन थालेको छ । तर, लुम्बिनीलाई आफ्नै बुतामा अघि बढाउनुभन्दा पनि छिमेकी भारतको बुद्ध सर्किटमा पार्ने च्यांखे दाउमा फस्ने सम्भावना बढी छ । यस्तो भएमा, लुम्बिनी क्षेत्रको विकास मात्र त अझ बढी होला, कपिलवस्तु, रामग्राम, देवदह र बांकी नेपालका बुद्ध सम्बन्धित सम्पदा क्षेत्रको विकास भने धेरै पछि पर्नेछ । प्रोफेसर केन्जो टांगेले परिकल्पना गरेको गुरुयोजनाअनुसार आजसम्म काम भएको हुन्थ्यो भने लुम्बिनी मात्र होइन, सबै तिर आफ्नै बुद्ध सर्किट बनिसकेको हुन्थ्यो । तर, दुर्भाग्य । लुम्बिनी गुरुयोजना पुरा हुन समेत अझै कैयौं काम बा“की छन् ।
एउटा विकास आयोजना सम्पन्न हुन कति समय लाग्ला ? २ वर्ष, ४ वर्ष, ५ वर्ष, १० वा २० वर्ष । तर, नेपाललाई विश्वमै चिनाउने शान्तिको अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको गुरुयोजना ४० वर्षदेखि अधुरै छ । लुम्बिनी गुरुयोजना पुरा भएको भए, लुम्बिनीमा पर्यटन प्रवद्र्धन व्यापक हुन्थ्यो । कनिकुथी, लुम्बिनीलाई आत्मैदेखि सम्झेर आउने पर्यटकहरु मात्र अहिले यस क्षेत्रमा पुग्ने गर्छन् । भारतीय भूमि हुंदै आउने पर्यटकलाई त लुम्बिनीमा केही घण्टा मात्र घुमाइने गरिन्छ । आफ्नै पथप्रदर्शक बोकेर आउने भारतीय ट्राभल्स एजेन्टहरुले लुम्बिनीको बारेमा के सन्देश देलान यो त दुनियालाई थाहा छ । यसको काउन्टर गर्न अझै पनि बुद्ध वाज बर्न इन नेपाल भनेर नारावाजी गर्नुपर्ने हिनताबोध पालेर लुम्बिनीको पर्यटन प्रर्वद्धन गरिरहनुपरेको छ । त्यो भन्दा पहिला पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीमा सम्पूर्ण पूर्वाधारहरु बन्न जरुरी छ ।
विश्वका वौद्धमार्गी हुन या अन्य धर्ममा आस्था राख्नेहरु नै किन नहुन्, शान्तिको प्रतिकको रुपमा सबैको गन्तव्य हो लुम्बिनी । लुम्बिनीको विकासमा राज्यले पहल कदम नचालेको त होइन तर सरकारी पहलकदमीले गति लिन सकेन नै । यसैमा पनि राजनीतिक शक्ति केन्द्रको आडमा लुम्बिनीमाथि लुट मच्चाउने काम पनि भए । यसले यतिबेलासम्म विश्व जगतको अगाडि लुम्बिनी जस्तो राष्ट्रिय गौरवको आयोजना अधुरै छ । यो लज्जाको विषय हो । यो आयोजना सम्पन्न गर्नका लागि तदारुकता देखाउन सक्नुपर्दछ । सरकारको संकल्प आवश्यक छ ।






