एनआरएनए यूके अध्यक्षमा पुनम र शेरको प्रतिस्पर्धा, ७४ पदमा ११७ को उम्मेदवारी दर्ता, केही निर्विरोध

SHARE:

एटा संवाददाता
लन्डन । एनआरएनए यूकेको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष पुनम गुरुङ र शेर सुनारले मनोनयन दर्ता गराएका छन् ।

उनीहरुले गत आइतबार १८ अगस्टका दिन आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । एनआरएन यूकेको २०१७ मा संशोधिन विधानअनुरुप राष्ट्रिय समन्वय समितिका लागि २७, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका ७ र ४ वटा राज्यसमिति (वेल्स, उत्तरी आयरल्यान्ड, इंग्ल्यान्ड, स्कटल्यान्ड) का १०/१० गरी पहिलो पटक ७४ स्थानका लागि निर्वाचन हुन लागेको हो । ७४ स्थानमा १ सय १७ ले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच, वेल्स र उत्तरी आयरल्यान्ड राज्यसमितिका सबै पद निर्विरोध भएका छन् भने स्कटल्यान्ड तथा इंग्ल्यान्ड राज्यसमिति र राष्ट्रिय समन्वय समितिका सबै पदमा निर्वाचन हुने भएको छ । तर, निर्वाचन मण्डलका अनुसार मंगलबार २० अगस्टभित्र उम्मेदवारी फिर्ता लिनसक्ने जनाइएकोले पनि अझै केही पदमा निर्विरोध हुन सक्ने संभावना छ ।
राष्ट्रिय समन्वय समितिको २ स्थान रहेको उपाध्यक्ष पदमा प्रेमबहादुर गाहा मगर, पशुपति पोखरेल, कमल पौडेल, सुनिलबाबू खड्का र धनबहादुर सार्कीको उम्मेदवारी परेको छ । त्यस्तै १ महिला उपाध्यक्षमा रोजिना प्रधान राई र विमला लिम्बूले उम्मेदवारी दिएकी छन् । राष्ट्रिय समन्वय समितिको उपाध्यक्षका लागि उत्तरी आयरल्यान्ड राज्यसमितिको तर्फबाट नारायण कँडेल, वेल्स राज्यसमितिको तर्फबाट रामचन्द्र पोखरेल निर्विरोध भएका छन् भने स्कटल्यान्ड राज्यसमितिबाट यघमूर्ति ढकाल र मोहनकुमार कार्कीले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय समन्वय समितिको १ महासचिवमा फडिन्द्र भट्टराई र कमानसिंह कर्मा पहाडी शेर्पाको उम्मेदवारी परेको छ भने २ सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल, जित रानाभाट, विष्णु खरेल, भोलाविक्रम राई र भाग्यनारायण रायले उम्मेदवारी दिएका छन् । त्यस्तै, १ महिला सचिव पदका लागि रञ्जिता मल्ल र लिला हाङ्मा सेलिङ्ग माबोले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय समन्वय समितिको १ कोषाध्यक्षमा तिलकराम भट्टराई र तेजेन्द्र रोकामगर, सहकोषाध्यक्षमा विष्णु चालिसे र सकुन्तला गुरुङ, महिला संयोजकमा प्रसुना कँडेल र क्षमता ढकाल, युवा संयोजकमा हेम गुरुङ, तीर्थबहादुर (अनिल) मल्ल र नविन गुरुङको उम्मेदवारी परेको छ । १२ सदस्य पदमा २१ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, ७ आईसीसी सदस्यको लागि वर्तमान अध्यक्ष योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने, राजन खकुराल, अर्कराज तिम्सिना, अर्जुन कटुवाल, सुरोज मास्के, होमनाथ पौडेल, कृष्ण तिवारी, रमेश शर्मा बाँस्तोला, मनिष खड्का, शालिक सापकोटा, सुशीला राई र लिलादेवी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । इंग्ल्यान्ड राज्य समिति अध्यक्षमा दिपक श्रेष्ठ र भीम सारु मगर, स्कटल्यान्ड राज्य समिति अध्यक्षमा छविलाल अर्याल र काशिराम भण्डारीको उम्मेदवारी परेको छ भने उत्तरी आयरल्यान्ड राज्य समिति अध्यक्ष नारायणबहादुर कुँवर र वेल्स राज्य समिति अध्यक्ष कृष्णप्रसाद भण्डारीको नेतृत्व भने निर्विरोध भइसकेको छ ।

