एटा संवाददाता
लन्डन । नेपालका चर्चित कमिडियन जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देको आमा) ले अल्डरसटस्थित एम्पायर हलमा हँसाउनु हँसाए । त्यस्तै, युवाहरुको ढुकढुकी गायिका आस्था राउतले विभिन्न चर्चित गीतहरु प्रस्तुत् गर्दै दर्शकहरुलाई छमछम नचाइन् ।

जी. एच (गोर्खा हिल) इन्टरटेन्टमेन यूकेको आयोजनामा गत शुक्रबार ९ अगस्ट साँझ आयोजित हाँस्य संगालोमा उनीहरुले आ–आफ्नो कला प्रस्तुत् गर्दै दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाए । जितु नेपाल विगत दुई दशकयता नेपाली
हाँस्यजगत्मा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् । त्यस्तै, उमेश राई छोटो समयमै दर्शकहरुको मन जित्न सफल युवा हाँस्य कलाकार हुन् भने आस्था राउत लोकप्रिय गायिकाका साथै भ्वाईस अफ नेपालका निर्णायक पनि हुन् ।
जितु नेपाल र उमेश राई पछिल्लो समय अत्यन्त लोकप्रिय बनेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ का खम्बा हुन् । यिनै हाँस्य जोडीको विशेष प्रस्तुतिले दर्शकहरुलाई नन्स्टप हँसाउन सफल भए ।
विभिन्न उमेर समूहका नेपाली दर्शकहरुको उपस्थिति रहेको कार्यक्रममा सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, सपन इन्टरटेन्टमेनका निर्देशक सपन राई, एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर र गोर्खा भिल्लाका निर्देशक आनन्द देवानलाई अतिथिको रुपमा स्टेजमा आमन्त्रण गरी ‘मुन्द्रेको कमेडी क्लब’ कै शैलीमा कार्यक्रम सञ्चालन गरेका थिए ।






