एटा संवाददाता
लन्डन । तमुधिं यूकेले बेलायत भ्रमणमा रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् प्रा. डा. जगमान गुरुङको स्वागत तथा सम्मान गरेको छ ।
गत शुक्रबार ९ अगस्ट साँझ मिचेटस्थित तमुधिं यूके भवनमा उनलाई तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङ लगायतले खादा लगाई स्वागत तथा सम्मान गरेका हुन् । उनी अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत च्याप्टरको निमन्त्रणामा गतहप्ता बेलायत आएका हुन् ।
त्यस्तै, उनलाई गत बिहीबार दिउँसो तमु फोरम यूकेले अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरेको थियो ।
तमुधिं यूकेका कार्यसमिति, पूर्वअध्यक्षहरु, आमा समूह, सल्लाहकार र आजीवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा तमुधिं यूकेका सल्लाहकार एकेन्द्र गुरुङले प्रा.डा. गुरुङको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा प्रा.डा.गुरुङले तमुधिं यूकेले आयोजना गर्दै आएको नेपाली मेला, गोर्खा कप लगायतका कार्यक्रमको प्रशंसा गर्दै आफूले अझै सिकेको अनुभव बाँड्ने बताए ।
तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव तुलाराम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