वर्तमान कार्यसमितिले नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको मिति तय गरेलगत्तै नेपाली समुदाय बेलायत निर्वाचनमय भएको हो । विशेषगरी यसअघि ५ जना वर्तमान उपाध्यक्षहरु प्रेम गाहामगर, पुनम गुरुङ, शेरबहादुर सुनार, सुशीला राई र ललित न्यौपानेले कार्यक्रम नै आयोजना गरेर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको भए तापनि गत मंगलबार १३ अगस्टका दिन अल्डरसटमा प्रेम गाहामगर, सुशीला राई र ललित न्यौपानेले उम्मेदवारी नदिने भन्दै सुनारलाई समर्थन गर्ने जानकारी गराएका थिए । सोहीअनुरुप अध्यक्ष पदमा सुनार र गुरुङको उम्मेदवारी परेको छ भने प्रेम गाहामगरले पुनः उपाध्यक्षमा, सुशीला राई र ललित न्यौपानेले आईसीसी सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच आइतबार साँझ एनआरएनए यूकेको निर्वाचन कार्यालयमा निर्वाचन मण्डलद्वारा आयोजित कार्यक्रममा प्रमुख आयुक्त मेजर (रि.) डमर घले, सहप्रमुख आयुक्त शिवजी श्रेष्ठ, सचिव नरेश खपाङ्गी लगायतले निर्वाचन स्वच्छ, स्वतन्त्र र सफल हुने विश्वास व्यक्त गरे । उनीहरुले उम्मेदवार तथा सहभागीहरुले उठाएका जिज्ञासा मेट्ने प्रयास गर्दै कतिपय प्रश्नहरु साधारणसभाले संबोधन गर्नसक्ने भएकोले त्यसबेला उठाउन अनुरोध गरे । त्यस्तै, निर्वाचन मण्डलले विभिन्न पदका ५ जना उम्मेदवारविरुद्ध दावीबिरोध आएको र सो सम्बन्धमा छिट्टै बैठक बसी सार्वजनिक गरिने बताएको छ ।
एनआरएनए यूकेको इतिहासमा पहिलोपटक करिब १४ हजार सदस्यले आप्mनो नेतृत्व चयन गर्दैछन् । निर्वाचनलाई सहज बनाउन विभिन्न सहरमा मतदान केन्द्रको समेत व्यवस्था गरिएको छ ।

पुनम गुरुङः

एनआरएनए यूकेको वर्तमान उपाध्यक्ष हुन् पुनम गुरुङ । उनी सातौं कार्यसमितिको निर्वाचनमा सबभन्दा बढी मत ल्याई बिजयी भएकी थिइन् । समाजसेवामा समर्पित गुरुङ तमुधिं यूके आमा समूहकी पूर्वअध्यक्ष हुन् भने घोताने परिवार यूकेको संस्थापक आमा प्रमुख पनि ।

त्यस्तै, उनले विगत ६ वर्षदेखि रेस फर लाइफको संयोजकको भूमिका निभाउँदै क्यान्सर रिसर्चमा सहयोग गर्दै आएकी छन् । र, वर्तमान कार्यसमिति उपाध्यक्षमा रहेर काउन्सिल बैठकको संयोजन गरिसकिन् भने निर्मला पन्तको बलात्कार हत्या प्रकरण तथा महिला अधिकारबारे समेत आवाज उठाउँदै आएकी छन् । उनी प्रपर्टी तथा रेस्टुरेन्ट व्यवसायमा आबद्ध छिन् ।

शेरबहादुर सुनारः
भूतपूर्व गोर्खा सैनिक शेरबहादुर सुनार नेपाली समुदायमा लोकप्रिय समाजसेवी हुन् । उनी एनआरएनए यूकेको वर्तमान उपाध्यक्ष पनि हुन् । रेस्टुरेन्ट व्यवसायीको रुपमा परिचित सुनार एनआरएनएको स्थापनाकालदेखि नै एनआरएनएसँग सम्बन्धित विभिन्न काममा आबद्ध हुँदै आएका छन् ।

सिर्जनशील नेपाली समाज यूकेका संस्थापक अध्यक्ष रहेका सुनार विभिन्न नेपाली संघसस्थाको संस्थापक, सल्लाहकार र आजीवन सदस्यसमेत छन् । उनले एनआरएनए यूकेको सदस्यता वितरण अभियानको संयोजकमा रहेर महत्वपूर्ण भूमिका खेलेका छन् । उनले एनआरएनए यूकेद्वारा नेपालमा लगानी अवसरबारे आयोजित कार्यक्रमको संयोजन गरेका थिए ।

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन मण्डलले प्रकाशित गरेको उम्मेदवारहरुको नामावली

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!