कसरी बन्यो नेपाल प्रहरी प्रशंसायोग्य ?

SHARE:

काठमाडौं । तीन दिनअघि ३०, ३२ वर्ष प्रहरी सेवा गरेर निवृत्त भएका आइजीपीदेखि अधिकृतहरुले नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनाललाई भेटे । खनाल नेतृत्वको प्रहरीको काम कारवाहीबारे उनीहरुले मुक्तकण्ठले प्रशंसा गरे । नेपाल पूर्वप्रहरी संगठनका संरक्षकदेखि पदाधिकारीहरुले महानिरीक्षक खनालको कार्यकाल ऐतिहासिक र अतुलनीय सफलताको पगरी गुथाए ।

महानिरीक्षक खनाल नेतृत्वको नेपाल प्रहरी पूर्वप्रहरी संगठनका नेताहरुले भने जस्तै ऐतिहासिक रुपमै सफल भएका हुन् त ? विगत एक डेढ वर्षको अवधिमा के के काम भए ? जसका कारण पूर्वआइजीपीदेखिका पूर्वप्रहरी संगठनले विगतको तुलनामा अतुलनीय सफलताको अनुभव गरे ? प्रहरीले देश र जनताको सेवा गर्नुलाई सफलताको पगरी गुथाइरहनु उचित होला र ? यो सबैको चासोको विषय बनेको छ ।

नेपाल प्रहरी सबैभन्दा धेरै युनिट भएको, जनतासँग प्रत्यक्ष दैनिक जोडिने नेपाल सरकारको युनिट हो । सुखदुःखका साथी हो । आपतविपत होस वा खुशियाली, बर्दीका प्रहरीको अनुपस्थितिमा राज्यविहीनताको अनुभूति गर्ने समाज यही हो । यस अर्थमा जनताको भरोसा बढ्नु अनौठो विषय भएन । प्रहरीसँगको जनसहभागिताले अपराध नियन्त्रण र अनुसन्धानमा उल्लेख्य फाइदा पुग्नुले समाजलाई फाइदै भएकै छ । जनसहभागिता जति बढ्यो, त्यति नै प्रहरीले उपलव्धी हासिल गर्ने हो । प्रहरीले गर्ने उपलब्धिसँगै समाज र देशको उपलव्धीसँग अछुतो रहने कुरै आउँदैन ।

समुदायसँग प्रहरी
प्रहरीको पछिल्लो सबैभन्दा जनसमक्ष पुगेको कार्यक्रम भनेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम हो । यो कार्यक्रमले प्रहरीसँग आमजनतालाई नजिक ल्याउन महत्वपूर्ण मद्दत मिलेको स्पष्ट छ । जब प्रहरी र नागरिकबीच सकारात्मक हिमचिम हुन्छ, त्यसको परिणाम पक्कै पनि सकारात्मक नै आउँछ नै ।

विगतमा विभिन्न प्रहरीले नारा बनाए । विगतमा तय गरिएका नारा आफैमा समय सापेक्ष थियो थिएन । छुट्टै समीक्षाको विषय हो । तर, विगत एक वर्षबाट भने प्रहरीले समुदायसँग साझेदारी गरेर अघि बढ्ने जनपयोगी कार्यक्रम सार्वजनिक गर्यो । व्यवहारमा कार्यान्वयन नै गर्यो । जब हरेक सवालमा समुदायको साथ प्राप्त हुन्छ, हरेक विषयको सफलतासँग जोडिन्छ नै । समुदायले नै हो समाज सुधार्ने । समुदायले नै हो असल र खराब छुट्याउने । त्यसैले प्रहरीले समुदायसँग हातेमालो गर्दै अघि बढ्ने योजना बनायो । सोही योजना अनुसार देशभर समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागू गरिए ।
गत वर्षको कात्तिक ११ गते देशभर सुरु भएको कार्यक्रम आठ महिना बितिसकेको छ । यो अवधिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू गर्न ७५३ वटै स्थानीय तहसँग सहमति भएको छ भने त्रिभुवन विश्वविद्यालय, नेपाल रेडक्रस, नेपाल स्काउटसँग समेत संस्थागत समझदारीपत्रमा हस्ताक्षर भएर कार्यक्रम प्रभावकारी गर्ने अठोट हुनु आफैमा उपलव्धीका रुपम लिन सकिन्छ ।

सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, समुदायिक शिक्षा र जनचेतनाको दायित्व तथा सामुदायिक साझेदारीको माध्यमबाट समेत अपराध नियन्त्रण र रोकथाम गर्ने प्रहरीको मूलभूत दायित्व हो । यसबीचमा सामञ्जस्यता कायम गर्दै नेपाल प्रहरी र स्थानीय तहबीचमा समझदारी कायम गरी साझा संयन्त्रणको माध्यमबाट सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारी धारणा अवलम्बन गरिएको हो । गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंमा उद्घाटन गर्दै सुरुवात भएको यो अभियानले मूर्तरुप पाएको छ ।

समुदाय प्रहरी साझेदोरी अभियान कार्यान्वयन गर्न देशभर समितिहरु बनेका छन् । जिल्ला समिति, पालिका स्तरीय समिति, वडा स्तरीय समिति, टोल समिति, विद्यालय समितिहरु बनेका छन् । २१ हजार ७५० समिति बन्नुले महत्वपूर्ण उपलव्धी मान्न सकिन्छ । यी समितिहरु बनेनन् मात्र, यी समितिहरु चलायमान समेत बने । जसको फलस्वरुप साझेदारी केन्द्रित दुई हजार ३२२ अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका छन् ।

त्यस्तै, समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन प्रशिक्षक प्रशिक्षण अभिमुखीकरण कार्यक्रम, विषय केन्द्रीत अनुशिक्षण तालिम, अवधारणा केन्द्रीत प्रशिक्षण समेत सम्पन्न भएका छन् ।

यो कार्यक्रमअन्तर्गत विद्यालय केन्द्रीत कार्यक्रम थप प्रभावकारी बनेको छ । कतिपय सन्दर्भमा विद्यार्थीमाथि विद्यालयमा हुने अन्त्याचार हटाउन यो कार्यक्रम सहायकसिद्ध बनेको छ । सामुदायिक सुरक्षा कार्यक्रम पाठ्यक्रमका रुपमा विकास गरिएको छ । अभिभावकहरु लक्षित पाठ्यक्रम समेत बनेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट बालबालिकादेखि वृद्धवृद्धासम्म लक्षित कार्यक्रम भएको देखिएको छ । सडक सफा गर्नेदेखि अस्पतालको फोहोर उठाउने काम पनि यो अभियान अन्तर्गत भएका देखिएका छन् ।

प्रहरी र जनताबीचको दूरी घटाउन प्रहरीले गर्दै आएका कार्यक्रमबारे जनगुनासो सुन्न र सम्बोधन गर्न ४३० वटा त सार्वजनिक सुनुवाई कार्यक्रम समेत भएका छन् । यो कार्यक्रमले समुदाय र प्रहरीबीच विश्वसनीयता बढाएको छ । जनसहयोग अभिवृद्धि हुन पुगेको छ ।

अर्को महत्वपूर्ण कार्यक्रम भनेको प्रहरीसित एक दिन हो । सानै उमेरदेखि विद्यार्थीहरुलाई प्रहरीसँग परिचित गराउँदै नागरिक सुरक्षामा प्रहरी सेवाको महत्वको सम्वन्धमा अवगत गराउने अभियान हो यो । प्रहरीको अवलोकन गराउने तथा प्रहरी सेवाप्रति सकारात्मक धाराणाको विकास गर्न यो कार्यक्रम सफल भएको छ । प्रहरीसँग एक दिन ६३४ कार्यक्रम भएका छन् ।

प्रहरीले अभद्र व्यवहारविरुद्धको अभियान पनि सञ्चालन गर्यो । यो अभियानअन्तर्गत विद्यालय र क्याम्पसहरुमा नवप्रवेशी विद्यार्थीहरुलाई लक्षित गरी हुने अभद्र व्यवहार न्यूनीकरण गर्न सहयोग पुगेको छ । एक हजार ६३८ कार्यक्रम भएको यो अभियानले विद्यालय तथा क्याम्पसमा हुने झैझगडामा समेत कमी ल्याउन सहयोगी भूमिका निर्वाह गरेको छ ।

उपलव्धीका चाङ, विप्लवविरुद्ध कडा
प्रहरीले एकपछि अर्को उपलव्धी हासिल गरेकै छ । पछिल्लो समय सबैलाई त्रासमा राखेको विप्लव समूहविरुद्ध प्रहरीले विभिन्न कठोर कदम चाले, जसका कारण विप्लव समूह केही निस्तेज भने पक्कै भए ।

प्रहरीले विप्लव समूहका एक हजार ५१४ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा पोलिटव्यूरोदेखि केन्द्रीय सदस्यहरु पनि छन् । विप्लव समूहसँग स्वचालित हतियारहरु बरामद गरेका छन् । छ जना विप्लव कार्यकर्ता विष्फोटमा मारिएका छन् । त्यसो त प्रहरीले आफ्ना संरचनागत सुधारमा पनि उल्लेख्य उपलव्धी हासिल गरेका छन् । नीतिगत अस्पष्टतालाई स्पष्ट पारेको छ । प्रहरीलाई संघीय संरचनामा व्यवस्थित रुपमा परिचालन गर्ने बाटो खोलेको छ । मुलुकको बदलिँदो संरचनाअन्तर्गत आफूलाई समाहित गर्ने क्रममा प्रहरीसँग सम्वन्धित नीतिगत सवालमा एकरुपता ल्याउन प्रहरी सफल कहलिएका छन् ।

प्रहरीले गर्ने विशेष अनुसन्धानका लागि चार व्यूरो थिए । दुई व्यूरो थप्ने काम भएको छ । यसअघि आतंकवादसम्वन्धी हेर्ने विशेष व्यूरो, संगठित तथा अन्तर्देशीय अपराधसम्वन्धी हेर्ने केन्द्रीय अनुसन्धान व्यूरो, लागूऔषधसम्वन्धी हेर्ने लागूऔषध नियन्त्रण व्यूरो, महानगरीय क्षेत्रको अपराध हेर्ने महानगरीय अपराध महाशाखा थियो । पछिल्लो समय भयावह स्थिति रहेको साइबर अपराध हेर्ने साइबर अपराध व्यूरोको स्थापना भएको छ । त्यस्तै, मानव बेचविखनसम्वन्धी अपराध अनुसन्धान र नियन्त्रण गर्न मानव बेचविखन अनुसन्धान व्यूरोको स्थापना भएको छ । यो दुई व्यूरो थपिँदा साइबर अपराध र मानव बेचविखनसम्वन्धी अपराधको अनुसन्धान र नियन्त्रण थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सार्कमै प्रथम नेपाल प्रहरी
नेपाल प्रहरी अझै पनि स्रोत साधन र प्रविधियुक्त हुन सकेको छैन । प्रहरी कतिपय सन्दर्भमा आफ्नै मौलिकपनले परिचालित हुनुपर्ने स्थिति छ । एकजना प्रहरीमाथि ४३५ जना नागरिकको सुरक्षाको जिम्मेवारी बहन गर्नुपर्ने स्थिति छ । जबकि, संयुक्त राष्ट्रसंघले एकजना प्रहरी बराबर ३३३ जनाको मापदण्ड बनाएको छ ।

स्वीकृत भएको दरबन्दी पनि पाउन सकेको छैन । नेपाल प्रहरीमा ७५ हजार ९२७ स्वीकृत दरबन्दी हो । तर, अहिले ६४ हजार ३२३ कार्यरत छन् । पर्याप्त जनशक्ति, स्रोत साधनको अभावका बीचमा पनि प्रहरीले आफूलाई अब्बल सावित गर्दै आएको छ । रुल अफ ल इन्डेक्स २०१९ (वल्र्ड जस्टिस प्रोजेक्ट)का अनुसार नेपाल प्रहरी सार्क मुलुकहरुमा पहिलो स्थान हासिल गर्न सफल भएको छ भने विश्व सूचकमा ५९ स्थानमा छ । त्यसो त, ग्लोबल पीस इन्डेक्स २०१९ अनुसार नेपालले विगतको तुलनामा थप उचाई हासिल गरेको छ । विश्व सूचकांकमा नेपाल ७६औं स्थानमा छ । गत साल ८८ स्थानमा थियो ।

नेपाल प्रहरीले आफूलाई अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षाका सवालमा मात्र अब्बल सावित गरेको छैन । बेरुजु फस्र्यौटमा पनि सर्वोत्कृष्टता हासिल गरेको छ । आर्थिक वर्ष २०७४÷०७४ सम्म कायम कुल बेरुजुको ८५.१४ प्रतिशत फछ्र्यौट गरी पुरस्कृत हुनुले प्रहरीमा पारदर्शिता र व्यवस्थापकीय उत्कृष्ठता बढेको स्पष्ट देखिएको छ ।

के हो त सफलताका सूत्र ?
प्रहरीले यत्तिका सफलता हासिल कसरी हात पार्यो भन्ने सबैलाई लाग्नसक्छ । प्रहरी नेतृत्वमा सवेन्द्र खनाल आइसकेपछि उनले अबलम्बन गरेका केही उपाय सबैका लागि सफल बन्ने विशेष सूत्र बन्नसक्छ ।

स्वभावका हिसाबले आइजीपी खनाल स्पष्ट वक्ता हुन् । संगठन, देश र जनताको हितका विषयमा जसका सामु पनि हाक्की बोल्ने हिम्मत राख्छन् । हुँदै नहुने कुरामा उनी कसैको कुरा पनि सुन्दैनन् । हस्तक्षेप कसैको पनि स्वीकार्दैनन् ।
उनले आफ्नो बहालीसँगै रोडम्याप सार्वजनिक गरे । सोही रोडम्यापलाई फलो गर्दै अघि बढे । हिम्मतका साथ सबै शक्ति केन्द्रलाई सन्तुलित गर्दै अघि बढ्नाले उनीप्रतिको विश्वास संगठन र राजनेताहरुबाट प्राप्त भयो ।

हुन त उनीमाथि व्यापक राजनीतिक हस्तक्षेप भएको र केही गर्न नसकेको आरोप पनि जवर्जस्ती लगाइए । सरसर्ती हेर्ने हो भने अहिलेसम्मकै आइजीपीमा उनले मात्र राजनीतिक हस्तक्षेपको शिकार हुनु परेन । हरेक निर्णयमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिवको परामर्शमा उनी नै हावी भए । जसका कारण आफ्नो संगठनको हितमा उनले अतुलनीय काम गर्ने मौका पाए ।

विगतमा जस्तो एउटा मोटर किन्नका लागि पनि गृहमन्त्री र अन्य शक्ति केन्द्रमा भेटी बुझाउनुपर्ने बाध्यता यिनले व्यहार्नु परेन । प्रहरीको भौतिक संरचना निर्माणमा होस् वा सवारी साधन खरिदमा निर्वाध अघि बढ्ने अवसर प्राप्त गरे ।
हुन त धेरै काम गरे पनि निर्मला पन्त हत्या प्रकरणले केही नगरे जस्तो पनि बनाइदियो । प्रहरीको अनुसन्धानले भन्दा पनि सडकबाट अपराधी करार गर्ने प्रवृत्तिले प्रहरी यो घटनामा केही चुके जस्तो पक्कै देखिएको छ । तर, नेपाल प्रहरी अनुसन्धानमा अब्बल सावित छ । यसको सम्पूर्ण प्रमाणका साथमा आफ्नो करिब सात महिने कार्यकालमा निर्मला हत्या प्रकरणलाई टुंगोमा पुर्याएर सबैलाई चक्मा दिने अपेक्षा गर्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!